बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नेबारे ‘बागी न्यायाधीशहरु’बीच छलफल, बाँकी निर्णय आइतबार हुने – Nepal Press

बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नेबारे ‘बागी न्यायाधीशहरु’बीच छलफल, बाँकी निर्णय आइतबार हुने

काठमाडौं । सडकबाट प्रधानन्यायाधीशलाई हटाउने मिसनलाई साथ दिँदै गुटबन्दीमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नेबारे छलफल भएको छ ।

शुक्रबार भएको छलफलमा बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत सुनुवाइ नहुँदा न्यायाधीशप्रति सर्वसाधारण आक्रोशित भएकाले ती मुद्दा हेर्न इजलासमा बस्नेबारे छलफलमात्र भएको एक न्यायाधीशले बताए ।

अबको रणनीतिका बारेमा भने सपना प्रधान मल्ल र अनिल सिन्हासमेत काठमाडौं आइसकेपछि सबै न्यायाधीश बसेर निर्णय लिइने भएको छ । उनीहरू आइतबारसम्म आउँनेछन् ।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै बेग्लै बैठक गरिरहेका छन् । सिनियर न्यायाधीश एकजुट भएपछि कतिपय जुनियर न्यायाधीशसमेत बाध्यताबस बहिष्कार अभियानमा सामेल भएका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठनिकट वरिष्ठतम न्यायाधीशहरूले प्रधानन्यायाधीश राणालाई बाध्यात्मक बहिर्गमन गराउन सडक र सत्ता गठबन्धनको सहायता लिएका छन् । तर, सत्ता गठबन्धनले महाअभियोग लगाउन नसक्ने संकेत दिएपछि उनीहरू अब के गर्ने भन्ने विकल्पमा छलफल गरिरहेका छन् ।

प्रधानन्यायाधीशले केही व्यक्तिले सडकबाट राजीनामा माग्दैमा नदिने र महाअभियोग आए फेस गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर