दैलेखको नयाँ सहरमा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध – Nepal Press

दैलेखको नयाँ सहरमा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध

फोन गर्न भेल्तडी जानुपर्ने बाध्यता

दैलेख । दैलेखको नयाँ सहर आयोजनास्थल १५ दिनदेखि टेलिफोन सेवाबाट बञ्चित भएको छ । अछामको विनायकमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बञ्चित भएका हुन् ।

‘कम्तिमा १५ दिन देखि यहाँ टेलिफोन सम्पर्क हुन सकेको छैन । विनायकमा रहेको टेलिकम टावर बिग्रदा हामीलाई समस्या भएको छ’, आठबीस नगरपालिका– ४ का कमल माझीले भने, ‘टेलिफोन सेवा अवरुद्ध हुँदा पनि सरकारले चासो देखाएको छैन । टेलिकमको टावर सुधारेको भए सूचनाबाट बञ्चित हुनुपर्ने अवस्था थिएन ।’

उनीमात्रै होइनन्, आठबीस नगरपालिका– ४ का नागरिक टेलिफोन सेवा प्रयोग गर्नका लागि कालिकोटको टावर देखिने स्थान भेल्तडी जानुपर्ने बाध्यता आइलागेको छ ।

‘स्थानीय सरकारले टेलिफोन सेवा सुचारु गर्न प्रयास गर्नुपथ्र्यो’, स्थानीय वीरबहादुर विशवकर्मा भन्छन्, ‘त्यतातिर पालिकाको ध्यान जान नसक्दा दुःख लागेको छ ।’

नगरपालिकाले भने टावर सुधारका लागि निरन्तर पहल गरिरहेको दाबी गरेको छ । ‘हामीले बारम्बार टेलिकमसँग टावर सुधारका लागि अनुरोध गरेका छौं’, नगरप्रमुख खड्गराज उपाध्यायले भने, ‘हामीले बारम्बार अनुरोध गर्दा पनि समस्याको समाधान भएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर