‘माघपछि सुदूरपश्चिममा हाम्रै नेतृत्वको सरकार बन्छ’ – Nepal Press
नेपाल टक

‘माघपछि सुदूरपश्चिममा हाम्रै नेतृत्वको सरकार बन्छ’

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको विषय नयाँ होइन । माओवादीले नेतृत्व गरेको सरकार परिवर्तन गर्न यसअघि नेपाली काँग्रेसले ठूलै बल लगाएको थियो ।

दलका नेता दलबलसहित काठमाडौं पुगेर सुदूरपश्चिम सरकारमा गठबन्धनको आभास नभएको, सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई मात्रै होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । तर, त्यसले प्रदेश सरकार ढल्ने त परैको कुरा हल्लिएन पनि । यसैबीच फेरि नेकपा एकीकृत समाजवादीले सरकारमा दाबी गरेको छ ।

अहिले प्रदेशमा सबैभन्दा ठूलो दल पनि नेकपा एकीकृत समाजवादी नै हो । सबैभन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने विषयमा छलफल सुरु भएको छ ।

प्रस्तुत छ, यसै परिवेशबीच नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम संयोजक गरिमा  साहसँग प्रदेश सरकार परिवर्तनको अवस्था र एमाले विभाजन हुनुका कारणहरूबारे गरिएको कुराकानी नेपाल टकमा:

नेकपा एकीकृत समझवादीले सुदूरपश्चिम प्रदेशमा सरकारको दाबी गरेको कुरा आइरहेको छ । दाबी मात्रै हुन्छ कि सरकारको नेतृत्व पनि गर्छ ?

गठबन्धन संस्कृतिबाट हामी अगाडि बढिरहेका छौँ । गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा माथि केही सहमतिहरू भएका छन् । त्यहीं सहमतिअनुसार नै वागमती प्रदेशमा हामीले मुख्यमन्त्री पाएका हौँ । एक नम्बर प्रदेशमा पनि हाम्रो पार्टीले मुख्यमन्त्री पाएको छ । अहिलेसम्म दुई प्रदेश हामीले पाउने सहमति भएको छ ।

केही समयपछि नयाँ ढंगको वार्ता हुन्छ । सहमति हुन्छ । जिम्मेवारी पनि हेरफेर हुन्छ । त्यसै कारण अहिले नै हामीले लिखित गरेका छैनौँ ।

कार्यकाल भाग लगाएर जिम्मेवारी हेरफेर हुने सम्भावना कतिको छ ?

सबै ठाउँमा हाम्रो पार्टीले मात्रै मुख्यमन्त्री पाउने कुरा हुँदैन । फेरि गठबन्धनमा हुने कुरा पनि त त्यहीं हो । जिम्मेवारी हेरफेर हुन्छ, उपयुक्त समयमा ।

जस्तो सुदूरपश्चिममा हामी सबै राजनैतिक दलभन्दा ठूलो छौँ । भनेपछि हाम्रो दाबी त बलियो छ नि । तर, गठबन्धन सरकार भएको हुँदा माथि उहाँहरूले कसरी लेनदेन गर्नुहुन्छ भन्ने कुरा हो । कतिपय स्थानमा अहिले नै तुरुन्तै हामीले मुख्यमन्त्री लिनुपर्ने हुन्छ ।

केही स्थानमा केही समय पछि हेरफेर गर्नुपर्ने अवस्था हुनुपर्ने भएको हुँदा अहिले तुरुन्तै हामीले यहाँ मुख्यमन्त्री पाउन सकिरहेका छैनौँ । त्यो ढङ्गको माथि निर्णय पनि भएको छैन । निर्णय नभएकै कारणले हाम्रो केन्द्रीय पार्टीको ध्याकर्षण गराइरहेका छौँ ।

माघसम्म माओवादीकै नेतृत्वको सरकारमा सहभागी हुने र त्यसपछि नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्ने विषयमा पनि छलफल भइरहेको छ भनिन्छ नि ?

हाम्रो माग त्यस्तै छ । अहिलेसम्म हामीले गठबन्धनमा सहयोग गरिरहेका छौँ । पहिलो दल हुँदा पनि हामीले यहाँ सहयोग गरिरहेको अवस्था हो ।

अब अरू प्रदेशमा पनि फेरबदल हुने सम्भावना छ । त्यस्तो अवस्थामा माथि २–२ प्रदेश लिने सहमति छ, त्यसमा पनि फेरबदल आउँछ । त्यो फेरबदल आउनेबित्तिकै हामीले यहाँ सबैभन्दा पहिले अवसर पाउँछौँ भन्ने मलाई लाग्छ ।

काँग्रेस गठबन्धन भित्र रहे पनि यहाँ सरकारमा सामेल छैन । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै बहुमतमा सरकार बन्छ । अझै काँग्रेसलाई बाहिरै राख्ने हो ?

गठबन्धनको कुनै पनि दललाई बाहिर राखेर हामी सरकार बनाउँछौँ भन्न सक्दैनौँ । तर, कुन कुन पार्टी सहभागी हुने भन्ने कुरा प्रदेशले भन्दा पनि केन्द्रले निर्णय गर्ने विषयहरू हो ।

अहिलेसम्म केन्द्रमा काँग्रेस सरकारमा सहभागी हुने कुरा निर्णय नभएको हुँदा यहाँ नभएको हो । अब उहाँहरूले भोलि माग गर्नुभयो, केन्द्रमा यो विषयले प्रवेश पायो र गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने निर्णय भए उहाँहरु पनि आउनुहुन्छ ।

एमालेबाट छुटिनुअघि नै तपाईंहरु पक्षधर केही नेताहरुले निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्ने सुनिएकोे थियो, हो ?

नेपालको राजनीतिमा भएका काम कारबाहीहरु कुनै पनि लुकेका छैनन् ।

हिजो जतिबेला हामीले नेकपा एमाले भित्र आन्तरिक संघर्ष गरिरहेका थियौँ । पार्टीले गणतन्त्र र संघीयताविरोधी काम गर्नुभएन, संविधानको पालना गर्नुर्यो, पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्छ भन्दै हामी लडिरहेका थियौँ ।

त्यो अन्तरसंघर्षमा हाम्रो सुनुवाइ भएको थिएन । एक पक्ष गणतन्त्र र संविधान मार्नै चाहने, हामी बचाउँन चाहने शक्ति कसरी एक ठाउँमा हुन सक्छ ? यस्तो अवस्थामा विद्रोह गर्ने भन्ने नै हो । विद्रोह कसरी गर्ने भन्दा नयाँ पार्टी निर्माण गरेर अगाडि बढ्ने भन्ने कुरा थियो ।

जुन १० भाइ भनेर अहिले चर्चित छ । उहाँहरू त्यो छलफलमा हुनुहुन्थ्यो । पार्टी दर्ता पनि त निर्वाचन आयोगमा गराउनु भएको हो नि त ।

के नाममा दर्ता भएको थियो ?

नेकपा संयुक्त भनेर दर्ता भएका थियो ।

एमाले विभाजन हुनुपर्छ भन्ने ती १० भाइमध्येकै हुन् ?

हो । अहिले हाम्रो अध्यक्ष माधव नेपाललाई उहाँहरूले ‘हामी छौँ, खुट्टा नकमाउनुहोस्, अगाडि बढ्नुस्’ भन्दै उचालेर टुप्पोमा पर्याउनु भयो, अलि पछि फेद काट्न थाल्नु भयो, हामीले रोक्यौं ।

विधान पनि उहाँहरूले नै लेख्नुभएको हो ?

हो । पार्टी भित्र हालीमुहाली उहाँहरूकै थियो । अनि बाहिरको मान्छे कसले लेख्छ त ? हामी त त्यो ठाउँमा पुग्नै सकेका थिएनौँ ।

विधान लेखनमा को–को नेताहरू सक्रिय हुनुहुन्थ्यो ?

सुरेन्द्र कमरेड, भीम कमरेडहरु नै हर्ताकर्ता हुनुहुन्थ्यो ।

तीमध्येका केही नेताहरू नेकपा एकीकृत समाजवादीमा आउने हल्ला पनि छ । केही कुरा भएको छ ?

यो राजनीति हो । राजनीतिमा यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था हुँदैन । म त नेकपा एमालेमा रहनु भएका गणतन्त्रवादी नेताहरुलाई हाम्रो पार्टीमा आउन आह्वान गर्छु । अरु केही कुरा भएको छैन ।

अबको चुनावमा एकीकृत समाजवादीको पनि पहिला मालेकै हालत हुने त होइन ?

२०५४ सालमा पार्टी विभाजन हुँदाको जनताको चेतनाभन्दा अहिले फरक छ । त्यो बेला चुनाव चिह्न चिनाउनै हम्मेहम्मे थियो । तर, अहिले सञ्चार क्षेत्रको व्यापक विकास भएको छ । अहिले निर्वाचन प्रणाली पनि फेरिएको छ । त्यो बेला मुलुक संघीतामा गइसकेको अवस्था थिएन ।

विद्रोहबाट जन्मिएका पार्टीको अस्तित्व हुँदैन भन्ने कुरा पनि बेठिक छ । हेर्नुहोस् न जनमोर्चाबाट विद्रोह गरेर त माओवादी जन्मिएको हो नि । राष्ट्रिय काँग्रेसबाट विद्रोह गरेर नेपाली काँग्रेस जन्मिएको हो । स्वयम् नेकपा एमालेको जन्म पनि विद्रोहबाट भएको हो । दोस्रो राष्ट्रिय महाधिवेशनमा केसरजंग रायमाझी जब दरबारमा गए, त्यसपछि पुष्पलालहरूले विद्रोह गर्नुभएको हो ।

अबको चुनावमा एकीकृत समाजवादी एक्लै भिड्छ कि गठबन्धनको सहारा लिन्छ ?

गठबन्धनमै जान्छौँ ।

एक्लै एमालेसँग जुध्न अझै डराइरहनु भएको हो ?

हामी भर्खर निर्माणको प्रक्रियामा छौँ । अझै संस्थागत भइसकेका छैनौँ । अझै धेरै कामहरू गर्न बाँकी छ । चुनाव पनि आइसकेको छ । हामी ठूलो हुनुपर्छ भनेर होइन, राजनैतिक स्थितताको लागि गठबन्धन संस्कृतिबाट अगाडि बढ्नु पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर