कैलालीका सबै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन (सूचीसहित) – Nepal Press

कैलालीका सबै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन (सूचीसहित)

कैलाली । नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १३ स्थानीय तहको नेतृत्व चयन गरेको छ । ८ स्थानीय तहमा निर्वाचनमार्फत र ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको प्रचार प्रसार संयोजन नृप सुनारले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको सभापति पदमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । सभापति चयन भए पनि अन्य पदाधिकारी र सदस्यहरुको टुंगो अझै लाग्न सकेको छैन ।

जानकी गाउँपालिकामा गणेश रेग्मी, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्याल गाउँपालिकामा कमल साउद र जोशिपुर गाउपालिकामा बसिराम चौधरी सभापतिमा निर्वाचित भएका छन् । उनीहरु सबै सर्वसम्मत सभापति चयन भएका हुन् ।

त्यस्तै गौरिगँगा नगर पहलबिक्रम चन्द, लम्किचुहा नगर सभापतिमा ईन्द्र कुँवर, टीकापुर नगर सभापतिमा नरेश खत्री, भजनी नगर सभापतिमा नवराज मिश्र, गोदावरी नगर सभापतिमा वीरबहादुर चोखाल निर्वाचित भएका हुन् ।

घोडाघोडी नगरपालिकाको सभापतिमा बमबहादुर सिंह, चुरे गाउँपालिकाको सभापतिमा हेम शाह र वर्दगोरिया गाउँपालिकाको सभापतिमा कृष्ण बिष्ट निर्वाचित भएका छन् । यी पालिकाहरुमा निर्वाचन भएको थियो ।

कैलालीको १३ मध्ये ११ स्थानीय तहमा जिल्ला पार्टी सभापति नरनारायण शाह ‘मनु’ समर्थित निर्वाचित भएका छन् भने घोडाघोडी र गोदावरीमा उनी इतरका सभापति निर्वाचित भएका छन् ।

घोडाघोडीमा निर्वाचित सिंह जिल्ला सभापतिमा पराजित भीम बडूवाल समर्थक हुन् भने गोदावरीमा निर्वाचित चोखाल पूर्व राज्यमन्त्री दीर्घराज भाट समर्थित हुन् ।

केन्द्रमा सिंह, वडूवाल र भाट सभापति शेरबहादुर देउवा पक्षमै रहे पनि आफ्नो क्षेत्रमा भने फरक फरक व्यक्तिले समूह चलाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *