भियतनामबाट काजु, अमेरिकाबाट बदाम ! यसपाली तिहारमा डेढ अर्बको भाइमसला आयात – Nepal Press

भियतनामबाट काजु, अमेरिकाबाट बदाम ! यसपाली तिहारमा डेढ अर्बको भाइमसला आयात

काठमाडौं । तिहारमा दिदी–बहिनीले दाजुभाइलाई दिने भाइमसलाको आयात यसपाली ह्वात्तै बढेको छ । यस वर्षको तिहारमा करिब डेढ अर्बको भाइमसला आयात भयो, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

भाइमसला अन्तर्गत ओखर, बदाम, काजु, किसमिस, पेस्ता आदि ड्राइ फ्रुट्स पर्छन्। नेपालमा उत्पादन हुने ड्राइ फ्रुट्सले तिहारमा नपुग्ने भएकाले भारत लगायत तेस्रो मुलुकबाट आयात गर्ने गरिएको छ ।

गत वर्षको तिहारमा करिब १ अर्ब २० करोडको भाइमसला आयात भएको थियो । चालु आर्थिक वर्षमा त्योभन्दा करिब २१ प्रतिशतले बढ्दै १ अर्ब ४७ करोड रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नरिवल, काजु, पेस्ता, बदाम, ओखर लगायत भाइमसलामा प्रयोग हुने सामग्रीहरुको आयात बढेको हो । तिहारका लागि आवश्यक पर्ने सामग्रीहरु आर्थिक वर्षको पहिलो तीन महिनाभित्रै आयातभइसक्छ ।

गत वर्ष भारत र भियतनामबाट करिब ३६ करोड ७६ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो । यो वर्ष काजु आयातको परिमाण बढेर ३९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यस्तै, बदाम गत वर्षको तुलनामा करिब ३१ प्रतिशतले बढ्दै करिब ३९ करोड रुपैयाँको आयात भएको छ । गत वर्ष बदाम २९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालमा बदाम अमेरिका र भारतबाट आयात हुने गरेको छ । नेपालमा ओखर चीनबाट आयात हुने गरेको छ । गत वर्ष करिब १७ करोड रुपैयाँको ओखर आयात भएकोमा यो वर्ष करिब २० करोड रुपैयाँ बरावरको आयात भएको विभागले जनाएको छ । यस्तै, पेस्ता यसपालिको तिहारका लागि भारतबाट ७२ लाख रुपैयाँको आयात भएको छ ।

छोकडा पाकिस्तानबाट आयात हुने गरेको छ । गत वर्ष करिब ३ करोड ३१ लाख रुपैयाँको छोकडा आयात भएकोमा यो वर्ष ३ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ । यसैगरी गत वर्ष भारतबाट ८ करोड १० लाख रुपैयाँको किसमिस आयात भएकोमा चालु आर्थिक वर्ष ११ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालमा सबै प्रकारका चाडपर्वहरु आयातले नै धान्ने गरेको छ भन्ने भाइ मसलाबाट पनि प्रमाणित हुन्छ । नेपालमा सामान्यभन्दा सामान्य वस्तुहरु पनि उत्पादन गर्न नसक्दा व्यापारघाटा प्रत्येक वर्ष बढ्दै गएको छ । यसको दबाब विदेशी विनिमयको सञ्चिति र शोधान्तर स्थितिमा पर्ने गर्छ ।

परम्परागत खेति–किसानी, बढ्दो आप्रावासन तथा रेमिट्यान्स, आन्तरिक उत्पादनको कमजोर अवस्था र आयातमा आधारित राजस्व नेपाली अर्थतन्त्रको विशेषता हुन् । पुँजी, प्रविधि, कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभावमा नेपालमा औद्योगिकरण फस्टाउन पाएको छैन । यसै कारणले उत्पादन भएका बस्तुको लागत उच्च हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *