अदालतको समस्या अदालतमै समाधान होस्: रामचन्द्र पौडेल – Nepal Press

अदालतको समस्या अदालतमै समाधान होस्: रामचन्द्र पौडेल

जनकपुरधाम । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा देखिएको समस्यामा पार्टीको हस्तक्षेप नहोस् भन्ने चाहना रहेको बताएका छन् । आइतबार साँझ जनकपुरधाम आइपुगेका उनले अदालतको समस्या अदालतमै समाधान हुनुपर्ने बताए ।

नेता पौडेलले भने, ‘नेपालमा राजनीतिक क्षेत्र असहज हुँदा अदालतले समाधान दिन्थ्यो । तर अदालतमै असहज परिस्थिति सृजना भएको छ । अदालतको समस्या अदालतमै समाधान होस् । राजनीतिक हस्तक्षेप नहोस् भन्ने चाहना छ ।’

अदालत ठप्प बनेका कारण पार्टीमा संसदमा वा बाहिर अब छलफल गर्नुपर्ने बेला आएको पनि उनले बताए । पार्टी सभापतिलाई पनि समितिको बैठक राख्न भनिसकेको उनले जानकारी दिए ।

अन्य चार न्यायाधीसमाथि पनि कारबाही हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको माग गलत भएको उनले टिप्पणी गरे ।

नेता पौडेलले प्रश्न गरे, ‘जोमाथि प्रश्न उठेको छ, त्यसमाथि कुरा गर्नुपर्छ । अरुमाथि प्रश्न किन ?’

ओलीले विगतमा अदालतसँग सेटिङ गरेकाले ध्यान अन्यत्र मोड्न खोजेको आरोप पनि उनले लगाए ।

एक फरक प्रसँगमा नेता पौडेलले ‘अर्ली इलेक्सन’ को सम्भावना नकारेका छन् । उनले अगामी निर्वाचनमा गठबन्धन कायम रहनेमा शंका व्यक्त गरे ।

पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै चुनाव लड्ने पार्टी हो । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर