प्रचण्डलाई लागिसक्यो चुनाव, थेग्लान् तेहेरो आक्रमण ?
काठमाडौं । अर्ली इलेक्सन (जसको सम्भावना न्यून छ) नभए आम निर्वाचन आउन अझै एक वर्ष बाँकी छ । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रचारको शैलीमा पाँच दिनदेखि चितवनमा व्यस्त छन् ।
मंगलबार भतरपुर विमानस्थलमा ओर्लने वित्तिकै प्रचण्डले चुनाव लक्षित अभिव्यक्ति दिएका थिए । ‘अन्तिम पटक’ चितवनबाटै चुनाव लड्ने र आफू अन्त कतै नजाने अभिव्यक्ति दिएर लगत्तै उनले आफ्नो निर्वाचन क्षेत्र चितवन–३ मा गतिविधि आक्रामक बनाए ।
चितवन पुगेको भोलिपल्ट बुधबार बिहान उनले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रका शहीद परिवारको घरदैलोमै गएर भेटघाट गरे । आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने माडी नगरपालिकामा सत्तारुढ गठबन्धनका स्थानीय नेताहरुसँग छलफल गरे ।
बिहीबार पनि उनी व्यस्त रहे । माडीको प्रमुख पर्यटकीय स्थल सोमेश्वरगढीमा ‘मर्निङ वाक’ गरेका प्रचण्डले दिउँसो माडीकै बाँदरझुलामा आयोजित नागरिकता वितरण सहजीकरणमा सहभागी भएर नागरिकता वितरण गरे ।
शुक्रबार भने उनले भरतपुरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखे । त्यहाँ उनले आफ्ना कार्यकर्तालाई उत्साहित पार्ने कोसिस गरे ।
संसदीय राजनीतिको सिको
२०६३ मा सशस्त्र विद्रोह बिसाएका प्रचण्डलाई संसदीय राजनीतिका परिपाटी सिक्न भने तीनवटा निर्वाचनबाट गुज्रिनुपर्यो । आफ्नो एउटा निश्चित चुनावी क्षेत्र बनाउने र त्यसमै ध्यान केन्द्रित गर्ने परिपाटी संसदीय राजनीतिको विशेषता हो । माओवादीभन्दा पुराना पार्टीमा आवद्ध नेताहरुले आफ्नो निश्चित निर्वाचन क्षेत्र बनाएका छन् । त्यहाँ चुनाव हार्न नपरोस् भनेर लागिपरेका हुन्छन् । स्थानीयसँग सम्बन्ध गाँस्ने र विकासे आयोजना पुर्याउन प्रयत्न गर्छन् ।
तीनवटा चुनाव लड्ने बेलासम्म प्रचण्डको केन्द्रिकृत निर्वाचन क्षेत्र थिएन । २०६४ को पहिलो संविधानसभा चुनाव उनले रोल्पा र काठमाडौंबाट लडेका थिए । दुवै ठाउँमा जितेका प्रचण्डले काठमाडौं राजे ।
२०७० को दोस्रो संविधानसभा चुनावमा भने प्रचण्ड तराई झरे । काठमाडौं १० का मतदाताले उनलाई पत्याएनन् भने सिराहाबाट मुस्किलले जिते ।
२०७४ मा भने एमालेसँग गठबन्धन गरेका कारण चितवनमा उनलाई चुनाव जित्न ‘कम्फरटेबल’ नै भयो । झण्डै १० हजारको मतान्तरमा उनले चितवन–३ बाट चुनाव जिते ।
चुनावमा खानु परेको हण्डर–ठक्कर र नेकपामा तीन वर्षसम्म एमाले नेताहरुसँगको संगतपछि निश्चित निर्वाचन क्षेत्र चाहिने निष्कर्षमा प्रचण्ड पुगेको देखिन्छ ।
नेकपा छँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर र अधिकतम बजेट छुट्याउन जोड दिने गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले आफ्नो क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै आलोचना समेत भएको थियो ।
एमालेसँगको एकतामा प्रचण्डलाई भएको कुनै फाइदा छ भने त्यही संसदीय राजनीति सिक्नु नै हो । एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै अस्तित्वमा आएपछि प्रचण्डले आफ्नो पार्टीमा धेरै कुराको सिको एमालेबाट गरेका छन् । वडादेखि केन्द्रसम्म सम्मेलन गरेर कमिटी बनाउने, केन्द्रमा विभागहरु बनाउने र बहुपदीय प्रणाली अबलम्बन गर्ने कुराहरु एमालेका जस्तै–जस्तै छन् ।
चितवनमा ‘निकुञ्जभित्रको बाटोमा ग्राबेल दबाएर सहज पार्ने काम भएको छ । आकाशे वा भूमिगत पुल बनाउने सपना त अझै पूरा भएको छैन, अब पीच गर्ने छलफल चलिरहेको छ’ भनेर प्रचण्डले गरेको विकास केन्द्रित भाषण कुनै विद्रोही नेताबाट नभइ संसदीय नेताका मुखबाट निस्कने खालको थियो ।
तेहेरो आक्रमण
प्रचण्ड अहिल्यैदेखि तेहेरो ‘आक्रमण’ मा पर्न थालेका छन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवनबाट प्रचण्ड र रेणु दाहाललाई लखेट्नुपर्छ भनेर दिएको अभिव्यक्तिले प्रचण्डलाई झस्काएको हुनुपर्छ ।
शुक्रबार प्रचण्डले कांग्रेसका कार्यकर्ताप्रति दुखेसो पनि पोखे । ‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं,’ प्रचण्डले भने, ‘मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरू खुसी भएका होलान् । उनीहरूले प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो ।’
कांग्रेसले २०७४ को स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गर्दा भरतपुर महानगर छाडेको थियो, जहाँ प्रचण्डकी छोरी रणु दाहाल विजयी भएकी थिइन् । त्यस्तै प्रतिनिधिसभाको चुनावमा प्रचण्ड उठेको क्षेत्रमा राप्रपाका विक्रम पाण्डेलाई सुम्पिएको छ ।
कांग्रेस सभापतिको टिप्पणी कांग्रेसका कार्यकर्ताहरुको मनोविज्ञानको प्रतिविम्ब पनि हो । अरुलाई छोड्दै जाने केन्द्रीय नेतृत्वप्रतिको आक्रोस पनि हो । कांग्रेसको यस्तो मनोविज्ञान प्रचण्डका लागि टाउको दुखाइको विषय हो ।
बुटवलमा गर्ने भनिएको १० औं महाधिवेशन एमालेले अन्तिम समयमा आएर चितवनमा गर्ने गरी गरेको निर्णयले प्रचण्डलाई झन चिन्तित पारेको हुन सक्छ । प्रचण्डले एमालेको निर्णय आफूलक्षित हो भन्ने बुझेका छन् ।
यही कारणले हुन सक्छ उनी चुनाव आउनु एक वर्षअघि नै आफ्नो निर्वाचन क्षेत्रमा गएर चार–चार दिन बसे । एमालेका नेताहरुले पनि लुकाएका छैनन् कि बुटवल गर्ने भनिएको महाधिवेशन चितवनमा सार्नु प्रचण्ड लक्षित हो भनेर ।
एमालेको चुनावी मुख्य प्रतिष्पर्धा कांग्रेससँग भए पनि टक्कर भने प्रचण्डसँगको जस्तो देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने हरेक भाषणमा प्रचण्डको आलोचना गरेकै हुन्छन् भने प्रचण्डले पनि ओलीको आलोचना गरेका हुन्छन् ।
ओली बालुवाटार छाडेर बालकोट पुग्नुमा प्रचण्डको हात छ । यसैले पनि स्वभाविक रुपमा ओलीले प्रचण्डलाई निसानामा पारेका छन् ।
अर्कोतिर चुनावमा पराजित गर्न सके केन्द्रीय राजनीतिमा प्रचण्डको प्रभाव घट्ने र यसले माओवादीमा निराशा आउने । अनि, प्रचण्ड बाहेकका माओवादी कार्यकर्ता एमालेतिर तान्न सकिने बुझाइ ओलीको रहेको पाइन्छ ।
यो कुराको पुष्टि हालै सम्पन्न एमाले विधान महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा माओवादी पार्टीप्रति नरम र प्रचण्डप्रति ओली गरम देखिएको कुराले पनि गर्छ । प्रचण्डले पनि आफूमाथि प्रहार गरेर माओवादी कमजोर बनाउन खोजिएको टिप्पणी गर्ने गरेका छन् ।
अन्य ठाउँमा ९ गते गरे पनि भरतपुर महानगर कमिटीको चुनाव १५ गते गर्नु र ओली त्यसकै लागि जानुले पनि एमालेले चितवनलाई कति महत्व दिएको छ भन्ने प्रष्टै बुझिन्छ । एमालेले प्रचण्डविरुद्ध उनकै पूर्व सहकर्मी रामबहादुर थापा ‘बादल’लाई लडाउने चर्चा छ । बादलले पनि पार्टीले उठाए आफू प्रचण्डविरुद्ध लड्न तयार भएको बताएका थिए ।
प्रचण्डका चुनौती कांग्रेस र एमाले मात्रै होइनन्, राप्रपा पनि हो । केन्द्रमा कमजोर राप्रपा पनि त्यहाँ बलियो मानिन्छ । कांग्रेसको साथ पाएका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएको कुराले पनि त्यहाँ राप्रपा पनि अर्को शक्ति हो भन्ने बुझ्न सकिन्छ । त्यसैले प्रचण्डमाथि चुनावमा त्रिपक्षीय प्रहार हुनेछ ।
आसन्न भिडन्ततर्फ संकेत गर्दै प्रचण्डले यसलाई कुरुक्षेत्रको लडाइँसँग दाँजेका छन् । ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन,’ प्रचण्डको भनाइ छ, ‘यहाँ ठूलो लडाइँ हुँदैछ । महाभारत हुँदैछ । यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नुछ ।’
कति छ प्रचण्डको शक्ति ?
प्रचण्ड २०७४ को चुनावमा एमालेसँग गठबन्धन गरेर चुनाव लडे । उनको क्षेत्रमा एमालेले सघायो । त्यसैले त्यहाँ माओवादीको खास शक्ति कति हो भनेर आँकलन गर्न अलि कठिन नै छ । तैपनि अघिल्लो चुनावको नतिजाबाट केही हिसावकिताव भने अवश्य निकाल्न सकिन्छ ।
२०७४ को चुनावमा प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याएर जितेका थिए । राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएका थिए । यो १० हजारको मतान्तर हो । तर, यहाँ माओवादीको उतिबेलाको खास शक्ति उसले समानुपातिकमा ल्याएको मतबाट थाहा लाग्छ । प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिकमा एमालेले २०७४ को चुनावमा ९३ हजार ५२४ मत पाएको थियो भने कांग्रेसले ८१ हजार १०४ र माओवादीले ४२ हजार ८२१ मत पाएको थियो । यो चितवन जिल्लाको समग्र मत हो ।
प्रचण्डले एक्लै लडेर जित्न त्यो क्षेत्रमा थप २४ हजार भन्दा बढी मत बढाउनुपर्छ । झट्ट हेर्दा प्रचण्डका लागि चुनाव जित्न असम्भव जस्तै देखिन्छ । तर, केही कुरा छन् जसले उनको मत बढाउने छ । त्यसमा केही प्रचण्डले लिने रणनीति र त्यहाँको मनोविज्ञानको हिस्सा छ ।
पहिलो: चितवनमै पुगेर प्रचण्डले आगामी निर्वाचनमा कसरी उनी होमिन्छन् भन्ने कुराको केही संकेत गरेका छन् । उनी गठबन्धनबिना चुनाव लड्ने छैनन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बन्ने र एमाले धेरै बलियो भएको ठाउँमा कांग्रेससँग पनि मिल्ने प्रचण्डले बताएका छन् । गठबन्धनले नै सघाउँदा उनको मत बढ्ने देखिन्छ ।
दोस्रो: भरतपुर महानगरमा छोरी मेयर हुनु पनि प्रचण्डका लागि अनुकुलता हो । प्रचण्डले चार वर्षमा चितवन र आफ्नो चुनाव लक्षित धेरै आयोजना लगेको र छोरीले पनि मेयरका रुपमा बुबालाई चुनावमा ‘कम्फर्टेलबल’ हुने गरी काम गरेकाले उनको पक्षमा केही मत बढ्न सक्छ ।
तेस्रो: प्रचण्ड जतिको ‘नेसनल फिगर’ चितवनमा छैनन् । राष्ट्रिय राजनीतिमा पनि हस्तक्षेप गर्न सक्ने र विकासका काममा पनि प्रभाव पार्न सक्ने भएकाले ‘प्रतिवद्ध एमाले र प्रतिवद्ध कांग्रेस’ बाहेकका मतदाता पनि उनीप्रति सकारात्मक हुनसक्छन् । यसअघि एमाले र कांग्रेसलाई मतदान गर्ने ‘लिवरल मतदाता’ प्रचण्डतिर आकर्षित हुनेछन् ।
चौथो: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्डले प्रधानमन्त्री बनाएर गुन लगाएका छन् । प्रचण्डको त्यो ऋण तिर्न देउवाले चितवन–३ बाट कांग्रेस उम्मेदवार नउठाएर सहयोग गर्न सक्छन् । चितवनका कांग्रेस कार्यकर्ताको थेग्नै नसक्ने दवाव आएको खण्डमा कमजोर पात्र मात्रै उठाउन सक्छन् । यसले प्रचण्डलाई अलि सहज हुनेछ । आसन्न कांग्रेस महाधिवेशनबाट देउवा पुनः सभापति बन्न सकेनन् भने अवस्था प्रचण्डका लागि फरक र प्रतिकुल पनि हुनसक्छ ।
जेहोस् चितवन र विशेष गरी प्रचण्डको क्षेत्र आगामी आम चुनावमा चासोको विषय बन्ने छ । ‘कुरु क्षेत्रको लडाइँ’मा कसले बाजी मार्छ त्यो हेर्न भने चुनाव नै पर्खिनुपर्छ ।