‘एक मुठ्ठी बादल’ भारतीय फिल्म बजारमा छानियो : एनएफडीसीले निर्माणमा सह-लगानी गर्ने – Nepal Press

‘एक मुठ्ठी बादल’ भारतीय फिल्म बजारमा छानियो : एनएफडीसीले निर्माणमा सह-लगानी गर्ने

काठमाडौं । गौंथली इन्टरटेन्मेन्टद्वारा निर्मित नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ भारतको एनएफडीसी फिल्म बजारको ‘को-प्रोडक्सन’ (सह-निर्माण)का लागि छानिएको छ । नोभेम्बर २० देखि २५ तारिखसम्म भारतमा फिल्म बजार संचालन हुँदैछ ।

भारतको संचार एवं सूचना मंन्त्रालय अन्तर्गत नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी)ले बिहिबार सार्वजनिक गरेको सूचीमा सहारा शर्मा निर्देशित यो फिल्म समावेश भएको छ । फिल्मको निर्माता अभिमन्यु दीक्षित र ऋचा शर्मा छन् ।

एनएफडीसीले सार्वजनिक गरेको सूचिमा ११ देशबाट १५ वटा भाषामा बनिने २० फिल्म छानिएका छन् । यो चलचित्र बजार दक्षिण एसियाकै सबैभन्दा ठूलो फिल्म बजार हो । छानिएका फिल्मले युरोपमा रहेका विभिन्न मार्केट, कोष, र प्रदर्शनको लागि अवसर पाउने छन् ।

विश्वव्यापी कोरोनाभाइरस महामारीले नेपाली फिल्मलाई अनिश्चितता र अस्तव्यस्थतामा छोडेको यो परिस्थितीमा नेपाली स्वादको फिल्मको लगानी, बजार र प्रदर्शनी विदेशमा खोज्न हाम्रो पहल भएको निर्माता दीक्षित बताउँछन् ।

यसअघि गौँथली ईन्टरटेन्मेन्टद्वारा निर्मित फिल्म ‘बर्दिया सुन्दरी’ यही बजारमा छानिएको थियो । ‘बर्दिया सुन्दरी फिल्मको सुटिङ सकाएर फिल्म बजारमा लगेका थियौँ । बनिसकेको फिल्मभन्दा लेखनकै चरणमा बजारमा जाँदा फिल्मलाई थप लाभदायी हुने देखिएकोले यसपाली भने हामीले प्री प्रोडक्सनकै बेलामा हामी छनौट हुन सफल भयौँ’ उनले भने ।

लेखन तथा निर्माणमा निर्देशक र निर्माताको भौतिक भेटबिनै यो फिल्म पुरा भएको र सबै काम अनलाइनबाट गरिएको निर्माता दीक्षितले अनुभव सुनाए ।

यो फिल्ममा आमा र छोरी बीचको सम्बन्ध केलाउन खोजिएको छ । फिल्मबारे निर्देशक शर्माले भनिन्, ‘एकरातमा सकिने यो कथामा मैले पितृसत्तात्मक समाजमा आमाहरूको पहिचान दानका देवी र त्यागको पराकाष्टामा मात्रैसीमित रहेकाले मैले मेरो फिल्मबाट आमा र छोरीहरूलाई कुनैपनि परिधि भित्र नराखी मानवता दिन प्रयास गरेकी छु’ उनले भनिन् । पूर्व पत्रकार समेत रहेकी सहारासँग छोटा फिल्म निर्माणको अनुभव पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर