एमाले महाधिवेशनः न अन्योल, न प्यानल
नेपाल कम्युनिस्ट पार्टी(एमाले)मा पटक-पटक महासचिव माधव नेपाल र अध्यक्ष भएका झलनाथ खनाललगायतका नेताहरूले पार्टी भत्काउन भगिरथ प्रयत्न गर्दा पनि यसको भीमकाय आकार अझ बढ्दै जानुमा आखिर के रहस्य छ ? भन्ने आज सर्वत्र चासोको विषय बनेको छ । अरू त अरू, एमालेजनसमेत एमालेमा आएको उभार देखेर आश्चर्यचकित भएका छन् ।
तर एमालेको जन्मकालदेखिको उताव-चढाव देख्नेहरूलाई यसमा कुनै भ्रम छैन । पछिल्लो समयमा एमालेलाई हाँक्ने पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको कारण यो पार्टीको जीवनमा उभार आएको हो भन्नेमा उनीहरू प्रष्ट छन् ।
ओलीको उच्च राजनीतिक सुझबुझ र चातूर्य
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली समकालीन नेपाली राजनीतिका अब्बल खेलाडी हुनुहुन्छ । उहाँले द्वन्द्वकालको माओवादी ज्याजतीलाई वैचारिकरूपमा परास्त गर्न साहसिक कदम त चाल्नु भयो नै, शान्ति प्रक्रियापछिको उनीहरूको दबदबा छिचोल्न त्यतिकै महत्वपूर्ण भूमिका खेल्नुभयो ।
प्रथम संविधानसभामा एकातिर माओवादीको ‘डोमिनेसन’ थियो भने अर्कोतिर एमालेमा झलनाथ खनालको ‘छ्वालीखुट्टे नेतृत्व’ थियो । केही मार्क्सवादी जडसूत्रीय सिद्धान्त फलाके पनि झलनाथ खनाल एमालेलाई माओवादीको छायाँमा चलाउन चाहन्थे ।
दुई–दुई ठाउँबाट चुनाव हारे पनि माधव नेपाललाई जसरी पनि संविधानसभामा मनोनित हुने ध्याउन्न थियो । ओली नै त्यस्तो नेता हुनुहुन्थ्यो, जसले सत्तारुढ माओवादीको सत्तामाथिको बेलगाम बुर्कुसीलाई नियन्त्रण गर्ने तागत राख्नुहुन्थ्यो ।
अर्कातिर मधेस आन्दोलनको राप र तापबाट ठूलो सङ्ख्यामा संविधानसभामा उपस्थित मधेसवादी दलका कतिपय देश विखण्डन गर्नसक्ने खालका एजेण्डाको प्रतिवाद पनि ओलीले डटेर गर्नुभयो । इतिहास साक्षी छ– आफू पार्टीको नेतृत्वमा नभएर पनि त्यतिबेला ओलीले एमालेलाई वैचारिक र सांगठानिक रूपमा माओवादी वितण्डाविरूद्ध तयार पार्न सफल हुनुभयो ।
भन्न परोइन, प्रथम संविधानसभामा एमालेले गुमाएको साख दोस्रो संविधानसभामा फर्काउनु ओलीको राजनीतिक चातुर्य र सुझबुझको परिणाम थियो । दोस्रो संविधानसभामा एमालेको सशक्त उपस्थितिले देशलाई जातीय र क्षेत्रीय विखण्डनलाई बढावा दिने संविधान बन्नसक्ने खतराबाट जोगायो । माओवादी–मधेसवादी वितण्डाको केही जोर चलेन ।
संविधानसभाले संविधानको घोषणा गरेपछि सत्तामा पुगेका ओलीले नेपालमाथि छिमेकी भारतको दादागिरीसंग अनपेक्षित ‘युद्ध’ लड्नुपर्यो । नाकाबन्दीको सामना गर्नुपर्यो । नेपाली सत्तालाई आफ्नो इशारामा चलाउन पल्केको छिमेकीले राष्ट्रवादी केपी ओलीलाई प्रधानमन्त्री भइरहेको हेर्न चाहेन । सत्तालोभी प्रचण्डलाई देउवानिकट पुर्याएर ओली हटाउने खेल भयो ।
ओलीले भारतीय नाकाबन्दीको संकटमा खेलेको सह्रानीय भूमिकाको सर्वत्र प्रशंसा भयो । जनताले कतै परस्त नभएको, देशलाई आत्मनिर्भर बनाउने सुन्दर भिजन भएको नेताको रूपमा केपी ओलीलाई स्थापित गरे, माया गरे । परिणामस्वरूप ०७४को आम निर्वाचनमा एमाले देशको प्रथम शक्ति बन्यो ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको शरणमा गएर पनि बल्ड्याङ खाएको माओवादी शक्ति एमालेसंग मिल्दा झण्डै दुईतिहाइ मत प्राप्त भयो । दोस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले छोटो अवधिमै देशलाई कायाकल्प गर्ने अल्पकालीन र दीर्घकालीन योजनाको कार्यान्वयन गर्नुभयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा कार्यान्वयनको दिशामा अगाडि बढ्यो ।
आफ्नो नेतृत्वमा ठूलाठूला उपलब्धी हासिल गरेको एमालेभित्र लामो समयदेखि गुटबन्दी क्यान्सरको रूपमा रहँदै आएको थियो । पार्टीमा आपसी द्वेष, शत्रुता, षणयन्त्र यत्रतत्र थियो । एउटै लक्षका लागि हिंडेका कमरेडबीच बोलचाल बन्द हुने स्थिति बन्दै थियो ।
गुट स्वार्थ भजाएर पार्टीका विभिन्न पद वा राजकीय अवसर हत्याउने अस्वस्थ्य होडबाजी चलेको थियो । कसैलाई जिम्मेवारी र अवसरको खातैखात, कसैलाई वर्षौंवर्ष जिम्मेवारीविहीन बन्ने अवस्था थियो । स्रोत र साधन भएकाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा श्रमजीवी वर्गबाट आएका, एमालेको राजनीति गर्दागर्दै कपाल फुलाएका कमरेडहरूको हुर्मत हुने स्थिति पैदा भयो । ‘जसका लाठ, उसका भैंस’ भन्ने उखान पार्टीमा चरितार्थ हुँदै आएको थियो । नेतृत्वबाट पनि जानेर नजानेर कसैलाई अतिकाखा, कसैलाई अतिपाखा गर्ने स्थिति पार्टीमा थियो ।
पार्टी एकताले माओवादीभित्रको विकृति पनि यसैमा थपियो । एमालेको गुट संघर्षमा खेलेर साविक नेकपाको नेतृत्व केही समयमै कब्जा गर्ने भित्री योजना बोकेका प्रचण्डलाई ओलीविरूद्ध पार्टीको माधव खेमाले काँध गल्ने गरी बोक्यो । गुट संघर्ष चर्कदैँ जाँदा पार्टी नेतृत्वको सरकार सञ्चालनमा समेत असर पर्यो ।
पार्टी, सरकार र आफूविरूद्ध चौतर्फी आक्रमण हुँदा पनि ओलीले राजनेताको हैसियत प्रदर्शन गर्नुभयो । जस्तोसुकै परिस्थितिमा पनि देश, जनता, नागरिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा आँधी आएको बेला पहाड उभिएझैं उभिन सफल हुनुभयो ।
कल्पना गरौं, पार्टीको यस्तो संकटमा माधव नेपालको जस्तो ‘लैबरी नेतृत्व’ भएको भए वा झलनाथलेको जस्तो कमजोर नेतृत्व भएको भए के हुन्थ्यो होला ?
ईश्वर पोखरेलको वैचारिक दूरदृष्टि
नेपाल कम्युनिस्ट पार्टी(एमाले)को मूल जरो कोअर्डिनेसन केन्द्रदेखि अनवरत सक्रिय नेता हुनुहुन्छ, महासचिव ईश्वर पोखरेल । ‘घ्यूजस्तो नरम बोली’ र सरल कार्यशैलीलाई आफ्नो जीवन पद्धति बनाएका नेता पोखरेल एमालेको वैचारिक र सांगठानिक मामिलामा अब्बल मानिन्छन् ।
२०५४ सालको एमाले विभाजनमा पार्टीको संगठन बचाउन र वैचारिक आक्रमणलाई परास्त गर्न उनको निकै ठूलो भूमिका थियो । पार्टीमा विचारको निरन्तरता र विकासको लागि एमालेमा ईश्वर पोखरेललाई सबैले उदाहरणको रूपमा प्रस्तुत गरेको पाइन्छ ।
पार्टीमा पदभन्दा विचारलाई प्राथमिकता दिने पोखरेल एमालेका शीर्ष नेतामध्ये एक हुनुहुन्छ । नेकपा(एमाले) र माओवादी केन्द्रको एकताताका उहाँले विचारलाई ‘ग्रे एरिया’मा राखेर पार्टी एकता गर्न सकिँदैन भन्नु भएको थियो । यो विषय धेरैलाई अनौठो लाग्यो । एकतापछि पनि नेपाली भूमिमा जन्मिएर हुर्केको जनताको बहुदलीय जनवाद नै एकीकृत पार्टीको पनि मार्गदर्शक सिद्धान्त हुनुपर्छ भन्ने उहाँको आशय थियो । माओवादीले सशस्त्र क्रान्तिको बाटो परित्याग गरिसकेको सन्दर्भका माओवादी समूह पनि जननेता मदन भण्डारीको लाइनमा उहाँको जिकिर थियो ।
ईश्वरले विचारको छिनोफानो नभइ एकता गर्नु हुँदैन भनिरहेको बेला माओवादी वृत्तबाट उहाँलाई लखेट्न शुरू गरियो । भनियो– ईश्वर पोखरेल पार्टी एकताको विपक्षमा छ । प्रचण्डनिकट नेता कार्यकर्ता हाकाहाकी भन्ने गर्थे– केपीका उत्तराधिकारी ईश्वरलाई यही मेसोमा लखेटियो भने केपीपछि प्रचण्डको राज भइहाल्छ । एमाले कार्यकर्तालाई जनताको बहुदलीय जनवादको ह्याङबाट मुक्त गरेर विस्तारै प्रचण्डको वैचारिक सुप्रिमेसीतर्फ मोड्न सकिन्छ ।
साविक नेकपाले ‘जनताको जनवाद’ भने पनि ईश्वर पोखरेल, शंकर पोखरेल र अरू केही नेताले जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे आफ्ना धारणा अगाडि बढाइरहनु भयो । ईश्वर पोखरेलले महासचिवको पद अकारण गुम्दासमेत विचारको पक्षलाई छोड्नु भएन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा मात्र समाजवादको बाटो तय गर्न सकिन्छ भन्न चट्टानी अडान राखिरहनु भयो ।
विचार पक्ष गौण र पदको महत्वाकांक्षा प्रधान बन्दा नेकपाको एकता टिक्न नसकेको प्रष्टै छ । घ्यू बेचुवा र तरवार बेचुवाबीचको मिलन जसरी क्षणिक हुन्छ, त्यसरी नै फरक विचार र स्कुलिङका व्यक्तिबीचको एकता वा सहकार्य क्षणभङ्गुर हुन्छ । प्रचण्डले जनताको बहुदलीय जनवाद स्वीकारेको भए वा झलनाथ वा माधव नेपालले जबजलाई हृदयदेखि नै आत्मासात गर्न सकेको भए लामो समयपछि बनेको कम्युनिस्ट एकता बँच्न सक्थ्यो ।
नेकपा(एमाले) नयाँ युगमा प्रवेश गरेको छ । देशव्यापी गुटबन्दीमा अल्मलिएको पार्टी एकाएक गुटबन्दीरहित बन्न पुगेको छ । हिजो गुटबन्दीका कारण बोलचाल समेत बन्द भएका नेता कार्यकर्ता अंगालो हालेर खुसी साटासाट गर्दैछन् । पाँचौं महाधिवेशनदेखि नै प्यानलबन्दीको शिकार भएको एमाले दशौं महाधिवेशमा विना कुनै प्यानल नेतृत्वको निर्वाचन प्रक्रियामा जाँदैछ । यो नेपालको कम्युनिस्ट आन्दोलनको लागि मात्र होइन, देशकै लागि सकारात्मक संकेत हो ।