लुम्बिनीमा तयार हुँदै ध्यानकेन्द्र, जहाँ एकैसाथ ८ हजारले ध्यान गर्न सक्नेछन्
रुपन्देही । २०७४ सालमा बुद्धजयन्ती मनाउने क्रममा हावाहुरीले कार्यक्रमस्थल भत्काइदियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी विशाल कार्यक्रम प्रभावित भयो र सानो कोठामा औपचारिक कार्यक्रम गरी समापन भयो ।
त्यो अवस्थाको दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै ओलीले दुई वर्षभित्रै लुम्बिनीमा यसखालका कार्यक्रम गर्न मिल्ने सभाहल तयार पार्ने घोषणा गरे । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, बुद्धजयन्ती समारोह र हजारौंले एकैसाथ ध्यान गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र बनाउने घोषणा गर्दै ओलीले तत्काल यसको योजना बनाउन निर्देशन दिएका थिए ।
ओलीको त्यो घोषणा पूर्ववत् मितिमा त सकिएन तर केही समय ढिलाइ भएपनि उक्त योजनाले पूर्णता पाउँदै छ । ओलीले घोषणा गरेअनुरुपको ध्यान केन्द्रको निर्माण कार्य यतिबेला अन्तिम चरणमा पुगेको छ ।
ध्यान केन्द्रको पहिलो चरणको काम पूरा भएको छ । अहिले चलिरहेको दोस्रो चरणको काम पनि लगभग ५५ प्रतिशत पूरा भइसकेको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई बताउँछन् ।
उनका अनुसार आउँदो असार मसान्तसम्ममा दोस्रो चरणको पनि निर्माण कार्य सक्नेगरी काम भइरहेको छ । बनिरहेको यहीँ ध्यान केन्द्रमा आगामी वर्षको बुद्धजयन्ती मनाउने गरी निर्माण कार्य सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।
ध्यान केन्द्र, जहाँ एकैसाथ आठ हजार जनाभन्दा धेरैले ध्यान गर्न मिल्नेछ । ध्यानकेन्द्रको संरचना निर्माण पूरा भएर सौन्दर्यकरणको काम चलिरहेको छ । केही महिनामै निर्माण कार्य पूरा हुनेछ ।
२०७५ वैशाख १७ गते बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । ३८ करोड ५६ लाख रुपैयाँको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मा सम्पन्न गर्ने गरी ०७४ चैत ६ मा सम्झौता भएता पनि यसको शिलान्यास बुद्धजयन्तीको अवसरमा पार्दा केही समयपछि (२०७५ वैशाख) धकेलिएको थियो । यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेवाले सभाहल निर्माणको जिम्मा पाएको थियो ।
विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बनाउने गरी सभाहल बनिरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षू मेत्तेयाले बताए । सभाहलको भित्री साजसज्जा, बाहिर पानीको फोहोरालगायतका काम दोस्रो चरणमा पर्छन् । यस्तै दोस्रो चरणमै करिब एक सयवटा बुद्ध प्रतिमासहितको कलात्मक बाउण्ड्री, भित्री बाहिरी साजसज्जा, हरियाली, वाटर फाउन्टेन र एक किमी सडक निर्माणलगायतका काम धमाधम भइरहेका छन् ।
कोरोना कहरमा केही समय अवरुद्ध भएको निर्माण कार्य अहिले जारी छ । विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले आउँदो बुद्धजयन्ती समारोह नयाँ हलमै गर्नेगरी निर्माण कार्य चलिरहेको बताए । उनले निर्माण कम्पनीलाई आवश्यक पर्ने सहयोग उपलब्ध हुने बताउँदै तोकिएको समयमै निर्माण सक्ने गरी जनशक्ति परिचालन गर्न निर्देशन दिइएको बताए । आगामी असार मसान्तसम्म ध्यान केन्द्रको निर्माण कार्य सकिनेगरी सम्झौता भएको इन्जिनियर भट्टराईले बताए ।
दैनिक एक सय ८० देखि दुई सय जनासम्म कामदार लगाएर विभिन्न सिफ्टमा निर्माण कार्य गरिरहेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिक अहमद खानले जानकारी दिए । उनले निर्माण कार्य करिब ५५ प्रतिशत पूरा भएको र तोकिएको समयमै पूरा हुने बताए । दोस्रो चरणको काम आउँदो असार मसान्तसम्म सक्ने सम्झौता छ ।
ध्यानकेन्द्र अर्थात् सभाहलका संरचना त्यहाँ प्रवेश गरेपछि नै शान्तिको आभास हुनेगरी डिजाइन गरिएको छ । यहाँ परिसरमै प्रवेश गरेपछि शान्तिको प्रतीक अथवा पोजेटिभ भाइब्रेशन हुने सोंचका संरचनाको डिजाइन गरिएको छ । सकारात्मक सोचको प्रतीकको चिनोको रुपमा यसको साजसज्जा र डिजाइन गरिएको कोषका योजना प्रमुख इन्जिनियर भट्टराईको दाबी छ ।
ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस् भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ इलिभेसन इलिप्टिकल आकारमा डिजाइनमा निर्माण गरिएको छ । यहाँ प्रयोग भएका सामग्री अन्तर्राष्ट्रिय क्षेत्रमा अब्बल मानिएका कम्पनीबाट समेत ल्याइएको बताइएको छ ।
हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि एक वर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने सक्ने गरी बनाउने व्यवस्था मिलाइएको छ । आवतजावतका लागि दुई मिटर चौडाई भएको ठाउँबाट भित्र–बाहिर गर्न सक्ने गरी तयार हुनेछ भने फ्लोरमा सेतो रंगको माजाइक र चार इन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।
वातानुकूलित सभाहलको बीचको माथिको भागमा आकर्षक कमलको फुल बनाइएको छ । सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाइटको व्यवस्था गरिएको हुनेछ ।
लुम्बिनी पर्यावरणको हिसाबले, शान्तिको हिसाबले, जलचरको हिसाबले, जैविक विविधताको हिसाबले र संसारभर शान्ति छर्ने मुहानको हिसाबले पवित्र भूमि रहेको उल्लेख गर्दै उनले सोहीअनुरुपका निर्माण कार्य चलिरहेको बताए । यद्यपि कतिपय संरक्षणविद्हरुले भने लुम्बिनीमा कंक्रिटका संरचना ज्यादा बनाउन नहुनेमा सचेत बनाउँदै आएका छन् ।
कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पनि लुम्बिनी गुरुयोजनासँगै यो सभाहलको चासो राखेकी थिइन् । राष्ट्रपतिसहित राष्ट्रियसभा अध्यक्ष, संस्कृति मन्त्री प्रेम आलेसहितका अन्य विशिष्ट व्यक्तिहरुले लुम्बिनीको विकासमा चासो राखेपछि विकास कोष यो योजनालाई छिटो सकाउन दवाव परेको छ ।
वरिपरीका सुन्दर सडकले बेग्लै सौन्दर्य
केही वर्षअघि लुम्बिनी गुरुयोजनाको क्षेत्रकै सडक बेहाल अवस्थामा थिए । जतिबेला बुद्धजयन्तीको समारोहस्थल नै हावाहुरीले उडाइदियो त्यसबेलासम्म परिक्रमाका सडकमा वर्षातमा हिँड्नै नमिल्ने अवस्था थियो ।
वर्षातमा हिलो र हिउँदमा धुलो उडेर पर्यटकलाई सास्ती हुने अवस्था थियो र लुम्बिनीभित्रकै सडकको दुर्दशा देखेपछि तत्कालीन अर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले पहिलो चरणमै ६४ करोड बजेट विनियोजन गरेर सडक निर्माण गर्न निर्देशन दिएका थिए ।
पौडेलले अर्थमन्त्री भएका बेलामा प्रयाप्त बजेट व्यवस्था गरेर सडक निर्माण गर्न लगाएको ठाउँमा अहिले चिटिक्कको विस्तारित सडक निर्माण भएको छ । गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी हुँदै तौलिहवा जाने सडक पनि चार लेनमा विस्तार भएर आकर्षक बनेको छ । यस्तै भैरहवा–बुटवल सडक पनि विस्तार भएको छ ।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । गुरुयोजनाका काम समयमै नहुँदा उनले खिन्नता प्रकट गरेको सूचना पाएपछि केपी ओली प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले चासो बढाएर कामलाई अगाडि बढाउन लगाएका थिए ।
त्यसलगत्तै तत्कालीन सरकारले लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर गर्न कोषलाई निर्देशन दिएको थियो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै ७ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको थियो ।
लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुवात भएपछि अब ४३ वर्षपछि गुरुयोजना पूरा हुने आशा पलाएको छ । लुम्बिनी विकास कोषले गत साता अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेसँगै अन्तिम चरणका निर्माण कार्य चलिरहेका छन् ।
लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।
गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठ/आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईले बताए ।