कतै सचिव कामविहीन, कतै मन्त्रालय सचिवविहीन – Nepal Press

कतै सचिव कामविहीन, कतै मन्त्रालय सचिवविहीन

प्रधानमन्त्री कार्यालयका सचिव हाजिर लगाउँदै फर्किँदै

काठमाडौं । गत असोज १६ गते बसेको मन्त्रीपरिषद वैठकले सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गर्‍याे । तर, सचिव नियुक्त भएको एक महिना नाघिसक्दा पनि उनले कुनै जिम्मेवारी पाएका छैनन् ।

सचिव पन्थलाई हाल प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अतिरिक्तमा राखिएको छ । त्यहाँ उनलाई बस्ने कार्यकक्षसमेत छैन । स्रोतका अनुसार उनी दैनिक हाजिर लगाउँछन् र घर फर्किन्छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँलाई बस्ने कुर्सीसम्म छैन । जिम्मेवारी पनि दिइएको छैन । त्यसैले उहाँ हाजिर लगाउने र जाने गर्दै आउनुभएको छ ।’

सचिव पन्थ आफुूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गर्दै आएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘म बढुवा भएदेखि प्रधानमन्त्री कार्यालयमा हाजिर भइरहेको छु । मुख्यसचिवले काम दिइरहनुभएको छ । दिएको जिम्मेवारी पूरा गर्दै आएको छु ।’

पन्थलाई प्रदेशमा पठाउने तयारी रहेको बुझिएको छ । तर, कुन प्रदेशमा पठाउने र कुन प्रदेशको प्रमुख सचिवलाई संघमा तान्ने भन्ने टुुंगिन नसक्दा एक महिनादेखि सचिव पन्थ कामविहिन छन् ।

खेलकुद मन्त्रालय सचिववहीन

प्रधानमन्त्री कार्यालयमा एक सचिवलाई जगेडामा राखिएकै बेला युवा तथा खेलकुद मन्त्रालय भने डेढ महिनादेखि सचिवविहीन छ । मन्त्रिपरिषद् बिस्तार भएको सोमबार ठीक एक महिना पुग्दासमेत युवा तथा खेलकुद मन्त्रालयले सचिव पाएको छैन ।

युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी महेश्वरजंग गहतराजले असोज २२ गते सम्हाल्नुअघि नै मन्त्रालय सचिवविहीन भएको थियो । तत्कालीन सो मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्री नियुक्त हुनु १० दिनअघि असोज १२ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसपछि मन्त्रालयका सहसचिव कमलप्रसाद पोख्रेलले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

युवा तथा खेलकुदमन्त्री गहतराजले जति सक्दो चाँडो सचिव ल्याउन ल्याउने तयारी भइरहेको नेपाल प्रेससँग बताए । सचिव नभएकै कारण मन्त्रालयमा कुनै समस्या भने नपरेको उनको दावी छ ।

मन्त्री गहतराजले नेपाल प्रेससँग भने, ‘सचिव नभएकै कारणले काम गर्न कुनै समस्या छैन । मन्त्रालयका सहसचिव कमलप्रसाद पोख्रेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ । उहाँले आफ्नो महाशाखा पनि हेरिरहनुभएको छ र सिंगो मन्त्रालय पनि हेरिरहनुभएको छ ।’

दशै–तिहारका कारण सबै सचिव नियुक्तिमा ढिला भएको उनले बताए । अब बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालयमा सचिवबारे आफूले प्रस्ताव राख्ने मन्त्री गहतराजले जानकारी दिए ।

मन्त्रालयमा सचिव नहुँदा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिको प्रक्रिया पनि ढिला भइरहेको छ । खुल्ला प्रक्रियाबाट नयाँ सदस्यसचिव नियुक्ति गर्दा सचिव अनिवार्य हुनुपर्ने व्यवस्था भएकाले सदस्यसचिव नियुक्ति प्रक्रियामा ढिला भएको मन्त्री गहतराजले नै स्वीकार गरेका छन् । सरकारले असोज ३१ गते राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो ।

सचिवहरुको कसरत

युवा तथा खेलकुद मन्त्रालयमा आउनका लागि प्रदेशमा रहेका सचिवहरु कसरत गरिरहेका छन् । वरिष्ठताका आधारमा गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी संघमा आउने लाइनमा भए पनि यसअघि सचिव बढुवा हुने क्रममा युवा तथा खेलकुद मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा रहेका सचिव मधुसुदन बुर्लाकोटी पनि उक्त मन्त्रालयमा आउनका लागि कसरत गरिरहेका छन् ।

गत असार १७ गतेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव रेग्मीलाई सहसचिवबाट बढुवा गर्ने निर्णय गरेको थियो । रेग्मीभन्दा कनिष्ठ सचिव कृष्णहरी पुष्कर प्रदेशमा नगएर सिधै राजस्व सचिवमा पदस्थापन भइसकेका छन् । यस्तै, गणेशप्रसाद पाण्डे कर्णाली प्रदेशबाट एक महिनाअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा सरुवा भएर आइसकेका छन् ।

पाण्डे, प्राविधिक तर्फका सचिव डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यसँगै सचिवमा बढुवा भएका थिए । प्राविधिकतर्फ प्रदेशमा सचिवको दरबन्दी नभएकाले दुवैजना संघमा नै पदस्थापन भएका थिए ।

यस्तै असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव मधुसुधन बुर्लाकोटीलाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको थियो । उनी पनि संघमा रहेको युवा तथा खेलकुद मन्त्रालय आउने कसरतमा लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर