भारतीय फूलले बजार कब्जा, नेपाली किसान निराश
काठमाडौं । भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायी मारमा परेको गुनासो गरेका छन् ।काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको ब्यापारमा अधिकांश भारतीय फूल देखिएको छ । भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्यापारी गुनासो गरेका छन् ।
काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्रि धेरै हुने गर्छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बाली सँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो ।
काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा ब्यबसायिक रुपमा फुलको खेति हुने गरेको छ । फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा ब्यापारी आउने गर्छन ।
काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन् । वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ ।
कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो । गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ