विश्व कप छनोटमा अर्जेन्टिना अझै अपराजित, उरुग्वेविरुद्ध डी मारियाको निर्णायक गोल
काठमाडौं । एन्जल डी मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्व कपको दक्षिण अमेरिका छनोटमा उरुग्वेलाई पराजित गरेको छ।
शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलको नतिजामा पराजित गर्दै छनोटमा आठौं जित हासिल गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तानसमेत रहेका एन्जेल डी मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६औं मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए ।
जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित छ ।
दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ ।
पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैठौं स्थानमा छ ।