जनगणनाः विगतबाट सिक्नुपर्ने सत्य र प्रभावकारिताको प्रश्न – Nepal Press

जनगणनाः विगतबाट सिक्नुपर्ने सत्य र प्रभावकारिताको प्रश्न

नेपालमा अहिले १२ औं जनगणना भइरहेको छ । जारी जनगणना गत जेठ-असार महिनामा हुनुपर्ने थियो । तर कोरोना महामारीका कारण हुन सकेन । केही महिनाका लागि मात्र स्थगित गरेर हामीले जनगणना गर्न सक्यौं । यो खुशीको कुरा हो । किनकि जनगणनाको वर्षै फरक परी समय अन्तराल लामो भएको भए हामीलाई तथ्यांकको तुलनात्मक अध्ययनमा असहज हुने थियो ।

अहिलेको जनगणनामा केही नयाँ प्रश्नहरु थपिएका छन् भने केही प्रश्न परिमार्जन गरिएका छन् । मुख्य रुपमा यसपालिको नयाँ प्रश्नावली भनेको सामुदायिक प्रश्नावली हो । संसारभर जनगणना गर्दा अन्तर्राष्ट्रिय मान्यता पाउने गरी कसरी गर्ने, के गर्ने, के कुरालाई विचार गर्ने भन्ने कुरालाई समेटेर संयुक्त राष्ट्रसंघले निर्देशिका तयार गरेको हुन्छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ मा प्रकाशन गरेको निर्देशिकाका आधारमा संसारभर जनगणना गरिन्छ । नेपालमा पनि यसै आधारमा जनगणनाका विधि र पद्धतिहरु तयार गरिएका छन् ।

नेपालमा संसारकै लामो प्रश्नावली

हाम्रोमा अहिले जनसंख्यासम्बन्धी विस्तृत विवरण संकलन गर्न लगभग ८० वटा जनगणनाका प्रश्नावलीहरु तयार गरिएको छ । यसलाई राम्रोसँग उत्तरदाताकहाँबाट भरेर ल्याउन सकियो भने देशका विविध विषयका विस्तृत तथ्यांकहरु आउन सक्नेछन् ।

नेपालको जनगणनाको प्रश्नावली संसारकै लामोमध्ये पर्दछ । यसअघि २०६८ को जनगणनामा ५० वटा प्रश्नावली थिए भने अहिले ८० वटा छन् ।

अर्कोकुरा यसपालिको जनगणनामा सबै प्रश्न सबै घरमा सोध्नु पर्दछ । त्यसले गर्दा गणक र उत्तरदाता दुवैमा धैर्यता आवश्यक छ । सोधिएका सबै प्रश्नको उत्तर ठिकसँग आयो भने त्यो धेरै राम्रो हुन्छ ।

धेरै र लामा प्रश्नावली हुँदाको जोखिम के हो भने उत्तरदाताले दिक्दारी मान्न सक्छन् । समय नदिन सक्छन् । अर्कोतिर मानिसले अति गोप्य ठानेका र संवेदनशील कुरा जनगणनामा सोधियो भने उत्तर दिन अनिच्छुक हुन सक्दछन । यसले समग्र प्रश्नको उत्तर नै सही ढंगले नआउने खतरा पनि रहन्छ ।

समग्रमा यसपालि जनगणनाका प्रश्नावली लामा छन् तर सबै प्रश्नको तथ्यपरक उत्तर आयो भने हामीले अत्याधिक तथ्यांक प्राप्त गर्न सक्नेछौ ।

जनगणनामा अण्डर र ओभर काउण्ट कसरी हुन्छ ?

जनगणना आफैंमा पूर्णगणना गर्ने पद्दति वा प्रक्रिया हो । मूलतः सबै घरपरिवारमा जाने र विस्तृत रुपमा जानकारी लिने भन्ने कुरा हो । तर कहिले भएभन्दा बढी गणना हुने(ओभर काउन्ट) र कहिले भएभन्दा न्यून गणना हुने (अण्डर काउन्ट) हुनसक्ने सम्भावना रहन्छ ।

सूचीकरणका बेला सबै घरपरिवारहरुको विवरण विभिन्न कारणले आउन सकेन अर्थात छुट्यो भने न्यून गणना हुनसक्ने हुन्छ । न्यून गणनाको कारणमध्येमा एउटा महत्वपूर्ण कारण चाहीं त्रुटिपूर्ण गणना क्षेत्र नक्सा पनि एक हो । उक्त नक्सा एकदमै स्पष्ट हुनुपर्छ, जसमा एउटा गणकका लागि लगभग २०० घरपरिवार समेटिएको एउटा क्षेत्र हुन्छ । त्यहीं नक्साको आधारमा गणना गर्न पठाइन्छ । गणकलाई त्यो क्षेत्र भित्र गएर पूर्ण गणना गरेर आउनू भनेर पठाइएको हुन्छ ।

यदि गणना नक्सा ठीक छैन भने त्यहाँ गणना छुट्ने (अण्डर काउन्ट) हुन्छ । त्यसैगरी नक्सामा एउटै घर अथवा टोली दुईतिर परेको रहेछ भने वास्तविक भन्दा बढी गणना हुनसक्ने (ओभर काउन्ट)को खतरा हुन्छ ।

जस्तै– एउटा घरमा पहिलो गणक जाँदा परिवारको एकजना सदस्यले उत्तर दिएको र अर्कोपटक अर्को गणक जाँदा अर्को सदस्यले उत्तर दियो भने ओभर काउन्ट हुन्छ । अर्को गणकहरुले राम्रोसँग काम गरिदिएनन् र सुपरीवेक्षण राम्रोसँग हुन सकेन भने गणना छुट्न सक्दछ ।

काठमाडौं जस्ता सहरी क्षेत्रमा बसोबासको ढाँचा त्यति व्यवस्थित छैन । जस्तोः एउटा अपार्टमेन्ट वा घरमा कतिवटा परिवार बसेका छन् भनेर ठ्याक्कै गणना गर्न सकिँदैन । त्यसैले घरमा पुगेर गणकले एकदमै राम्रोसँग सोधेर घरधनीलाई विश्वस्त पारेर गणना गर्नुपर्ने हुन्छ ।

खासगरी सहरी क्षेत्रहरुमा अव्यवस्थित बसोबास भएको हिसाबले एउटै घरभित्र पनि धेरै परिवार हुनसक्ने सम्भावना भएकोले पनि गणना छुट्नसक्ने सम्भावना रहन्छ । यसका लागि घरधनी तथा बहालमा बस्ने व्यक्तिहरुलाई जनगणनाको प्रयोजनका बारेमा राम्ररी बुझाएर पहिले विश्वासमा लिन आवश्यक हुन्छ । जनगणनाको बारेमा सञ्चारमाध्यमहरुको प्रयोग पनि व्यापक र प्रभावकारी रुपमा गरिनु पर्दछ ।

गणनामा हुने गल्ती कसरी कम गर्ने ?

संयुक्त राष्ट्रसंघले तयार गरेको निर्देशिकाअनुसार जनगणनापछि यसको विश्वसनीयता जाँच्न एउटा सर्भे गर्नुपर्दछ । त्यो सर्भेले मुख्यत दुईवटा कुरा हेर्छ । एउटा छुटेको घरपरिवारको मात्रा अर्थात् सबै घरपरिवार जनगणनामा समेटिए कि समेटिएनन् भन्ने कुरा । किनभने जनगणना भनेको पूर्णगणना हो । त्यसैले त्यो पूरा भयो कि भएन भनेर हेर्ने कुरा हुन्छ । अनि त्यो कभरेज चाहीँ कति, के दरमा, कति मात्रामा, कति छ ? भन्ने कुरा हेरिन्छ ।

अर्को चाहिँ सोधिएको प्रश्नको उत्तर कति ठीक छ वा छैन, पूरा प्रश्नको उत्तर आएको छ कि छैन भन्ने कुरा हेर्ने विषयवस्तु परीक्षण गर्ने कुरा गणनापश्चात सर्भेक्षणबाट गरिन्छ ।

गणनामा गल्ती कम गर्नका लागि गणकलाई सघन तालिम दिनुपर्‍याे । अर्को कुरा सुपरीवेक्षणको उपुक्त व्यवस्था गर्नुपर्दछ । यसमा जनगणना राम्रोसँग भयो कि भएन भनेर हेर्ने सुपरीवेक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।

गणना गरेको बेला मुख्य गरेर सबै नियम पूर्णगणना भयो कि भएन भन्ने कुरा नै आधारभूत कुरा हो । जनगणनाको योजना निर्माणदेखि गणना नसकेसम्म हरेक चरणमा केही न केही गल्ती हुनसक्छ । गणनाको बेलामै गल्ती सुधार्नका लागि प्रयास गरी सहीरुपमा गणना भएको कुरामा विश्वस्त हुनु पर्दछ ।

गणकः पहिला शिक्षक, अहिले स्नातक गरेका युवा

अहिलेका गणना अधिकारीहरुको तर्क छ– फ्रेस र युवा जनशक्तिले राम्रोसँग काम गर्न सक्छन् । उनीहरुको क्षमता राम्रो हुन्छ ।

पहिला शिक्षकहरु नै गणक हुन्थे । शिक्षकहरुको पढाउने काममा असर हुने भएकोले अहिले स्नातक गरेका युवाहरुलाई रोजगारी पनि हुन्छ भन्ने मान्यताका साथ गणक र सुपरीवेक्षकको रुपमा उनीहरुलाई प्रयोग गरिएको हो । जनगणनाको सफलता र यसको गुणस्तरले यो निर्णयको औचित्यतालाई निर्धारण गर्दछ । यसबारेमा अहिलेनै यसै भन्न सकिँदैन ।

जनगणनाको विकल्प के हो ?

संसारमा जनगणना विभिन्न किसिमले गरिन्छ । खासगरी अहिले धेरै नयाँ प्रविधि आएको छ । जस्तैः तथ्यांक संकलन गर्ने पनि विभिन्न प्रविधिहरु आएका छन् ।

जनगणना गर्ने विधि, तरिकाहरुमा पनि विविधता पाइन्छ । जनगणना तथ्यांक संकलनको सबभन्दा ठूलो कार्यक्रम हो र नेपाल सरकारको पनि एउटा ठूलो जिम्मेवारी हो । त्यसैले यसमा धेरै ठूलो खर्च छ । यसमा मानवीय स्रोतदेखि आर्थिक स्रोतकोे कुरा छ । यसलाई कसरी विश्वसनीय बनाउने, कसरी कम खर्चिलो बनाउने र गुणात्मक तथ्यांक ल्याउने भन्ने कुरा अहम् हुन्छ ।

विगतमा परम्परागत जनगणनामा जानैपथ्र्यो र अरु विकल्प पनि थिएनन् तर आजको सन्दर्भ फरक भइसकेको छ । अहिले जनगणना कम खर्चिलो र प्रभावकारी बनाउने विभिन्न विकल्प आइसकेका छन् ।

जनगणनामा सामान्यतया १० वर्षको अन्तरालमा गरिन्छ । यसैको आधारमा विभिन्न योजना र कार्यक्रम तर्जुमा गरिन्छ । हरेक कुराहरु तथ्य र प्रमाणमा आधारित हुन आवश्यक हुन्छ । त्यसैले अध्यावधिक र समयसामयिक तथ्यांक ल्याउन एकदमै जरुरी छ ।

यी सबै कुरा विचार गरेर परम्परागत जनगणनामा परिवर्तन ल्याउन आवश्यक छ । विभिन्न देशहरुले नयाँ प्रविधिको प्रयोग गरेर जनगणना गर्ने अभ्यास गरिसकेका छन् ।

कतिपय देशहरुले सफलतापूर्वक नयाँ वैकल्पिक उपाय अपनाइ रहेका छन् । जनगणनाका विभिन्न विकल्पमध्ये जनसंख्या रजिष्टर एक हो । तर यो पनि एकैचोटी र आजको भोलि परिवर्तन हुँदैन । यसको लागि दशकौं तयारी गर्नु पर्ने हुन्छ । यो तरिकालाई विस्थापन गर्नको लागि कम्तिमा एक दशक काम गर्नुपर्दछ । त्यो काम गर्ने बेला अब आएको हो कि !

भारतमा पनि जनसंख्या रजिष्टर सन् २०११ मा सुरु गरिएको थियो । जनगणना गरेको बेलामा जनसंख्या रजिष्टर तयार गर्ने गरिन्छ । यसरी रजिष्टर तयार गर्दा पनि गोपनियतालाई ख्याल गर्नुपर्दछ, जुन कुरा आधिकारिक तथ्यांकको एक प्रमुख विशेषता पनि हो । ं

व्यक्तिगत तहको तथ्यांक जहिले पनि गोप्य राखिनु पर्दछ भन्ने मान्यता छ । आधिकारिक तथ्यांकको आधारभूत सिद्दान्तले पनि यो विषयलाई विशेष जोड दिएको छ ।

अतः तथ्यांकको गोपनियतालाई व्यवहारमा कार्यान्वयन गर्न तथ्यांक ऐनलाई पनि उत्तिकै महत्वका साथ कार्यान्वयन गरी नागरिकको व्यक्तिगत स्वतन्त्रताको रक्षा गरिनु पर्दछ । आवश्यक परे वर्तमान ऐनमा संसोधन गर्नुपर्दछ ।

जनसंख्या रजिष्टरमा विवरणहरु सीमित हुन्छन् । यसलाई पूरा गरी आवश्यक विस्तृत विवरण प्राप्त गर्न आवधिक छनौट सर्भेक्षण, नागरिक दर्ता प्रणाली र अन्य सान्दर्भिक प्रशासनिक रेकर्डहरुको समुचित व्यवस्था एवम् प्रयोग हुन आवश्यक पर्दछ ।

(लेखक सुवाल केन्द्रीय तथ्यांक विभागका पूर्वनिर्देशक हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *