रामचन्द्र अचानक चाक्सीबारी पुग्दा प्रकाशमानले के भने ? – Nepal Press

रामचन्द्र अचानक चाक्सीबारी पुग्दा प्रकाशमानले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार बिहान अचानक चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा पुगे । पूर्व निर्धारित कार्यक्रम वा जानकारी बिनै वरिष्ठ नेता पौडेल चाक्सीबारी पुगेपछि सिंहका सहयोगीहरुले नेताद्वयबीच छलफलको चाँजोपाँजो मिलाए ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा दावी गरिरहेका पौडेल र सिंहबीचको छलफलले ठोस परिणाम दिएन । यद्यपि पछिल्लो समय दुवै नेताबीच बढेको दूरी र संवादहीनता तोड्न भने बैठक सफल रह्यो । वरिष्ठ नेता पौडेलले आन्तरिक एकता अपरिहार्य रहेकोबारे सिंहलाई लचिलो बन्न आग्रह गरेका थिए । संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन खुला छलफल गर्न आवश्यक रहेको भन्दै पौडेलले संवादबाट निस्कने निष्कर्षलाई सबैले मान्नुपर्ने बताएका थिए । सिंहले भने सभापतिमा उम्मेदवारी दिने निष्कर्षमा आफू पुगिसकेको भन्दै अब पछि हट्ने अवस्था नरहेको बताएका थिए ।

‘तपाईलाई १३ औं महाधिवेशनमा मैले सघाएकै हो । अब मलाई सघाउनुस्, तपाई अभिभावक बनेर बस्नुस’, सिंहले पौडेललाई भनेका थिए । सिंहले सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा पनि आफू नै लडेको स्मरण गराउँदै देउवाको विकल्प खोज्न आफू उपयुक्त उम्मेदवार भएको बताएका थिए । सिंहले आफूविरुद्ध सबैतिरबाट प्रहार भएको भन्दै सभापति लड्ने निर्णय फिर्ता नहुने बताए । ‘संवादको लागि म तयार छु । मेरो नेतृत्वमा सबैलाई समेटेर लैजान्छु, तपाई गार्जियन भएर बसिदिनुपर्यो’, सिंहलाई भनेका थिए ।

पौडेलले देउवाविरुद्धको लडाई एकताबिना सम्भव नहुने भन्दै एकले अर्कोलाई नमान्ने अवस्थामा सबैलाई नेतृत्व दिन आफू तयार रहेको बताए । ‘कि म बाहेकका उम्मेदवारहरु मिलेर एकजना भएर आउनुस्, कि मेरो नेतृत्वमा एडजस्ट हुनुहोस् । सबैजना लड्ने कुराले पार्टी र देशलाई फाइदा गर्दैन’, पौडेलको भनाई थियो ।

मन्त्रिपरिषद् विस्तारका क्रममा सिंहले आफूसँग परामर्श नगरेकोमा पौडेलसँग असन्तुष्ट रहँदै आएका सिंहले सधै आफूले मात्रै त्याग गर्न नसक्ने प्रष्ट्याएका थिए । झण्डै सवा १ घण्टा पौडेल र सिंहबीच वार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर