एमाले महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान (भिडिओ) – Nepal Press

एमाले महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान (भिडिओ)

चितवन । नेकपा एमालेले पार्टीकाे १० औं महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने बताएकाे छ  । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सदस्यहरुबाट ८ करोड १० लाख जम्मा हुने र करिब ५ करोड आसपासमा खर्च हुने अनुमान गरिएको बताए । उनले भने, ‘८ लाख १० हजार पार्टी सदस्यहरु छन्, हरेकबाट १ सय रुपैयाँ संकलन हुँदा ८ करोड १० लाख जम्मा हुनेछ । विगतका महाधिवेशन हेर्दा करिव ५ करोड आसपासमा खर्च हुनेछ।’

यस्तै एमालेले महाधिवेशनको पूर्वसन्ध्यामा देशभरी र्‍याली निकाल्ने भएको छ । एमालेले मंसिर ७ गते देशका ७७ वटै जिल्लाका मुख्य शहरहरुमा र्‍याली निकाल्ने भएको हो । ‘मंसीर १० गते नारायणगढ जाऔं’ भन्ने सन्देश सहित देशव्यापी र्‍याली निकालिने उनले बताए । भट्टराईका अनुसार काठमाडौ—चितवन, बुटबल—चितवन र वीरगञ्ज—चितवन लक्षित विशेष मोटरसाइकल र्‍याली आयोजना गरिने छ ।

महाधिवेशनको उद्घाटनशत्रमा ५ लाख नेता कार्यकर्ताको सहभागिता हुने दावी गर्दै भट्टराईले पार्टी र जनसमुदायलाई जोडेर जनपरिचालन अभियान चलाइने पनि बताएका छन् । महाधिवेशनको लोगोमा मंसिर १० गते चितवन जाऔं भन्ने सन्देश सहितका स्टिकरहरु सार्वजनिक तथा निजि सवारीमा राखिने उनले बताए । यस्तै एमालेले देशका मुख्य शहरहरुमा डिजटल डिस्प्ले र होर्डिङ बोर्ड राख्ने तयारी गरेको छ ।

एमालेले महाधिवेशनको प्रचारप्रसारका लागि चितवनमा ५१ सदस्यीय प्रचारप्रसार सहयोग समिति गठन पनि गरेको छ । प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा बनेको सहयोग समितिको सहसंयोजकमा केशव रेग्मी र सचिवमा पत्रकार तिलक रिमाल रहेका छन् ।

उनले एमालेकै नेतृत्वमा कम्युनिष्टहरु एक हुने दावी पनि गरे । उनले भने, ‘सामान रित्तिएको पसलमा अब कोहि बस्दैनन्, उनीहरु बसेपनि कार्यकर्ता एमालेमै आउनेछन । एमालेकै अगुवाइमा कम्युनिष्टहरु एक हुनेछन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर