२२ वर्षे सुशान्तः धर्मशास्त्रमा शास्त्री, कांग्रेस राजनीतिमा प्रगति – Nepal Press

२२ वर्षे सुशान्तः धर्मशास्त्रमा शास्त्री, कांग्रेस राजनीतिमा प्रगति

काठमाडौं । उमेरले भर्खर २२ पुगेका सुशान्त आचार्य जिम्मेवारीले भने परिपक्व बन्दैछन् । कांग्रेसको तल्लो तहको अधिवेशनमा युवा पुस्ताको जबरजस्त उपस्थिति बढ्दा सुशान्त वागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा क्षेत्र ख बाट १ सय २९ मध्ये १ सय ५ मत ल्याएर सुशान्त बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । हजुरबुवा स्व. सुदर्शन आचार्य र कांग्रेस नेता स्व।नवीन्द्रराज जोशीलाई आफ्नो राजनीतिका प्रेरणा मान्ने सुशान्त संस्कृत छात्र संघका अध्यक्ष समेत हुन् ।

वाल्मिकी विद्यापीठमा धर्मशास्त्र विषयमा शास्त्री गर्दै गरेका आचार्य नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा पनि सक्रिय छन् । कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रका पक्षमा ८ सय बढी महासमिति सदस्यको हस्ताक्षर जुटाउन सक्रिय सुशान्त हिन्दु युवा वाहिनीका राष्ट्रिय सचिवसमेत हुन् ।

बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका उनी युवा प्रतिनिधिहरुले कांग्रेसमा सक्षम नेतृत्व ल्याउन योगदान गर्नुपर्ने बताउँछन् । कांग्रेसको शुक्रबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देशैभरीबाट युवापुस्ताका प्रतिनिधिहरु अधिकांश चयन भएका छन् । ‘हामी विद्यार्थी राजनीति गर्दैगर्दा पार्टीभित्र पनि भूमिका हासिल गर्न सफल भएका छौं । सक्षम र कुशल नेतृत्व चयन गर्न सबै युवा प्रतिनिधिहरुले योगदान गर्नुपर्छ’, उनले नेपाल प्रेससँग भने । नयाँ पुस्तामा कांग्रेसप्रति आकर्षण बढाउन कांग्रेसमा सक्रिय युवाहरुले नै अग्रसरता लिनुपर्ने उनको भनाई छ । ‘हामीले हाम्रै पुस्ताका साथीहरुलाई कांग्रेसमा आकर्षित गराउनुपर्छ । कांग्रेसले नै युवाको एजेण्डा बोक्छ भन्ने पुष्टी गर्न हामीले उदाहरणीय काम गर्नुपर्छ’, आचार्यले भने ।

नेपालमा बहुसख्ंयक हिन्दू धर्मावलम्बी भएकोले नेपाललाई हिन्दू राष्ट्रकै पहिचानमा फर्काउन उपयुक्त हुने मत राख्ने सुशान्त कांग्रेसमा नेतृत्वसँगै कार्यशैली पनि परिवर्तन हुनुपर्ने बताउँछन् । ‘कांग्रेसका युवाहरुले पार्टीको सबै तहमा जुझारु, लोकप्रिय र भिजनसहितको नेतृत्व खोजेका छन् । नेतृत्व परिवर्तनसँगै कार्यशैली पनि परिवर्तन गरेर कांग्रेसको संगठन बलियो बनाउनुपर्छ’, उनी भन्छन् ।

पार्टीको १४ औं महाधिवेशनपछि संगठन सुदृढीकरणसँगै भ्रातृसंस्थाहरुलाई सक्रिय बनाउनुपर्ने सुशान्तको धारणा छ । ‘नेविसंघमा नियमित अधिवेशन हुने हो भने पार्टीलाई नै फाइदा हुन्छ । सबै भ्रातृ संस्थालाई सक्रिय बनाउने हो भने कांग्रेस एक्लैले मुलुक हाँक्ने सामर्थ्य राख्छ’, उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर