मालेको आठौं महाधिवेशन चितवनमा सुरु, पाँच दलीय गठबन्धन विदेशपरस्त भएको ठम्याइ – Nepal Press

मालेको आठौं महाधिवेशन चितवनमा सुरु, पाँच दलीय गठबन्धन विदेशपरस्त भएको ठम्याइ

चितवन । नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । २९ गतेसम्म चल्ने महाधिवेशनको महासचिव सिपी मैनालीले उद्घाटन गरे ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा बोल्दै माले महासचिव सिपी मैनालीले एमाले र माओवादीले विगतमा एकता गरेर रत्यौली खेलेको टिप्पणी गरेका छन् ।

‘२०७४ सालमा एमाले–माओवादीले झण्डै दुईतिहाइ ल्याए, सबैले वाह वाह गरे’, उनले भने, ‘दुई वर्ष नपुग्दै तमासा देखाउन थाले, दुनियाँ खित्का छाडेर हाँसे, उनीहरुले रत्यौली खेले ।’

उनीहरु नामको मात्रै कम्युनिष्ट भए पनि कम्युनिष्टको सिद्धान्त र नीतिविपरीत हिँडेको उनले आरोप लगाए ।

उनले नेपालको जनक्रान्तिलाई सफल पारेरै छाडिने दावी गरे । ‘लड्यौ, हार्यों तर हामीले हरेश खाएका छैनौं’, उनले भने, ‘७२ वर्षिय कम्युनिष्ट आन्दोलन जोगाउने छौं ।’

उनले अहिलेको ५ दलीय गठबन्धन विदेश परस्त भएको आरोप लगाए । ‘विदेशिको काम गर्न ५ दलको सरकार बनेको हो’, उनले भने, ‘त्यसमा अदालतले स्वीकृति दियो, अहिले देउवा एमसीसी जपिरहेका छन् ।’

स्थायी समिति सदस्य डम्बर श्रेष्ठले देशमा सच्चा कम्युनिष्ट शक्तिहरु एकतावद्ध हुनुपर्ने बताए । अखिल नेपाल प्रगतिशील महिला संघका उपाध्यक्ष तथा पोलिटब्युरो सदस्य भगवती घिमिरेले जनवादी क्रान्ति पूरा गर्न पार्टी संगठन मजबुत बनाउनुपर्ने बताइन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, कोरियाली श्रमिक पार्टीले महाधिवेशन सफलताको शुभकामना सन्देश पठाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर