एमाले रुपन्देहीले २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छान्ने
रुपन्देही । नेकपा एमाले रुपन्देहीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यहीं कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भएको छ ।
एमाले जिल्ला कमिटी रुपन्देहीको बैठकले जिल्लाका १६ हजार ३१० जना पार्टी सदस्यहरुको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्लास्तरमा प्रतिनिधि छनौटको प्रकृया एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।
सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरु र पालिका पदाधिकारीसमेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्नसमेत निर्देशन दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले मुलुकको सबैभन्दा सशक्त पार्टी एमाले हो भन्ने कुराको पुष्टि वडा र पालिका अधिवेशनले गरेको बताए ।
तोकिएकै समयमा वडा र पालिकास्तरका कमिटीहरुका अधिकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरी सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न गरेर पार्टी एकतावद्ध रहेको प्रमाणित भएको पनि उनले बताए । उनले आगामी मुख्य कार्यभारका रुपमा महाधिवेशन सम्पन्न गर्नु र एमालेको आन्तरिक एकतालाई अझ मजबुद भएको प्रमाणित गरेर देखाउनुपर्ने बताए ।
बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपाने, सहइन्चार्ज एकराज बिश्वकर्मालगायतले भनाइ राखेका थिए । बैठकले बेमौसमी वर्षाका कारण रुपन्देहीमा धानबाली नष्ट भइ किसानहरु मर्कामा परेकाले त्यसको यथार्थ विवरण संकलन गरी उचित राहत र क्षतिपूर्ति दिन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।