डोल्पा कांग्रेस सभापति भन्छन्- क्रियाशील सदस्यतादेखि टिकटसम्म व्यापार, कति धाउने नेताको घर ? – Nepal Press

डोल्पा कांग्रेस सभापति भन्छन्- क्रियाशील सदस्यतादेखि टिकटसम्म व्यापार, कति धाउने नेताको घर ?

'एकल नेतृत्वले एमाले बलियो र सामूहिक नेतृत्वले कांग्रेस अझ कमजोर हुनसक्छ'

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विषय सधैँ विवादको विषय बन्ने गर्छ । हरेक महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि हम्मे-हम्मे पर्ने गर्छ । यसपटक पनि कांग्रेसमा क्रियाशील सदस्यता विवादका पराकम्पहरू बाँकी नै छन् ।

कांग्रेसको केन्द्रीय राजनीतिमा डोल्पाको प्रभाव कमजोर छ । राप्रपाबाट कांग्रेस प्रवेश गरेका कर्ण बुढा आमन्त्रित केन्द्रीय सदस्य छन् । कर्णालीको हिमाली जिल्ला डोल्पा कांग्रेसको आन्तरिक राजनीतिमा प्रायः चर्चामै रहन्छ । १३ औं महाधिवेशनमा डोल्पा कांग्रेसमा देखिएको विवाद अन्तिममा मात्रै समाधान भएको थियो । अहिले पुनः डोल्पा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद छ । अंगद र कर्णकै विवादका कारण डोल्पाको क्रियाशीलमा समस्या देखिएको हो । क्रियाशील विवादकै कारण जिल्ला सभापति बुढा लामो समयदेखि काठमाडौंमै छन् ।

क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाइसकेको क्रियाशील सदस्यता सूचीमा डोल्पा कांग्रेसका सभापति बुढाकै असहमति रहेको छ । क्रियाशील विवाद समाधानका लागि अनसन बसेका उनी अनसन तोडाउने बेला भएको सहमति पालना नभएको बताउँछन् । ‘हाम्रा माग पूरा गरेर सदस्यता टुंग्याउने र कमजोरी भए जिल्ला सभापतिकै सिफारिसमा सच्याउने सहमति गरिए पनि पालना भएन । क्रियाशील सदस्यतामा मनपरी गरिएको छ’, बुढाले भने ।

काठमाडौंमा बुधबार वीपी स्टडी युथ सर्कलले गरेको कार्यक्रममा डोल्पा कांग्रेसका सभापति अंगद बुढाले आफ्ना दुःख बिसाए । ‘म दुर्गमको कार्यकर्ता हुँ । क्रियाशील सदस्यतामा न्याय गरियोस् भनेर नेताका घर-घर कतिन्जेल धाउनुपर्ने हो ? हामीसँग गरिएको सहमति किन पालना भएन ? दुर्गमका कार्यकर्ताको संवेदना नबुझ्ने नेतृत्वले कांग्रेस हाँक्न सक्दैन’, बुढाको भनाइ छ ।

उनले डोल्पामा समायोजनका नाममा क्रियाशील सदस्यताको किनबेच भएको गम्भीर आरोप लगाए । ‘महाधिवेशन आएपछि क्रियाशील सदस्यताको व्यापार हुँदो रहेछ । समायोजनको नाममा पैसाको चलखेल हुँदो रहेछ । चुनाव आए टिकटको व्यापार हुँदो रहेछ । यस्तो अवस्थामा कांग्रेसको सभापति बन्न कुनै गर्व लाग्ने अवस्था छैन’, बुढाले भने ।

उनले केन्द्रीय समितिले पार्टीको निर्णय कार्यान्वयन गर्न नसक्ने हो भने पार्टी अनुशासनहीन बन्ने बताए । पार्टीभित्र सामूहिक नेतृत्वका नाममा गुटबन्दी मौलाएको बुढाको भनाइ छ । विगतमा गिरिजाप्रसाद कोइरालाजस्तै शक्तिशाली सभापति हुनुपर्ने उनी बताउँछन् ।

‘म सत्य कुरा बोल्दैछु । आज जति कमजोर भयो भनिएपनि एकल नेतृत्वको अवधारणाका कारण नेकपा एमाले राजनीतिमा पुनःस्थापित हुनसक्छ तर सामूहिक नेतृत्वका कारण कांग्रेस अझ कमजोर हुनसक्छ’, बुढाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर