परराष्ट्रमन्त्री-चिनियाँ राजदूत भेटवार्ता : नेपाली विद्यार्थीलाई फिर्ता जान दिन चीनसँग आग्रह – Nepal Press

परराष्ट्रमन्त्री-चिनियाँ राजदूत भेटवार्ता : नेपाली विद्यार्थीलाई फिर्ता जान दिन चीनसँग आग्रह

काठमाडौं । कोरोना महामारीले रोकिएका नेपाली विद्यार्थीलाई चीन फिर्ता पठाउनेबारे परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ राजदूत होउ यान्छीबीच आज छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयमा भेटको द्धिपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले जतिसक्दो चाँडो नेपाली विद्यार्थीलाई चीन जान अनुमति दिन आग्रह गरेका थिए । जवाफमा राजदूत यान्छीले चीनले यसबारे गम्भिरतासँग पहल गरिरहेको जवाफ दिएकी थिइन् ।

द्धिपक्षीय चासोका अन्य विषयमा समेत मन्त्री खड्का र राजदूतबीच छलफल भएको परराष्ट्रले जनाएको छ । कोरोना महामारीको अघिल्लो लहरमा चीनबाट नेपाल फर्किएका विद्यार्थीलाई फर्कन चीनले अनुमति नदिँदा इन्टर्न लगायतका कार्यबाट विद्यार्थी बञ्चित भएका छन् ।

जसले गर्दा नेपाली विद्यार्थीको शैत्रिक सत्र र प्रमाणपत्र नै गुम्ने जोखिम बढेको छ । तत्कालिन राजदूत महेन्द्रबहादुर पाण्डेयले पनि बेइजिङमा विदेशमन्त्री वाङ यीलाई पनि नेपाली विद्यार्थीलाई चीन आउन दिन आग्रह गरेका थिए । चीनले सकारात्मक जवाफ दिएपनि यसबारे कुनै प्रगति भएको छैन ।

आफूहरुलाई चीन जान अनुमति दिनुपर्ने माग गर्दै नेपाली विद्यार्थीले काठमाडौंमा समेत प्रदर्शन गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर