तीन महिनामा अधिकृतदेखि सचिवसम्म ९९ कर्मचारीको बढुवा, अधिकृतबाट उपसचिव हुने धेरै – Nepal Press

तीन महिनामा अधिकृतदेखि सचिवसम्म ९९ कर्मचारीको बढुवा, अधिकृतबाट उपसचिव हुने धेरै

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा अधिकृतदेखि सचिवसम्म ९९ जना कर्मचारी बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म बढुवा हुने कर्मचारीमा सबैभन्दा बढी अधिकृतबाट उपसचिवमा ५० जना बढुवा भएका छन् ।

दोस्रोमा नायव सुब्बाबाट शाखा अधिकृतमा ३६ जना बढुवा भएका छन् भने सह–सचिवबाट सचिवमा ८ जना र उपसचिवबाट सह–सचिवमा पाँच जना बढुवा भएको मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव वसन्त अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार सचिवमा सह–सचिवबाट प्रशासन सेवातर्फ पाँच जना बढुवा भएका छन् भने एक÷एक जना कृषि वन सेवा, इन्जिनियरिङ सेवा र स्वास्थ्य सेवामा बढुवा भएका छन् ।

सह–सचिवबाट सचिवमा बढुवा गर्नका लागि बढुवा समितिका १६ वटा बैठक बसेका थिए । बैठकले ४४ जना उम्मेदवारबाट सचिव बढुवा गर्नका लागि २२ जना सह–सचिवको नाम सिफारिस गरेको थियो । एक सचिव सिफारिस गर्दा तीन सह–सचिवको नाम सिफारिस गर्नुपर्ने व्यवस्थाअनुसार बढुवा समितिले २२ जनाको नाम सिफारिस गरेको हो ।

यस्तै उपसचिवबाट सहसचिवमा पाँचजना बढुवा हुँदा शिक्षा सेवातर्फ तीन जना र कृषि सेवातर्फ दुईजना बढुवा भएका छन् । पाँचजनालाई बढुवा गर्नका लागि आठ वटा बढुवा समितिका बैठक बसेका थिए । त्यसका लागि ३७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

शाखा अधिकृतबाट उपसचिवमा ५० जना बढुवा हुँदा सबैभन्दा बढी इन्जिनियरिङ सेवातर्फ ३२ जना, कृषि सेवातर्फ १२ जना र वन सेवातर्फ ६ जना बढुवा भएका छन् । त्यसका लागि बढुवा समितिका ६२ वटा बैठक बसेका थिए । जसमा एक सय ७७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

यस्तै नायव सुब्बाबाट शाखा अधिकृतमा ३६ जना बढुवा हुँदा सबैभन्दा बढी प्रशासन सेवातर्फ (राजस्व)मा ३३ जना र विविधतर्फ तीनजना बढुवा भएका छन् । त्यसका लागि पाँच वटा बैठक बसेका थिए । जसमा ७१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर