दिल्लीमा वायुप्रदूषण खतराको तहमाथि : एकसाता विद्यालय र सरकारी कार्यालय बन्दको घोषणा – Nepal Press

दिल्लीमा वायुप्रदूषण खतराको तहमाथि : एकसाता विद्यालय र सरकारी कार्यालय बन्दको घोषणा

सोमबारदेखि दिल्लीका सबै विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट हुने भएको छ । निर्माण कार्यहरु सबै बन्द हुने भएका छन् । सरकारी कार्यालयहरु घरबाटै हुने भएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा वायुप्रदूषणको अवस्था विकराल बनेपछि शनिबार यस्तो घोषणा गरेका हुन् । दिल्ली सरकारले ७ दिनसम्म यो नियम लागू हुने जनाएको छ ।

तर, धुलो र मसिना कणहरु फैलाने निर्माण कार्यहरु भने नोभेम्बर १४ देखि १७ सम्म चारदिनको लागि बन्द हुनेछन् । प्रदूषण नियन्त्रण गर्न लकडाउनसहितका चार चरणका योजनाहरु मुख्यमन्त्री केजरीवालले अदालती आदेशको केही घण्टामै घोषणा गरेका हुन् ।

आजै, भारतको सर्वोच्च अदालतले केन्द्र र दिल्ली सरकारले वायु प्रदूषणसँग दीर्घकालिन रुपमा जुध्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । अदालतले केन्द्र सरकारलाई २ दिन लकडाउन गर्न समेत सुझाएको छ ।

सोमबारदेखि विद्यालयको भौतिक पठनपाठन बन्द हुनेछन् । सबै सरकारी कार्यालयहरुलाई घरबाटै काम गर्न भनिएको छ । दीपावलीको अन्तिम सातादेखि दिल्लीसहित गुडगाउँ, नोएडा, गाजियावादलाई प्रदूषणको बाक्लो तुवाँलाले ढाकेको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार आज साँझ साढे ६ बजे दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआइ) ४२७ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर