उपभोक्ता समिति विवादः मन्त्री झाँक्रीको निर्णय अवज्ञा गर्ने नगरपालिका संघको आह्वान – Nepal Press

उपभोक्ता समिति विवादः मन्त्री झाँक्रीको निर्णय अवज्ञा गर्ने नगरपालिका संघको आह्वान

काठमाडौं । नेपाल नगरपालिका संघले उपभोक्ता संघमार्फत गरिने सबै खरिद कार्यहरु तत्काल रोक्न शहरी विकास मन्त्रालयले गरेको निर्णय अवज्ञा गर्ने भएको छ । संघले एक विज्ञप्ति जारी गरी देशका सम्पूर्ण नगरपालिकाहरुलाई सो निर्णय कार्यान्वयन नगर्न आह्वान गरेको छ ।

संघका अध्यक्ष अशोककुमार व्यञ्जुले एक विज्ञप्ति जारी गरी सो आह्वान गरेका हुन् । उक्त निर्णय तत्काल सच्याई नागरिकको लोकतान्त्रिक अधिकारलाई कुण्ठित हुनबाट जोगाउन उनले अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थामा हरेक विकासका आयामहरुमा जनसहभागितालाई प्रोत्साहन गरिन्छ । उपभोक्ता समितिमार्फ गरिने खरिद प्रक्रियाले व्यक्तिगत रुपमा हुने लाभ र भ्रष्टाचारलाई निरुत्साहित गर्दै विकासमा जनसहभागिता, पारदर्शीता र जवाफदेहितामा समेत वृद्धि भइरहेको छ ।’

संघ, प्रदेश तथा स्थानीय सरकारहरुका विभिन्न कानूनहरुमा समेत यस सम्वन्धी स्पष्ट व्यवस्था भएको भन्दै संघले हठाथ रुपमा गरिएको निर्णय कार्यान्वयन नगर्न विज्ञप्तिमा भनिएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको मन्त्रीस्तरीय निर्णयमा अर्को निर्णय नहुँदासम्म उपभोक्ता समितिले गर्ने सम्झौतामाथि रोक लगाइएको थियो । उपभोक्ता समितिले गरेका कामहरुमा अनियमिता भएको मन्त्रालयको ठहर छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर