प्रचण्डको संकेत : संसदमा एमसीसीमाथि मतविभाजन हुनसक्छ
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर संसदमा मतदान हुनसक्ने सम्भावना रहेका बताएका छन् ।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको द्धिपक्षीय भेटवार्तामा दाहालले एमसीसीलाई लिएर संसदमा मतविभाजनको स्थितीसम्म आउनसक्ने बताए ।
‘अध्यक्षज्यूले डेमोक्रेटिक प्रोसेसमा जानुपर्ने स्थिती आउनसक्ने बताउनुभएको छ’ लूसँगको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले नेपाल प्रेसलाई बताए ।
अमेरिकी कूटनीतिज्ञ लूले एमसीसी अनुमोदनबारे दाहालसँग चासो राखेका थिए । सहायकमन्त्री लूले चाँडो एमसीसी पास गर्न दाहाललाई आग्रह गरेको स्वकीय सचिव मल्लले बताए ।
लूको उक्त आग्रहमा दाहालले एमसीसीलाई लिएर सत्तारुढ दल, नागरिक समाज र पत्रकारबीच छलफल गरेर निष्कर्ष निकालिने जवाफ दिएका थिए । एमसीसीको ओर्जिनल ड्राफ्टलाई तलमाथि पार्दा विवाद र बहस निम्तिएको बताउँदै दाहालले वैदेशिक सहयोगलाई लिएर पार्टी सकारात्मक रहेको बताएका थिए ।
‘मन्त्री लूले चाँडो अनुमोदन गर्नुप¥यो नत्र एमसीसीलाई अन्त लैजान्छौं भन्ने आशयको कुरा गर्नुभएको थियो’ स्वकीय सचिव मल्लले भने । अमेरिकाले नेपाललाई गर्दै आएको सहायतालाई लिएर दाहालले धन्यवाद समेत दिएका थिए । उक्त भेटमा द्धिपक्षीय चासोका अन्य विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
कात्तिक २३ गते बसेको माओवादी स्थायी समिति बैठकले केही विवादित बुँदामा संसोधन बिना एमसीसीलाई पारित नगर्ने निर्णय गरेको थियो ।