प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा द्विपक्षीय भेटवार्ता – Nepal Press

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा द्विपक्षीय भेटवार्ता

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको हो ।

सो भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा आफूहरुबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्न र दिगो विकासमा सहकार्य गर्नेबारे छलफल भएको देउवाले जनाएका छन् ।

देउवा र मोदीले मिलेर जलवायु संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएको जनाइएको छ । मोदीले पनि ट्वीटरमार्फत दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन् । नेपाली समकक्षीले ग्लास्गो सम्मेलनमा हिमालमा जलवायु संकटलाई महत्वका साथ उठान गरेको मोदीले जनाएका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्छौं भनेका थिए ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको सचिव पौड्यालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर