अष्ट्रियामा खोप नलगाउनेहरु लकडाउनमा : सार्वजनिक स्थानमा हिँड्डुलमा प्रतिबन्ध – Nepal Press

अष्ट्रियामा खोप नलगाउनेहरु लकडाउनमा : सार्वजनिक स्थानमा हिँड्डुलमा प्रतिबन्ध

अष्ट्रिया । भियनाकी योग शिक्षक करिनाले अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप लगाएकी छैनन् र लगाउने इच्छा पनि छैन ।

अहिले उनी लकडाउनमा छिन् । उनीजस्तै खोप नलगाउने २० लाख अष्ट्रियाली नागरिक पनि लकडाउनमै छन् ।

उनलाई अहिले सरकारले क्याफे र रेष्टुरेन्टमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । हातमुख जोर्नको लागि काम गर्न र केही खानेकुरा किनमेल गर्नेजस्ता अत्यावश्यक काममाबाहेक उनलाई घरबाहिर निस्कन अनुमति छैन ।

बीबीसी संवाददाताले उनलाई भियनाको एक पार्कमा व्यायाम गरिरहेको बेला भेटघाट गरे । करिनाले आफूलाई लकडाउनभित्रै राख्नुको कारण थाहा नभएको र यसले आफूलाई दुःखित तुल्याएको बताइन् ।

‘आज बिहान म केही क्याफेको नजिकबाट गइरहेकी थिएँ’ उनले भनिन्, ‘भित्र देखेर पनि भित्र जाने अनुमति नहुनु निकै पीडादायी हुँदो रहेछ । म एक व्यक्ति हुँ, जसलाइ परिस्थितीले दुस्मन बनाइदिएको छ ।’

‘म अन्य कोही व्यक्तिलाई पनि बिरामी बनाउन चाहन्न । म सचेत छु । म कोभिड-१९ को ठूलो खतरामा छैन । मलाई लाग्छ, यो मेरो नितान्त निजी मामिला हो । खोप लगाउने र खोप नलगाउने मानिसहरुको कुरालाई म बुझ्छु’ उनले भनिन् । अष्ट्रियाका विभिन्न ठाउँमा यस्तो खाले लकडाउनविरुद्ध प्रदर्शनहरु भएका छन् ।

सार्वजनिक स्थानमा रहेका व्यक्तिहरुलाई जाँच गर्दा उनीहरुले खोप लगाएको प्रमाणपत्र देखाउन सकेनन् भने उनीहरुलाई जरिवाना तिराउने र कानूनी कार्वाही गर्ने प्रहरीले बताएको छ ।

अष्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्णमात्रामा खोप लगाइसकेको छ । युरोपमा यो दर निकै कम हो । महामारी सुरु भएयता अष्ट्रियमा दैनिक संक्रमण दरमा तीव्ररुपमा वृद्धि भैरहेको छ ।

चान्सलर अलेक्जेन्डर स्केलनवर्गले संक्रमण दरमा वृद्धि भएपछि सरकारले बल प्रयोग गर्नुपरेको बताएका छन् । उनले आफ्नो मुलुकको खोप लगाउने दर लाजमर्दो ढंगले कम भएको बताएका छन् । खोप नलगाउने व्यक्तिहरुको कारणले नै अर्को लकडाउन गर्नुपर्ने परिस्थिती आउने चेतावनी उनले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *