सर्विया र स्पेन विश्वकपमा छानिए, पोर्चुगलले प्लेअफ खेल्नुपर्ने – Nepal Press

सर्विया र स्पेन विश्वकपमा छानिए, पोर्चुगलले प्लेअफ खेल्नुपर्ने

एजेन्सी । अलेक्जान्दर मेट्रेभिचले अन्तिम मिनेटमा सानदार गोल गरी नाटकीय रुपमा पोर्चुगलमाथि २–१ गोलअन्तरको जित निकाल्दै सर्वियाले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । यो नतिजापछि पोर्चुगलले भने विश्वकप खेल्ने लक्ष्य पूरा गर्न प्लेअफमा जित हासिल गर्नुपर्ने भएको छ ।

घरेलु टोली पोर्चुगलका लागि कम्तिमा बराबरीको नतिजा पनि सिधा विश्वकपमा छानिन पर्याप्त थियो । रेनाटो सान्चेसले सुरुआती अग्रता दिलाए पनि सर्वियाका डुसान टाडिचले बराबरी गोल फर्काएका थिए ।

इंग्लिस क्लब फुलह्यामका स्ट्राइकर मेट्रोबिच दोस्रो हाफको सुरुमै सब्स्टिच्युडका रुपमा मैदान टिरेका हुन् । दोस्रो हाफमा उनले पोर्चुगिज रक्षापंक्तिलाई थुप्रै चुनौति दिएका थिए ।

गोलपछि सर्वियाली टिम र बेन्चका अफिसियलसमेको सेलिब्रेसन हेर्नलायक थियो । जसले घरेलु समर्थकलाई स्तब्ध पारिदिएको थियो । समूह ए बाट २० अंकसहित सर्विया विश्वकपमा पुगेको हो ।

यो हारको अर्थ पोर्चुगलले मार्चमा दुई चरणमा गरी हुने प्लेअफ खेल्नुपर्नेछ । सर्वियाले विश्वकप छनोटमा पोर्चुगलको घरेलु मैदानको विजययात्रा पनि अन्त्य गरिदिएको छ । सन् २०१३ को अक्टोबरयता पोर्चुगिज टोलीले विश्वकप छनोटअन्तर्गतको खेलमा घरेलु मैदानमा हार्नुपरेको थिएन ।

विश्वकपको युरोपेली छनोट अन्तर्गत नै समूह बीको खेलमा अल्भारो मोराटाले खेलको अन्त्यतिर गरेको निर्णायक गोलसँगै स्वीडेनलाई हराएर स्पेन पनि विश्वकपमा छानिएको छ । यो परिणामपछि स्वीडेनले मार्चमा प्लेअफ खेल्नुपर्ने भएको छ ।

ड्यानी ओल्मोको प्रहार क्रसबारमा लागेर फर्किँदा त्यसलाई स्वीडिस गोलरक्षकले समाउने प्रयास गरेका थिए । तर त्यसअघि नै अल्भारो मोराटाले ट्यापइन गोल गरिदिए ।

लुइस इनरिके प्रशिक्षित स्पेनका लागि यो खेलमा बराबरीको नतिजा पर्याप्त थियो ।स्वीडेनका लागि भने समूहको शीर्ष स्थनमा रहन जित नै चाहिन्थ्यो । स्पेन लगातार १२औं पल्ट विश्वकपमा छनोट भएको छ ।

सर्विया र स्पेनसँगै युराेपबाट यसअघि डेनमार्क, जर्मनी, फ्रान्स र बेल्जियम छनाेट भइसकेका छन् भने दक्षिण अमेरिकाबाट ब्राजित र अर्जेन्टिना पनि सिधा छनाेट भइसकेका छन् । आयाेजक कतारसहित नाै टाेलीले विश्वकप खेल्ने निश्चित भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *