भीम रावलको विचलन: हिजोका हक्की नेता आज किन दुर्बल ?
सुदूरपश्चिमको विकट जिल्ला अछामको साविक कालाआम गाउँ (हाल साँफेबगर नगरपालिका) मा जन्मेका भीम रावलले जन्मेको ७ दिनमै आफ्नो बुबालाई गुमाउनुपर्यो । बाल्यकालदेखि संघर्षसँग पौंठेजोरी खेल्दै आफ्नो विलक्षण प्रतिभाका बाबजुद जीवनमा धेरै आरोह-अवरोह भोगे उनले । केही समयदेखि उनी नेपाली राजनीतिको केन्द्रमा छन् र निरन्तर चर्चामा छन् ।
राजधानीबाट धेरै टाढा दूरदराजमा जन्मेका रावलको बाल्यकाल अत्यन्तै दुःख र संघर्षमा बित्यो । आमाले दुःख गर्दै खेतबारी बेच्दै उनलाई पढाउनुभयो । घरनजिकैको महेन्द्र मावि बयलपाटाबाट उनको शिक्षा आरम्भ भयो । कक्षा १ देखि एसएलसीसम्म अछामकै बयलपाटामा अध्ययन गरेका रावलले एसएलसी. पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्न काठमाडौको आरआर क्याम्पसमा आएर मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको अध्ययन गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट वि.स २०३८ सालमा स्नातकोत्तर प्रथम श्रेणीमा पास गरे ।
उनले त्यतिबेला लेखेको स्नातकोत्तर तहको शोधपत्र “नेपालमा साम्यवादी आन्दोलन: उद्भव र विकास” शीर्षकको शोधपत्र निकै चर्चित भएको थियो । उक्त शोधपत्र नेपाली र अंग्रेजी दुवै भाषामा पाइन्छ । त्यतिबेला त्यति दुर्गम गाउँबाट काठमाडौं आएर अध्ययन गर्नेको संख्या औंलामा गन्न सकिन्थ्यो । अछामबाट काठमाडौं आउन पनि धेरै दिन लाग्थ्यो ।
अध्ययन सँगसँगै राजनीति गर्दै विभिन्न राजद्रोहको आरोपमा जेल नेल खप्दै आएका रावलसँग अब्बलस्तरको विद्वता छ । हाल उमेरले ६६ बर्ष पुगेका उनी आफैं गाडी चलाउन सक्छन् । कम्प्युटरमा नेपाली र अंग्रेजी टाइप व्यवसायिक टाईपरहरूको भन्दा कम छैन । अंग्रेजी भाषालगायत अन्य भाषामा पनि दख्खल राख्छन् । कुनै विदेशीसँग अंग्रेजी भाषामा कुरा गर्नुपरेमा र पार्टीका विभिन्न दस्तावेज उल्था गर्दा उनको खोजी हुन्थ्यो । त्यति मात्र होइन उनी साहित्यकार तथा कवि पनि हुन् । उनका धेरै कविताहरू प्रकाशित भएका छन् । मञ्च या बैठकमा बस्दाबस्दै कविता लेख्न सक्छन् । त्यति मात्र होइन देउडा गीत गाउन र खेल्न पनि सिपालु छन् । त्यसैले उनलाई बहु प्रतिभाको धनीभन्दा पनि फरक पर्दैन ।
विद्यार्थी आन्दोलनमै होमिएको बेला आफ्नो अध्ययन अगाडि बढाउन कम चुनौती थिएन । त्यो पनि पञ्चायती शासकहरूले निर्मम रूपमा दमन गरेर उनलाई गिरफ्तार गरी नख्खु जेलमा हालेका थिए । नख्खु जेलमा रावल भोक हडताल बसेका बेला टाईफाईड भई थला परेका थिए । टाईफाईडको कारण शारीरिक रूपमा कमजोर भएका थिए । यसका बाबजुद पनि आफ्नो प्राज्ञिक लाइन कहिल्यै नछाडी राजनीति सँगसँगै अध्ययनलाई पनि अगाडि बढाए । अध्ययनमात्र होइन आफ्नो ब्याचमा स्नातकोत्तर तहमा प्रथम पनि भए ।
२०३८ सालमा स्नातकोत्तर तहको अध्ययन सकेका रावलले त्यसपछि विभिन्न कविताहरू, लेखहरू, किताव प्रकाशनमा ल्याए । विभिन्न विषयमा अध्ययन गर्दै आफूलाई एउटा बौद्धिक नेताको रूपमा स्थापित गैरराजनीतिक आन्दोनलमा पूरै होमिदै तत्कालीन भुमिगत नेकपा (माले) समर्थित विभिन्न पत्रपत्रिकाका सम्पादक, दस्तावेजकर्ता, नेपाल बार एशोसियसनको निर्देशक, यूएनको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको अनुभव संगाल्दै राज्यका महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हाले ।
२०३१ सालबाट कम्युनिष्ट राजनीति सुरू गरेका रावल २०३२ मा तत्कालीन (कोअर्डिनेसन केन्द्र) निकट अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा सहभागी भएका थिए । नेपालमा भएका सबै प्रकारका आन्दोलनहरूमा आफुलाई अग्रपंक्तिमा राखे उनले । बहुदलीय व्यवस्था आईसकेपछि आफ्नो जिल्लामा २०४८ सालमा संसदको चुनाव लडे । नेपाली कांग्रेसको पकड भएको त्यो क्षेत्रमा उनले पहिलो चुनाव जित्न सकेनन् । २०५१ सालको मध्यावधि चुनावमा फेरी लडेर जिते । तत्पश्चात तत्कालीन नेकपा (एमाले)को मनमोहन अधिकारीको नेतृत्वमा सरकारमा पर्यटन राज्यमन्त्री नियुक्त भए । पछि माधव नेपालको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बने ।
केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री बनेका रावलले तत्कालीन सरकारलाई सफल बनाउन भूमिका खेलेका थिए । तर, उहाँको योग्यता, क्षमता र अनुभवका बाबजुद तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकतापछिको नेकपाको सचिवालयमा उनलाई समावेश गरिएन ।
२०३८ सालमा स्नातकोत्तर तहको अध्ययन सकेका नेता रावलले ३८ वर्ष पछि विद्यावारिधि गरे । ‘नेपालमा माओवादी विद्रोह र राजनीतिक हिंसा’ शीर्षकमा उनले विद्यावारिधी गरेका हुन् । नेपाली राजनीतिमा धेरै नेताहरू पढेलेखेका छैनन् । यसर्थ ढल्कदो उमेर र अति व्यस्त समयमा पनि उनले आफ्नो प्राज्ञिक क्षेत्रलाई अगाडि बढाउनु प्रेरणादायी छ । सौभाग्यवस उनको पीएचडी. ‘भाइवा’ को दिन म पनि बस्न पाएको थिएँ । त्यो दिनको उनको प्रस्तुति र आफूले अध्ययन गरेको विषयमा गरेको डिफेन्सले असाध्यै खुसी लागेको थियो । १५/१६ जना धुरन्धर विद्वान प्रोफेसरहरूले राखेको जिज्ञासा, प्रश्नमा जसरी उनले प्रष्ट पारे, त्यसलाई म मात्र होइन, त्यहाँ भएका सबैजना प्रोफेसरहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
रावलले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता, राष्ट्रियताको पक्षमा सँधै दृढ वकालत गर्दै आएका छन् । चाहे त्यो एमसीसीको सन्दर्भमा होस्, लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भारतद्धारा अतिक्रमित भूभागको बारेमा होस, आइफा अवार्डको बारेमा होस, तरकारीको विषादी परिक्षणमा होस, होलीवाईन प्रकरण होस, संयुक्त सैन्य अभ्यासको विरोध होस, नागरिकता विधेयक सम्बन्धी होस्, सिके राउत–सरकार सम्झौतामा होस, आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रिय स्वार्थमा उनले आफूलाई उभ्याए । त्यसैले त उनी सुदूरपश्चिमका मात्र होइन, देशभरिका इमान्दार नेता, कार्यकर्ता र स्वाभिमानी जनताको बीचमा लोकप्रिय छन् ।
डा. रावलका सम्पूर्ण सवलताको चर्चा गरिसके पछि अब केही उनका कमजोरीहरूका बारेमा खुलस्त पार्नैपर्छ । धेरै कार्यकर्ताहरूले उनलाई अलि कडा स्वभावको नेता भनेर चिन्छन् । कार्यकर्तासँग एकदमै छोटो कुरा गर्छन् । औपचारिक रूपमा प्रस्तुत हुन्छन् ।
आजभोलि उनका बारेमा सामाजिक सञ्जाल लगायत आमसमुदायमा प्रश्नचिन्ह खडा भएका छन् । कतिपयले उनलाई दम्भी नेताको रूपमा, आफ्नो व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने नेताको रूपमा, आफ्ना प्रतिष्पर्धी नेताहरूलाई सिध्याउने नेताको रूपमा, आफ्नो पद प्राप्तिको लागि मात्र राष्ट्रियताको आवाज बुलन्द गर्ने नेताको रूपमा पनि चित्रण गर्न थालेका छन् ।
खैर जेसुकै होस, नेता रावलले यो देशको नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो बलियो मत थियो । तर जब उनले ओली प्रवृत्तिसँग जसरी अंकमाल गर्न पुगे, सेयरबजार ओरालो लागेजस्तै उनको लोकप्रियता पनि ओरालो लागेको छ । १० बुँदे भन्दाभन्दै एमालेको महाधिवेशन आउन थालिसक्यो । आफुलाई सुदूरपश्चिमको संयोजक देउ भन्दाभन्दै ओलीले ‘धेरै नकराऊ’ भनेर हेप्न थालिसके । पार्टीभित्र बिधि पद्दतिको कुरा गर्न खोज्दा ‘दश बुँदे कार्यान्वयन गर’ भन्दा धेरै टयाउँटयाउँ नगर भन्दै ओलीले हप्काउन थालेको देख्दा यो पंक्तिकारको मन दुखिरहेको छ । आम सुदूरपश्चिमवासीको मन पनि दुखिरहेको छ ।
कुनै बेला रावल ओलीकोअगाडि बाघजस्ता थिए । आम जनसमुदायका जनप्रिय, राष्ट्रवादी देशभक्ति नेताका रूपमा परिचित थिए । तर आजभोली निरीह प्राणी जस्तो भएको देख्दा चिन्ता लाग्न थालेको छ । त्यस्तो क्रान्तिकारी हक्की स्वभावको नेता कसरी ओलीको दबदबा सहेर बस्न सकिरहेका होलान् ? नेकपा (एमाले) पार्टीमै बसेर उनलाई ओलीले कुनै महत्व दिने छैनन् । एमालेमा रावलको राजनीतिलाई टुक्रा-टुक्रा पारिन्छ जसरि माछालाई जालमा पारिसकेपछि टुक्रा पारिन्छ त्यसैगरी नेकपा एमालेमै रावललाई राखिसकेपछि रावलको राजनीतिलाई पनि टुक्रा-टुक्रा पारिन्छ भनेर ओलीले आफ्ना गुटका सुदूरपश्चिमका नेता-कार्यकर्तालाई धेरैपटक भनेको हामीले सुनेका थियौं । तपाईं अझै कन्फ्युज नहुनुहोस् कि ओली प्रवृत्तिलाई करेक्सन गरेर नेकपा (एमाले) पार्टीलाई राम्रो पार्टी बनाउन सकिन्छ भनेर । तपाई अझै ढुक्क नहुनुहोस कि महाधिवेशनमा उपाध्यक्ष भइन्छ भनेर ।
तपाईंलाई ओलीले हरहालतमा रोक्ने प्रयास गर्नेछन् । भइरहेको सुदूरपश्चिमको संयोजक पद त तपाईलाई हुन दिँदैनन् भने के महाधिवेशनबाट पार्टीको अध्यक्ष, महासचिव बन्न दिन्छन् त ?
कुनै कन्फ्युजनमा नपरी जसरी आजसम्म तपाईको क्रान्तिकारी स्वभाव छ त्यही स्वभावको स्परीटमा ओलीसँग बिद्रोह गर्नुस । हाम्रो यति शुभकामना छ । हैन फेरी पनि एमाले पार्टी र सुर्य चिन्ह छाड्न सकिन्न भने हाम्रो भन्नु केही छैन । तर तपाईले त्यसपछि क्रान्तिकारी आवाज उठाउँदा आम जनसमुदायको बिचमा भद्दा हुन सक्छ । एउटा सामान्य परिवारदेखि राष्ट्रको उपप्रधानमन्त्रीसम्म र शिक्षाको हिसाबमा विद्यावारिधीसम्मको यात्रा पूरा गरिसक्नु भयो । यो भन्दा माथि जान अथवा देशको नेतृत्व गर्न तपाई कसैको अन्याय–अत्याचार सहेर वा गलत प्रवृत्तिको पक्षमा साक्षी बसेर हैन कि बिद्रोह गरेर नै अगाडि बढ्नुपर्छ ।
भीम रावल किन आज ओली प्रवृत्तिसँग झुकेर बस्न बाध्य भए ? यो पंक्तिकारको जिज्ञासा रहेको छ । माधव नेपाल लाइनको नेतृत्व गरी वार्ता टोलीका कमान्डर भएका रावलले किन केपि ओलीसँग सम्झौता गरे ? आफुलाई कारवाही गरेका बेला तुरुन्त पार्टी खोलौं भनेर तम्सिएका रावल एकाएक किन ओलीसँगै पार्टीमा रहे ? उनलाई कारवाही गरेका बेला ओली बेठिक, आजभोली कसरी ओली ठीक भए ? हिजो एमाले पार्टी पुरै गलत तरिकाले चल्यो भनेका रावलले आज एमाले पार्टी कसरी ठीक ढंगले चलेको ठहर्याए ?
१० बुँदे कार्यान्वयन माधव नेपालको लागि हो, तपाईंहरुको लागि हैन भनेर बारम्बार ओलीले भनिरहेका छन् भने भीम रावलले किन कुरा नबुझेका होलान् ? धेरै सार्वजनिक कार्यक्रमलगायत विभिन्न बैठकमा धेरैपटक १० बुँदे जस्ताको तस्तै लागू हुँदैन भनिसकेका छन् ओलीले । त्यति मात्र हैन, धेरैपटक पिलो निचोरेर फालिसके पनि खिल बाँकी छ भनेर कटाक्ष गरिरहेका छन् । यो रावल कमरेडले बुझेर पनि किन बुझपचाएका होलान् ? तर, अझै पनि आशा छ, रावल ओली प्रवृत्तिसँग झुक्ने छैनन् र बिद्रोह गरेर आफ्नो क्रान्तिकारी छविलाई पुनस्र्थापना गर्नेछन् ।
(लेखक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्)
दक्षिणपन्थीका भरिया माधव नेपाललाई आदर्श मानेर केपी ओली विरूद्ध भीमबहादुर रावललाई द्वन्द्व गर्न अर्थात् रावललाई प्रयोग गरेर एमालेमा फेरि अर्कों विभाजन गर्न सकिन्छ कि भनेर भण्डारीले आफ्नो विद्वता खर्चदै छन्। धिक्कार छ।