पीडालाई प्रेरणामा बदलिरहेको छिन्ताङ
छिन्ताङ । साँझ छिप्सिकेको थियो । तमोर नदी तिरहुँदै एक हुल सेना–पुलिस गाउँ छिरेको हल्ला चल्यो । घरछेउको डिलबाट तलतिर हेर्दा देखियो, बन्दुक बोकेका सेना–पुलिस गाउँ उक्लदैँ रहेछन् ।
सात वर्षीय झलकमान राई, उनकी दुईदिने सुत्केरी आमा श्रीमाया राईसँगै अरु दाइभाइको पनि सातो उड्यो । कुनै पनि बेला सेनाले गाउँमा छापा मारेर हत्या गर्नसक्ने खतरा भएपछि झलकमानका बुवा गाउँ छाडेर भागेका थिए ।
सेनाले घर खानतलासी गरी भेटेमा मार्नसक्ने भएपछि श्रीमाया दुई दिनकी छोरी च्यापेर घरमुन्तिरको बारीको कान्लामा लुक्न गइन् । काइँलो छोरा झलकमान र अरु दाइभाइ पनि आमाकै पछि लागे ।
सेनाले स्वास फेरेको सुनेर लुकेको थाहा पाउलान् भन्ने भएर डराईडराई स्वास तानिरहेका उनीहरुलाई सेनाले देख्यो । सेनाको एक समूह गाउँका अरु घरमा डुल्न थाल्यो, एक समूह उनीहरु भएतिरै आयो ।
‘तेरो घरको अराष्ट्रिय तत्वलाई कहाँ लुकाइस् ?’ भन्दै सेनाले श्रीमायामाथि केरकार गर्न थाल्यो । श्रीमाया राम्रोसँग बोल्नसक्ने अवस्थामा थिइनन् । तै पनि उनले मसिनो स्वरमा भनिन्, ‘थाहा छैन ।’
‘अझै थाहा छैन भन्छेस् ?’ भन्दै सेनाले बन्दुकको कुन्दा श्रीमायाको छातीमा बजार्यो । झलकमानसँगै अरु दाइभाइ आमामाथि भएको ज्यादती डराइडराई हेरेर बस्न अभिषप्त भए । उनीहरुसँग बोल्नसक्ने तागत थिएन, एकोहोरो रोइरहे मात्रै ।
‘त्यसपछि आमालाई दुईदिनकी बैनीबाट थुतेर लगे । बारीको बीच भागमा पछारे । केही सेनाले पालैपालो आमामाथि बलात्कार गरे । हामी सुँक्कसुँक्क गर्दै त्यो असैह्य दृश्य हेर्न बाध्य भयौं’ २०३६ साल कात्तिक २९ गते साँझ तत्कालीन पञ्चायती सेनाले गरेको बर्बर दमन सम्झँदै झलकमान भन्छन्, ‘बलात्कार गरेर सेना हिँड्यो । हामी केटाकेटीहरु केही गर्न सक्दनथ्यौं । गाउँमा गुहार माग्ने मान्छे पनि कोही थिइनन् । लोग्ने मान्छेहरु गाउँ छाडेर भागेका थिए, महिला–केटाकेटीमा सेनाले सबैका घरमा उस्तै ज्यादती गरिरहेको थियो ।’
आमाको बलात्कार भएको दृश्य टुलुटुलु हेर्न बाध्य झलकमानका दाइले केही समयपछि भाइबैनीलाई घर लगे । घरको ढोका थुनेर राखे । सबै केटाकेटी रातभर रोए । ‘बिहान भएपछि थाहा भयो, आमाको मृत्यु भइसकेको रहेछ’, त्यतिबेलाको घुर्मैलो याद सम्झँदै झलकमानले भने, ‘सबैकुरा प्रष्ट त याद छैन, तर ४५ दिनसम्म हामीले बैनीलाई जसोतसो बँचायौं, त्यसपछि बैनीले पनि प्राण त्यागिन् ।
झलकमानको मात्रै होइन, त्यतिबेला घनकुटा– छिन्ताङका धेरै परिवारले पञ्चायती शासनको विरोध गरेबापत अति नै जर्जर यातनाको सामना गुर्नपर्यो । २०३६ साल कात्तिक २५ गतेदेखि २९ गतेबीचमा छिन्ताङका १६ स्थानीयलाई तत्कालीन सेनाले बर्बर यातना दिएर हत्या गर्यो । कयौंलाई घाइते बनायो । छिन्ताङ र खोकुका ३१ जनालाई डाँका अभियोगमा राजबन्दी बनायो ।
सेनाको चार गोली छलेर बाँचेका ‘जिउँदो सहिद’ सुवानसिंह
पञ्चायती शासनविरुद्ध कम्युनिष्ट ‘मुभमेन्ट’ उचाइमा पुर्याउने आन्दोलनमा सेनाको चार गोली छलेर बाँच्न सफल, तर राजबन्दीको पीडा भोगेका एक ‘जिउँदो सहिद’ हुन्– सुवानसिंह राई ।
७३ वर्षीय सुवानसिंहले त्योबेला गरेको संघर्ष र भोगेको सास्ती कहालीलाग्दोसँगै प्रेरणादायी छ । पञ्चायतविरुद्ध कम्युनिष्ट क्रान्ति छेड्न महत्वपूर्णपूर्ण भूमिका निर्बाह गरेका राई सेनाले बर्साएको चार गोली छलेर बाँच्न सफल योद्धा हुन् ।
‘बजारबाट घरतिर जाँदै थिएँ, गाउँमा सेना पसेको सुनेपछि रुखको आडमा लुक्न खोजें, तर सेनाले देखिहाल्यो’ त्यो बेलाको घटना सम्झँदै उनी भन्छन्, ‘भागेको देखेपछि सेनाले लगातार गोली बर्सायो, तर म छलिएँ ।’
त्यसपछि पनि उनलाई सेनाले निरन्तर पच्छ्याइरह्यो । एकदिन घरबाटै गिरफ्तार गर्यो । सेनाले अति नै शारीरिक यातना दियो । सेनाले हानेको चड्कनका कारण उनको एउटा कानले नसुन्ने भयो ।
अति यातनाबीच उनलाई विराटनगर जेलमा बन्दी बनाइयो । पछि तत्कालीन कम्युनिष्ट नेता मनमोहन अधिकारीसहितको पहलमा उनी रिहा भए ।
चर्चित छिन्ताङ हत्याकाण्डबाट प्रताडित यी दुई पात्र त प्रतिनिधि मात्रै हुन् । यहाँका १६ सहिद परिवार, ३१ राजबन्दी र आम स्थानीयको दर्द उस्तै छ ।
वर्सेनि मन बिथोल्ने ‘सहिद स्मृति दिवस’
निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेकै कारण छिन्ताङमा तत्काली पञ्चायती शासकले बर्बर दमन गरेको ४३ वर्ष भयो । यहाँ वर्सेनि कात्तिक २९ गते ‘सहिद स्मृति दिवस’ मनाइन्छ ।
यसपालि पनि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर सहिदको सम्झना गरिएको छ । सहिदको सालिक र सहिद परिवारका सदस्यहरुलाई माला लगाएर सम्मान गरिएको छ ।
सोमबार छिन्ताङमा आयोजित सहिद स्मृति कार्यक्रमममा एमालेका नेताहरु सुवास नेम्वाङ, रामबहादुर थापा बादल, शंकर पोखरेललगायत नेताहरु सहभागी भए । छिन्ताङबासीले कम्युनिष्ट आन्दोलनमा आयाम थप्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । वीर सहिदहरुप्रति श्रद्धान्जली अर्पण गरे ।
हरेक वर्ष यस्तो कार्यक्रम हुँदै आएको छ । एमालेका तत्कालीन नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेता, झलनाथ खनाललगायतले यो ठाउँ पुगेर सहिद परिवारलाई धेरै आश्वासन दिइसकेका छन् । यसवर्ष एमाले अध्यक्ष ओलीले पनि छिन्ताङ र सहिद परिवारको पक्षमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तर, नेताको आश्वासन र प्रतिवद्धताबाट मात्रै छिन्ताङबासी खुसी हुने अवस्थामा छैनन् ।
छिन्ताङबासीले के पाए, के चाहन्छन् ?
परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जनाको बलिदानी दिएको खोपु–छिन्ताङ के पायो ? भन्ने प्रश्न उठिरहन्छ । तर छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व गर्छन् । यद्यपि, राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवरका लागि अझै थप केही भइदेओस् भन्ने चाहन्छन् ।
यसअघि शेरधर राई नेतृत्वको प्रदेश १ सरकारले खोकु–छिन्ताङका १६ सहिद परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत अनुदान दिएको थियो । उक्त राहतप्रति सहिद परिवार खुसी छन् ।
त्यस्तै यसअघि सरकारबाट सहिद परिवारले २५–२५ हजार रुपैयाँ पनि पाएको सहिद पुत्रमान थुलुकका छोरा एवम् अहिलेका वडा सदस्य बलराम थुलुङले बताए । ‘केही नगरेको भन्ने होइन, व्यवसायिक कृषिका लागि पनि परियोजना आएको थियो, बेलाबेलामा विभिन्न सहयोग आइरहेकै छ’, उनी भन्छन्, ‘तर अरु ठाउँको भन्दा बढी विकास केही हुन सकेको छैन, कहिँलेकाहीँ त नेताहरुले पनि हामीलाई भर्याङ मात्रै बनाए कि भन्ने चिन्ता लाग्छ । जे भए पनि हामीले परिवर्तनका लागि गरेको योगदानप्रति गर्व छ ।’
यहाँ सहिद परिवारका लागि एकीकृत बस्ती बनाउने प्रयास पनि भइरहेको बताउँछन्, धनकुटा एमालेका अध्यक्ष राजेन्द्र राई । ‘सहिद परिवारबारे अध्ययन गर्न र विकास गर्न पनि सजिलो हुने भएकाले एकीकृत बस्तीको परिकल्पना गरिएको हो’, अध्यक्ष राई भन्छन्, ‘तर स्थानीयले नै त्यसमा अरुचि देखाएपछि र भूगोल पनि मिल्दो नभएकाले त्यो सम्भव भएन ।’
अहिलेसम्म सहिद परिवारका लागि ८ वटा घर निर्माण भइसेकेको र अरु घरहरु निर्माण गर्ने योजना बनेको पनि उनले जानकारी दिए ।
‘सहिद घोषणा भयो, तर राहत आएन’
२०७४ सालमा तत्कालीन सरकारले छिन्ताङ हत्याकाण्डमा मारिएकाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्यो । तर, राष्ट्रिय सहिद घोषणा भएपछि परिवारले पाउनुपर्ने राहत तथा सुविधा केही दिइएको छैन ।
‘हामीलाई सहिद परिवारको भनेर एउटा पत्र पनि आएको छैन’, सहिद पुत्रमान थुलुङका छोरा बलराम थुलुङ भन्छन्, ‘राष्ट्रिय सहिद घोषणा भएपछि परिवारले १०–१० लाख रुपैयाँ पाउनुपर्ने थियो, तर अझैसम्म हामीलाई औपचारिक जानकारीसमेत छैन ।’
देशमा कम्युनिष्ट आन्दोलनमा उभार ल्याउन छिन्ताङबासीले गरेको योगदानको कदर गर्दै शिक्षा, स्वास्थ्यमा सुविधासँगै सहिद परिवारलाई रोजगारीको माग गरिरहेका छन्’, सहिद श्रीमायाका छोरा झलकमान राई भन्छन्, ‘गाउँको विकाससँगै सहिद परिवारलाई राजगारीको व्यवस्था गरिदिए आभारी हुने थियौं ।’
सहिदभूमिलाई समृद्धिको आधार बनाउनु पर्छः गोपाल गुरागाइँ
पूर्वसांसद् एवं नेकपा एमाले सल्लाहकार परिषद्का सदस्य गोपाल गुरागाइँले सहिदभूमि खोकु–छिन्ताङलाई समृद्ध नबनाएसम्म सहिदको सपना पूरा नहुने बताएका छन् ।
खोकु–छिन्ताङबासीको योगदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै उनले सहिद परिवारलाई राहत दिनेसँग यसक्षेत्रलाई ‘सहिदभूमि पर्यटन क्षेत्र’ बनाएर विकास गर्न सकिने बताएका हुन् ।
‘झिनामसिना कुरा गरेर मात्रै हुँदैन, सहिदको सपना साकार पार्न हामीले पनि सहिदलेझैं सपना देख्नुपर्दछ’ उनले भने, ‘त्रिवेणी–चतरा स्टिमरलाई केबुलकारमार्फत छिन्ताङलाई जोड्न सके यो ठाउँको समृद्धि सम्भव छ ।’
उनले नेकपा एमालेले खोकु–छिन्ताङको विकास र यहाँका सम्पूर्ण नागरिकको सुख, खुसी र सुविधाका लागि सक्दो पहल गरिरहेको बताए ।
हत्याको जिम्मा कांग्रेसले लिनुपर्छः ओली
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोकु–छिन्ताङ हत्याकाण्डको दोष कांग्रेसले पनि लिनुपर्ने बताएका छन् । सोमबार छिन्ताङमा आयोजित ४३ औं सहिद स्मिृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री सूर्यबहादुर थापाको आदेश हत्याकाण्ड भएको र उनका छोरा सुनिलबहादुर थापा अहिले कांग्रेसमा लागेकाले हत्याकाण्डको अपजश कांग्रेसले पनि लिनुपर्ने तर्क गरेका हुन् ।
नेकपा एमालेले छिन्ताङको विकास र समृद्धिका लागि सक्दो गरिरहेको भन्दै उनले आगामी दिनमा पनि सहिद परिवार र छिन्ताङबासीलाई न्याय हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्मृतिसभामा उनले सहिदका प्रतिमामा माल्यार्पण पनि गरेका थिए । सहिदको योगदानको उनले प्रशंसा पनि गरेका थिए ।
एमालेमय छिन्ताङ तर्थात् सहिदभूमि
पञ्चायतविरुद्ध आन्दोलन छेडेको खोकु–छिन्ताङसँगै सहिदभूमि गाउँपालिका एमालेमय भएको छ । धुनकुटाका सबै स्थानीय तहमा ‘क्लिन स्वीप’ गर्न सफल एमालेमा सोमबारको स्मृतिसभामा हज्जारौं युवा प्रवेश गरेका छन् ।
माओवादीबाट एक मात्रै वडा जितेका वडाध्यक्ष पनि सोमबार एमालेमा प्रवेश गरे । त्यस्तै, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी, एकीकृत नेकपा माओवादी र कांग्रेस छाडेर धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई सभामा एमाले अध्यक्ष ओली, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, रामबहादुर थापा बादल, शंकर पोखरेललगायत नेताहरुले स्वागत गरेका थिए ।
कसरी भएको थियो छिन्ताङ हत्याकाण्ड ?
कम्युनिष्ट मुभमेन्टअन्तरगत यहाँ २०२८ सालमा ‘मझिया परिवार, शोषक परिवार’ भन्ने पर्चा प्रचारमा आयो । मझियाहरुको ढुकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडियो । किनकि, यहाँका नागरिक खान नपाइ भोकभोकै मर्ने स्थिति आएको थियो । यो काण्डमा विभिन्नमाथि डकैतीको मुद्दा चलाइयो ।
२०३१ सालको अनिकालमा रामलाल मझियाको ढिकुटी फोरेर जनतालाई धान कोदो बाडिएको थियो । यस मुद्दाअन्तरगत भक्त बोलना, गंगाबहादुर राईलगायतलाई केही हप्ता हिरासतमा राखिएको थियो । यससँगै क्रमशः पञ्चायतविरुद्धको आन्दोलन अघि बढिरहेको थियो ।
स्थानीय पञ्चहरुले प्रशासनसँग गुहार मागे । त्यसपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा अञ्चलाधीश, प्रहरी प्रशासनका प्रमुख र सेनाले यस क्षेत्रका नागरिकमाथि बर्बर दमनको नीति लियो । र परिणामस्वरुप २०३६ सालमा छिन्ताङ हत्याकाण्ड भयो ।