कमलामा अनौठो मेला- धामीहरुलाई यसरी गराइन्छ सतवैद्य – Nepal Press

कमलामा अनौठो मेला- धामीहरुलाई यसरी गराइन्छ सतवैद्य

जनकपुरधाम । आज कार्तिक शुक्ल पूर्णिमा । एकाविहानैदेखि सिरहा र धनुषा जोड्ने कमला नदी किनार पटेर्वाघाटमा लाखौं लाख मानिसहरु भेला भएका छन् । चारैतिर मृदङ्गको संगीतमय कर्तल ध्वनी गुन्जिरहेको छ । भगतिया (ठेट मैथिली भाकामा भगैत गीत गाउने)हरु धोक्रो सुकुन्जेल गाइरहेछन् ।

दैवी शक्ति शरीरमा प्रवेश गरेको भनिएका भक्तहरु (महिला र पुरुष दुवै) हातमा आगोले भरिएको माटोको ढकना लिएर हैं…हैं…..(ठुलो स्वरले सिंहनाद गर्दै) दैवी शक्ति हुं भनेर काँपिरहेका छन् । यसरी काँप्ने र दैवी कौतुक प्रदर्शन गर्ने हजारौको भीड लागेको छ । उनीहरुले रौद्रता देखाउँछन् । ताण्डव गर्छन् । यो दिनको कमला जमघटलाई भूत मेला भनिन्छ ।

मुख्यत यो धामीहरुको सतवैद्य समारोह हो । प्रेत आत्माहरुलाई ठेगान लगाउने दिन पनि । सतवैद्य अर्थात शपथ ग्रहण । मन्त्र गुण सिकेर वा दैवी शक्ति शरीरमा प्रवेश गरेर काम्न थालेका नयाँ धामीहरुलाई कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गराइन्छ ।

नयाँ बन्ने धामीहरुलाई गुरुले कमला नदीमा प्रात प्रहरमा डुवुल्की मार्न लगाई पवित्र बनाई शपथ ग्रहण गराउँछन् । उनले सिकेको मन्त्र र प्राप्त गरेको दैवी शक्तिलाई मानव, अन्य प्राणी र समाजको हितमा प्रयोग गर्ने र त्यसको दुरुपयोग नगर्ने बचनवद्धता गराइन्छ । जसलाई स्थानीय भाषामा सतवैद्य भनिन्छ ।

त्यसैगरी पुराना अनुभवी धामीहरुले आ–आफ्नो वस्तीमा वेला वखतमा प्रकट भएर मानिसलाई दुख दिने प्रेत शक्तिहरुलाई मन्त्रद्वारा कैदी बनाई ल्याएका हुन्छन् । त्यस्ता प्रेत शक्तिहरुलाई सोही अवसरमा कमलामा विसर्जन गरिन्छ । यसो गर्नाले मानिसको जीउ ज्यान तथा पशुधनहरु विरामी हुँदैनन् भन्ने जनविश्वास छ । कमलामा शपथ ग्रहण गरिसकेपछि मात्र समाजले उसलाई धामीको रुपमा मान्यता प्रदान गर्छन् ।

नयाँ धामीहरुमा दशैंको नवरात्रीको समयमा नै लक्षण देखा पर्छ । घटस्थापनादेखि नवरात्रि भरीमा गाउँका कुनै मानिस महिला वा पुरुषलाई काम छुट्छ । उसले दैवी शक्ति आफूमा प्रवेश गरेको घोषणा गर्छ । त्यसपछि ती मानिसलाई भक्त बनाइन्छ । कार्तिक चतुर्थीको दिन पहेंलो रङ्गमा रंगिएको धोती र फूलको माला लगाएर भक्तलाई पवित्र बनाइन्छ ।

हातमा वेतको लाठी थमान्छ । भक्तासँग एक वा दुईजना अगुवा पछुवा रहन्छन् जसले नयाँ धामीलाई सम्हाल्ने काम गर्छन् । ५ देखि १० जनाको भगतिया हुन्छन् । उनीहरुलाई दहिन गवैया पनि भनिन्छ । उनको काम हुन्छ दैवी शक्तिको स्तुति गीत गाउने । जसलाई भगैत गीत पनि भनिन्छ ।

वाद्यवादन हुन्छ मृदङ्ग र झ्याली । भक्ताको हातमा माटोको ढकना हुन्छ । त्यसमा भरर्भराउँदो आगो हालिएको हुन्छ । आगोमा सालधुप हालिन्छ । भक्ताले आगोको लप्काले भरिएको ढकना हातमा नचाउँदै रौद्रता र ताण्डव नाच नाच्छन् । हैं……हैं…..को सिंहनाद गर्छन् । कतिपय धामीहरुले अविश्वसनीय र अकल्पनीय कर्तव्य गरी देखाउँछन् ।

तातो खीर हातले चलाउने, अगेनाको भुंग्रोमा हात हाल्ने, आगोमाथि हिडेर देखाउने जस्ता दृश्यले सर्वसाधारण दर्शनार्थीहरुको आङ जिरिङ्ग हुन्छ । यसरी लावा लस्करसहित पैदल हिडेर उनीहरु मध्यरातसम्ममा कमला तटमा पुग्छन् ।

नयाँ धामीको शपथ ग्रहण गराउन १५ देखि २० जनाको झुण्ड सँगसँगै जानै पर्छ । तराईमा महिलाहरुले गाउने एउटा सुरीलो भाका छ बाह्रमासा । यो गीतको एउटा पंक्तीले भन्छ कार्तिक महिना हे सखी पुण्य महिना, चलु चलु गंगा स्नान हो….. ।

यहाँका संसकृतिले कार्तिक महिनालाई नदी स्नानको महिना भन्छ । सक्नेले गंगा पुगेर स्नान गर्छन् नसक्नेले कमला, कोशी वा नजिकको कुनै नदीमा । यि नदीहरुलाई पनि गंगाकै रुप मानिन्छ । त्यसकारण भूत मेलामा कमला स्नानको पुण्य कमाउन पनि लाखौं मानिसहरुको झुण्ड वर्षेनी कमला पुग्ने गरेका छन् ।

कमला तटमा मध्यरातदेखि नै चारै दिसावाट धामीहरु अनेक भाव भंगिमा गर्दै प्रवेश गर्छन् । रातभर कमला घाटमा स्तुति, आराधना र दैवी शक्तिको कौतुक चलिरहन्छ । यसरी नेपालको सिरहा, सप्तरी, धनुषा , महोत्तरी र सर्लाही तथा भारतको मधुवनी र दरभंगा जिल्लाका धामीहरु तथा ग्रामणि बासिन्दाहरु यो मेलामा आउने गर्छन् ।

काँप्ने भक्ताहरुको भावभंगिमा फरक फरक हुन्छ । किनकी कुन भक्तामा कुन देउता प्रवेश गरेको छ, त्यही अनुसार उनीहरु कर्तव्य गर्छन् र देखाउँछन् । मधेसको जन जीवनमा ग्राम देवता र कूल देवताको धेरै महत्व छ । प्रत्यक गाउँमा ग्राम देवताको मंन्दिर हुन्छ, जसलाई डिहीवार वा गहवर भनिन्छ । ग्राम देवता स्थानपिच्छे फरक हुन सक्छ ।

त्यसैगरी कूल देवता फरक फरक हुन्छ । कसैले काली वन्दी गोरैया पुजेका हुन्छन् त कसैले अन्हेरवाट । कसैले गाँगो रुपना त कसैले बौकी देवी । जुन भक्ताको शरीरमा जुन देउता प्रवेश गरेको छ, उसले त्यही अनुसारको चरित्र प्रदर्शन गर्छ । भगतियाहरुले पनि जुन देउता हो, उसैको आह्वान गरेर स्तुति गान गाउँछन् । प्रातकालमा सवैले कमला नदीमा डुवुल्की मार्छन् । भक्ताले उपस्थित आफ्नो गूरु र भगतियाहरु समक्ष सपथ लिन्छन् । समाज हित र मानव कल्याणको लागि काम गर्छु भन्छन् । अनी पुरा हुन्छ सतवैद्य र घर फर्कन्छन् ।

पुराना धामीहरुले पनि यो दिन अनिवार्य रुपमा कमला स्नान गर्नैपर्छ । यसले गर्दा उनीहरुलाई नयाँ उर्जा मिल्छ । औरहीका धामी महेन्द्र यादव भन्छन्, ‘हरेक वर्ष कमला स्नान गरेपछि हामी नयाँ शक्ति प्राप्त गर्छौ । हाम्रो मन्त्र प्रभावी हुन्छ । रोग व्याधी निको हुन्छ । भूत प्रेत भाग्छ ।’ कार्तिक पुर्णिमाको दिन स्नान गर्दा पापबाट समेत मुक्ति पाउने जनविश्वास रहेको उनको भनाई छ ।

कमलामा लाग्ने मेलालाई भुतमेला भन्ने चलन रहे पनि धामीहरुले देवता मेला भन्ने गर्छन् । एक धामीले भने, ‘घरको कुलदेवताको पुजपाठ गर्न सिद्ध प्राप्तिका लागि कमला स्नान गर्न आउँछ । र कतिपय नयाँ धामीहरु पनि आजकै दिन स्थान गर्ने गर्छ । यहाँ भुत कसैले खेल्दैन । त्यसैले यसलाई देवता मेला भन्छौं ।’

गाउँ गाउँवाट कार्तिक पूर्णिमाको रात मृदङ्ग र झ्यालीको धुनमा लावा लस्करसहित धामीहरु दैवी शक्तिको भावभंगीमा देखाउँदै कमला गइरहेको दृश्यले धामी, बोक्सी हुन्छ भनेर समाजलाई अन्धविश्वासी चेतनाको प्रसार गर्नु विडम्वना भएको शिक्षक प्रदीप मण्डल बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर