बाइडेन र सीबीच मंगलबार वार्ता हुँदै : तनाव कम गर्ने उपाय खोज्दै दुई विश्व नेता – Nepal Press

बाइडेन र सीबीच मंगलबार वार्ता हुँदै : तनाव कम गर्ने उपाय खोज्दै दुई विश्व नेता

काठमाडौं । दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी मंगलबार भर्चुअल वार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार जो बाइडन र सी जिनपिङले आपसी वार्ताबाट दुई मुलुकबीचको पछिल्लो तनावलाई मत्थर पार्न प्रयास गर्नेछन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समय देखिएको तनावलाई घटाउने र सम्बन्धलाई स्थिर तुल्याउने अपेक्षा वासिङ्टनले लिएको छ । गत सेप्टेम्बर ९ मा दुईजनाबीच टेलिफोन वार्ता भएको थियो ।

वासिङ्टन र बेइजिङबीच पछिल्लो समय कोभिड–१९ भाइरसको उत्पतिको अनुसन्धान र चीनले विस्तार गरेको भनिएको आणविक परीक्षणजस्ता विषयलाई लिएर तनाव चुलिएको छ ।

‘दुई नेताले प्रतिस्पर्धालाई व्यवस्थापन गर्ने बाटो खोज्नेछन् । साझा सहमती र चासोका क्षेत्रमा सहमती खोज्ने प्रयास पनि हुनेछ’ ह्वाइट हाउसका संचार सचिव जेन पास्कीले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रपति बाइडेनले स्पष्टरुपमा अमेरिकी रुचि र प्राथमिकता कुरालाई राख्नेछन् भने चासोका विषयमा स्पष्ट योजना भन्नेछन् ।’

बेइजिङले पनि आउँदो वर्ष हुने हिउँदे ओलम्पिकअघि कूटनीतिक तनावलाई कम गर्न चाहिरहेको छ । अहिले अमेरिका लगायतका उसका साझेदार मुलुकहरुले राष्ट्रपति सीसामु बेइजिङ ओलम्पिक र मानवअधिकारका विषयलाई लिएर दबाब बढाइरहेका छन् ।

अर्कोतर्फ, राष्ट्रपति सीले तेस्रो कार्यकाललाई निरन्तरता दिने भएकाले अन्तर्राष्ट्रिय तनाव चाहिरहेका छैनन् । चिनियाँ विदेश मन्त्रालयले दुई नेताबीचको वार्तामा द्धिपक्षीय चासोका विषयमा छलफल हुने जनाएको छ । एसियाली समयानुसार वार्ता मंगलबार हुनेछ ।

एक वरिष्ठ अमेरिकी अधिकारीले राष्ट्रपति बाइडेनले चीनसँग प्रतिस्पर्धा चाहेको तर द्वन्द्व नचाहेको कुरा स्पष्टरुपमा राख्न चाहेको बताए । बाइडेनले सोमबार १ ट्रिलियन डलरको पूर्वाधार प्याकेज घोषणा गर्ने तयारी गरेका छन् । यो प्याकेजको उद्देश्य चीनलाई चुनौति दिनु हो ।

उक्त घोषणा लगत्तै बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर