न्युजिल्यान्ड सेमिफाइनलमा, भारत विश्व कपबाट बाहिरियो
काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
न्युजिल्यान्डको यस जितसँगै उपाधि दाबेदार मानिएको भारत भने विश्व कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।
न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्यो ।
अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे ।
यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।