कैलाली एमालेमा किचलोः रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनोट – Nepal Press

कैलाली एमालेमा किचलोः रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनोट

कैलाली । चितवनमा हुने एमालेको दशौँ महाधिवेशनको प्रतिनिधि छनोटको विषयलाई लिएर कैलालीमा एमाले भित्रै विवाद उत्पन्न भएको छ । एमाले कैलालीका अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै बुधवार एमाले उपाध्यक्ष भीम रावल पक्षले पनि समानान्तर प्रतिनिधि छनोट गरेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गरेर घोषणा गरेका हुन् । प्रतिनिधि सभामा उक्त निर्वाचन क्षेत्र भीम रावल निकट हो भने प्रदेश सभामा एउटा क्षेत्र एमाले कैलालीका अध्यक्ष रतन थापा तथा अर्को क्षेत्र माओवादीको हो ।

एमाले कैलालीका अध्यक्ष थापाले मंगलबार नै ९ जना प्रतिनिधि छनोट गरेको बताएका थिए । उनले एक विज्ञप्ति नै जारी गरेर आफू लगायत, डेजी पाण्डे, दल बहादुर विष्ट, नर बहादुर खड्का, कमला ओली, टिका थापा,पदमपुर साउद , गजेन्द्र स्वार र धरम बहादुर थापामगर प्रतिनिधिमा छनोट भएको घोषणा गरेका थिए ।

बुधवार रावल पक्षका नेता कार्यकर्ताहरूले यज्ञराज ढुङ्गाना, मनोज खड्का, सूर्यबहादुर थापा, रूप रावल, वीरेन्द्र रावल, भीम कुँवर, ममता रावल, गङ्गा थापा र बसुन्धरा भण्डारीलाई महाधिवेशन प्रतिनिधि छनोट गरेका छन् ।

लम्की चुहाका नगर प्रमुख महादेश बजगाईँले विधि र प्रक्रिया अनुसार महाधिवेशन प्रतिनिधि छनोट नगरेको हुँदा पुनः छनोट गरिएको बताए । ‘उहाँहरूले खल्तीको मान्छेहरूको नाम लेखेर लैजानु भयो’ मेयर बजगाईँले भने, ‘४१ जनाको उम्मेदवारी परेको थियो कसैले पनि फिर्ता नलिएपछि आफै नाम टिपेर घोषणा गर्न पाइन्छ।’ बजगाईँले यस अघि तयार पारिएको प्रतिनिधि अवैधानिक रहेको भन्दै त्यसको कुनै अर्थ नरहेको स्पष्ट पारे।

यता कैलालीका अध्यक्ष रतन थापाले बुधवार घोषणा भएका प्रतिनिधिहरू अवैधानिक भएको बताएका छन् । ‘व्यक्तिगत स्वार्थमा लागेर प्रतिनिधि घोषणा गरिएको हो । यसको कुनै अर्थ छैन’ उनले भने ‘यो अवैधानिक काम हो ।’

यस अघि बुधवार दिउँसो एमाले प्रदेश अध्यक्ष कर्ण थापाले पनि लम्की चुहामा महाधिवेशन प्रतिनिधि छनोट भइरहेको विषयलाई अवैधानिक भनेका थिए । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस अघि नै छनोट भएका प्रतिनिधिहरू वैधानिक भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर