देउवाले किन गरे रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा ? – Nepal Press

देउवाले किन गरे रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा ?

काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका छन् । पाण्डे नेतृत्वको प्रदेश मन्त्रिपरिषदमा ३ जना मन्त्रीसमेत रहेका छन् ।

कांग्रेसले भक्तपुरबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद कृष्णलाल भडेललाई भौतिक पूर्वाधार मन्त्री बनाइसकेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारमा भक्तपुरबाटै दोस्रो मन्त्री बनाउने घोषणा गरेका छन् ।

समानुपातिक तर्फबाट प्रदेशसभा सांसद रहेकी रजनी जोन्छेलाई जसरीपनि मन्त्री बनाउने घोषणा देउवाले गरेका हुन् । ‘राधेश्याम जोन्छेको श्रीमतलाई मन्त्री बनाउने हो । मैले भनेको छु उहाँ मन्त्री बन्नुहुन्छ ,उहाँ शहीदको पत्नी हो नि’, देउवाले शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा भने ।

उनले प्रजातान्त्रिक आन्दोलनमा राधेश्याम जोन्छेको योगदान अतुलनीय रहेको भन्दै कांग्रेसले शहीद परिवारलाई सम्मान गर्ने बताए । भक्तपुर कांग्रेसका पूर्व सभापति जोन्छे देउवाका निकट राजनीतिज्ञ मध्येका हुन् ।

२०५९ साल भदौ १५ गते जोन्छेलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गरेका थिए । माओवादीको गोली प्रहारबाट गम्भीर घाइते भएका जोन्छेको २०६९ सालमा निधन भएको थियो ।

नेपाल विद्यार्थी संघको राजनीतिदेखि नै देउवालाई साथ दिदैं आएका राधेश्याम पार्टी विभाजनपछि कांग्रेस प्रजातान्त्रिकको सभापति थिए । घाइते भएर उपचारको क्रममा रहँदा पनि देउवा प्रायः जोन्छेलाई भेट्न भक्तपुर पुगिरहन्थे । जोन्छे परिवारसँग राजनीतिक र भावनात्मक सम्बन्ध रहेकै कारण देउवाले रजनीलाई मन्त्री बनाउने उद्घोष गरेका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले मन्त्री बनाउने घोषणा गरेपछि बागमती प्रदेशसभा सांसद रजनी जोन्छेले धन्यवाद ज्ञापन गरेकी छिन् । आफ्ना श्रीमान् र देउवाबीच विगतदेखि नै घनिष्ठ सम्बन्ध रहेको भन्दै रजनीले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताइन् । ‘सभापतिजीले पहिलेपनि मन्त्री बनाउँछु भन्नुभएको थियो । अहिले बेला आएको छ, अवसर दिन्छु भन्नुभएको छ । यसबाट म खुसी छु, पार्टींले अवसर दिए राम्रो काम गर्छु’, रजनीले नेपाल प्रेससँग भनिन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेकी रजनी प्रदेशसभाको शिक्षा समितिमा सक्रिय छिन् । उनले सामाजिक क्षेत्रसँग सम्बन्धित मन्त्रालयमा अवसर पाए पार्टीको शिर उँचो राख्ने र शहीद परिवारलाई सम्मान हुनेगरी काम गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर