मेडिकल विद्यार्थीको परीक्षा शुल्कमा २ सय प्रतिशतसम्म वृद्धि, ऐनविपरित भन्दै विद्यार्थी संगठन आन्दोलित – Nepal Press

मेडिकल विद्यार्थीको परीक्षा शुल्कमा २ सय प्रतिशतसम्म वृद्धि, ऐनविपरित भन्दै विद्यार्थी संगठन आन्दोलित

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले विभिन्न विधाका नियमित तथा पूरक विद्यार्थीको परीक्षा शुल्कमा दुई सय प्रतिशत भन्दा बढी वृद्धि गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

आइओएमले नियमिततर्फ स्नातक तहको शुल्क २५ सयबाट ९ हजार रुपैयाँ बढाएको छ भने स्नातकोत्तरतर्फ (एमडी) चिकित्सा विज्ञानको एक लाखबाट एक लाख ५० हजार र नर्सिङ तथा प्यारामेडिक्सको एक लाख रुपैयाँ बनाइएको छ ।

विद्यार्थीले तिर्नै नसक्नेगरि परीक्षा शुल्क वृद्धि भएपछि नेशनल मेडिकल स्टुडेन्ट एशोसियसनले ऐन, नियम र सम्झौताविपरित वृद्धि गरिएको शुल्क फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

एशोसियसन अन्तर्गत विभिन्न १५ वटा संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्नातक तहको परीक्षा फर्म भर्ने मिति कात्तिक १४ गतेबाट विस्तार गर्न तथा ऐन विपरितको परीक्षा शुल्कको प्राबधान तथा शुल्क बृद्धिको स्पष्टीकरण पेश गर्न चेतावनी दिएका छन् ।

एशोसियनका अध्यक्ष डा.मिलन गैरे, नर्सिङ इन्चार्ज ऋचा घिमिरेसहितले जारी गरेको विज्ञप्तिमा भनिएको छ– डिन कार्यालयले चिकित्सा शिक्षा आयोगको अधिकार आफ्नै हातमा लिएर आफैं शुल्क वृद्धि गरी विद्यार्थीलाई दुःख दिएको छ । ऐनले शिक्षण शुल्कलाई परीक्षा शुल्कसहितको अन्य विविध शुल्क भनेर परिभाषित गरेको भए पनि शैक्षिक शुल्कसहित अतिरिक्त परीक्षा शुल्कको औचित्यमाथि प्रश्न खडा भएको छ ।

विद्यार्थी संगठनहरुले शैक्षिक शुल्कभित्रै परीक्षा शुल्क पनि पर्ने भएकाले परीक्षा शुल्क भनेर विद्यार्थीबाट थप पैसा असुल्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार नै अनेरास्ववियु केन्द्रीय सदस्य तथा महाराजगन्ज नर्सिङ क्याम्पसकी अध्यक्ष ऋचा घिमिरे र महाराजगन्ज मेडिकल कलेजका अध्यक्ष विनय पंज्ञानीले पनि विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

आइओएमले कात्तिक ७ गते सबै मेडिकल कलेजहरुलाई पत्राचार गर्दै परीक्षा शुल्क निर्धारण गरेको जनाएको थियो । जसमा एमडी, एमडीएस, डिएम र एमसीएचका विद्यार्थीले परीक्षा शुल्कबापत १ लाख ५० हजार बुझाउनुपर्ने भनिएको छ ।

सोही विधाको अतिरिक्त परीक्षाका लागि १ लाख १५ हजार रुपैया तोकिएको छ भने एमएस्सी नर्सिङ लगायत सो विधानका विद्यार्थीलाई १ लाख रुपैया परीक्षा शुल्क तोकिएको छ । अतिरिक्त परीक्षाका लागि ७५ हजार रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *