एसएसबीकाे टाेली नेपाल पसेर नेपाली भूमीको नापजाँच – Nepal Press

एसएसबीकाे टाेली नेपाल पसेर नेपाली भूमीको नापजाँच

रुपन्देही । पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिकामा भारतीय सुरक्षाकर्मी एसएसवीले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरी भूमिको नापजाँच गरेका छन्।

नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्तामा आइतबार भारतीय सुरक्षा बल एसएसबीको एउटा टुकडी हतियारसहित अनधिकृत रुपमा प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताए।

भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेर नेपाल तर्फको सुस्ताको भूभाग फित्ताले नापजाँच गरेको र नेपाली भूमिबाट भारतीय सुरक्षा फौजले ड्रोनसमेत उडाएको सुस्ताका स्थानीयवासी कैलन हरिजनले जानकारी दिए ।

करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दुरीमा आएर नेपाली भूमिको नापजाँच गरेका थिए । यो घटनाको जानकारी स्थानीयवासीले सुस्तास्थित सुरक्षा पोष्टमा गराइएको थियो ।

स्थानीयवासीले तत्काल नेपाली सुरक्षा कर्मीलाई सूचना गरे पनि माथिल्लो निकायमा सूचना दिने भन्दै अलमल गरेर धेरै समयपछि मात्र पुग्दा एसएसबीका जवानहरु त्यहाँबाट गइसकेका थिए ।

स्थानीयवासीले भारतीय एसएसबी नेपाली भूमिमा पसेको खबर पाएको भए पनि आधिकारिक रुपमा पुष्टि हुन नसकेकाले सो बारेमा थप बुझ्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा कर्मीको टोली घटनास्थलतर्फ हिँडेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए।

गत वर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भूभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेकोमा अहिले नापजाँच गर्ने फित्ता र रजिस्टार बुक लिएर सुस्तामा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नेपाली पक्षले प्रभावकारी तरिकाले प्रतिवाद नगरेको भन्दै केही स्थानियवासीले दुःख व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *