वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको छड्के, ‘दलाल’ को भागाभाग (भिडिओसहित)
काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा छड्के गरेका छन् ।
कार्यालयबाट हुने सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ आकास्मिकरूपमा पुगेका हुन् । मन्त्री र मन्त्रालयका अधिकारीको प्रवेशसँगै कार्यालय र आसपासमा रहेका बिचौलियाको भागाभाग भएको थियो । मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले विभागमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन राख्न, दलाली आतंक बन्द गर्न, हेल्प डेस्क राख्नसँगै आवश्यक उपकरण थप्न निर्देशन दिए । साथै अहिले कायम एक हजारबाट टोकन संख्या बढाएर १५ सय पुर्याउन पनि निर्देशन दिएका छन् । छड्केका लागि एक्कासी पुगेका मन्त्री श्रेष्ठले अनुगमनका क्रममा लाइनमा बसेका सेवाग्राहीले गुनासो पोखेका थिए ।
कार्यालयमा पहिलेदेखि सेवा चुस्त नभएको, सेवाग्राहीलाई सास्ती दिने गरेको र दलालीका कारण समस्या हुने गरेको गुनासो आइरहन्थ्यो ।