सुनसरी एमालेमा सहमतिः दुवै समानान्तर समिति मर्ज, पोखरेल नयाँ अध्यक्ष – Nepal Press

सुनसरी एमालेमा सहमतिः दुवै समानान्तर समिति मर्ज, पोखरेल नयाँ अध्यक्ष

इटहरी । सुनसरीमा नेकपा एमाले भित्र उत्पन्न भएको विवाद समाधान भएको छ । दुवै समानान्तर समिति मर्ज भएर खेमराज पोखरेलको अध्यक्षतामा नयाँ जिल्ला समिति बनाइने भएको छ । सुनसरीमा एमालेका दुईवटा समानान्तर समिति अस्तित्वमा थिए ।

रेवतिरमण भण्डारी नेतृत्वको कमिटी २०७७ फागुन एक गतेमा बनेको हो भने नेकपा एकता अगाडिको रमेश बस्नेत नेतृत्वको समिति पनि व्यूतिएकाे थियो । तर, गत कात्तिक ८ गते केन्द्रबाट आएको पत्रले भने नयाँ दिशानिर्देश गर्यो । एमालेको कार्यदलका संयोजक सुभाष नेम्बाङ र सदस्य भीम आचार्यको हस्ताक्षरमा पत्र रमेश बस्नेतलाई पत्र आएको थियो ।

‘निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा’ भन्दै आएको पत्रमा बस्नेतको नेतृत्वमा जिल्ला अधिवेसन आयोजक कमिटी बनाउन निर्देश गरिएको थियो । सहसंयोजकमा नन्दकुमार बस्नेत र निलम खनाल, सचिवमा पर्शुराम यादव र उपसचिवमा लिलम बस्नेत रहने तथा सदस्यमा दुवै जिल्ला कमिटीका सदस्य रहने पत्रमा उल्लेख थियो ।

यस्तै आगामी पौष महिनाभित्र जिल्ला अधिवेसन आयोजना गर्ने नेताद्वयले निर्देशन दिएका थिए । मातहतका कमिटी मिलाउन धर्म निरौला संयोजक र भगवती चौधरी, जगदिस कुसियैत, तैयब हुसेन, रेवती भन्डारी, रमेश बस्नेत र मुरारी सुवेदी सदस्य भएको कार्यदल बनाउन समेत पत्रमा भनिएको थियो । सो पत्र आएपछि जिल्लामा दुई समानान्तर कमिटी भंग गर्न बाटो खुलेको हो ।

यसअनुसार दुवै कमिटीका अध्यक्ष जिल्ला कमिटीको भूमिकाबाट विदा हुँदैछन् भने भोली खेमराम पोखरेल नेतृत्वमा नयाँ जिल्ला कमिटी बन्ने भएको छ । पोखरेल २०५४ सालको चुनावबाट सुनसरी सदरमुकाम इनरुवाको मेयर निर्वाचित भएका थिए । इनरुवाका रैथाने र प्रदेश कमिटीका सिनियर नेता पोखरेल अध्यक्ष भएको कमिटीमा नन्द बस्नेत र निलम खनाल उपाध्यक्ष हुनेछन् ।

यस्तै, पर्शुराम यादव र सत्रुधन यादव सचिव तथा लिलम बस्नेत बन्ने तय भएको छ । दुवै कमिटीका सदस्यलाई अधिवेशन आयोजक कमिटीमा स्थान दिइएको छ । इनरुवाको सखुवागाछीको पार्टी प्यालेसमा भोली ११ बजे हुने भेलाले नयाँ कमिटी चयन गर्ने तत्कालीन संविधानसभाका सदस्य समेत रहेका रेवती भण्डारीले बताए ।

उनले भने, ‘जिल्लाका सानातिना समस्या समाधान गर्न यो निकास निकालिएको हो । अध्यक्षमा खेमराज पोखरेलको प्रस्ताव मेरो पनि हो ।’ जिल्लाका दुई कमिटी हटेपछि पालीकाको स्वतः हट्ने एमाले सुनसरीका युवा नेता जिबी गजलले बताए । उनले भने, ‘भोली दुई कमिटी एक भएर सबैले साझा सपथ खाएपछि सबै दुई कमिटि एक हुनेछन् ।’

भोलीबाट औपचारिक अध्यक्ष हुने खेमराज पोखरेलले आफ्नो चाहनाले नभएर परिस्थितिले अध्यक्ष भएको बताए । ‘दुवै कमिटीका अध्यक्षले एक अर्कालाई अस्विकार गरेपछि तेस्राे विकल्प सर्वसम्मतमा मेरो नाम आएको हो,’ रेवती भण्डारी अध्यक्ष हुँदा धरानमा भएको जिल्ला अधिबेशनमा उपाध्यक्ष भएका पोखरेलले भने, ‘जिल्ला कमिटिसँगै अरु तल्ला कमिटि अब मिल्नेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर