एमाले रुपन्देहीले कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा एकसाथ प्रतिनिधि छान्ने – Nepal Press

एमाले रुपन्देहीले कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा एकसाथ प्रतिनिधि छान्ने

रुपन्देही । नेकपा एमाले रुपन्देहीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यही कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भएको छ ।

एमाले जिल्ला कमिटी रुपन्देहीको बैठकले जिल्लाका १६ हजार ३१० जना पार्टी सदस्यहरुको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्लास्तरमा प्रतिनिधि छनोटको प्रकृया एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।

सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरु र पालिका पदाधिकारी समेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्नसमेत निर्देशन दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले मुलुकको सबैभन्दा सशक्त पार्टी एमाले हो भन्ने कुराको पुष्टि वडा र पालिका अधिवेशनले गरेको बताए ।

तोकिएकै समयमा वडा र पालिका स्तरका कमिटीहरुका अधिंकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरी सभ्य र भब्य रुपमा अधिवेशन सम्पन्न गरेर पार्टी एकतावद्ध रहेको प्रमाणित भएको पनि उनले बताए । उनले आगामी मुख्य कार्यभारका रुपमा महाधिवेशन सम्पन्न गर्नु र एमालेको आन्तरिक एकतालाई अझ मजबुद भएको प्रमाणित गरेर देखाउनुपर्ने बताए ।

बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपाने, सहइन्चार्ज एकराज बिश्वकर्मालगायतले पनि बोलेका थिए । बैठकले बेमौसमी वर्षाका कारण रुपन्देहीमा धानवाली नष्ट भई किसानहरु मर्कामा परेकाले त्यसको यथार्थ विवरण संकलन गरी उचित राहत र क्षतिपूर्ति दिन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर