प्रकाशमान फकाउँदै रामचन्द्र- शेखर, शशांकको दावी यथावत – Nepal Press

प्रकाशमान फकाउँदै रामचन्द्र- शेखर, शशांकको दावी यथावत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने वाचा गरेका संस्थापन इतर समूहका नेताहरु क्षेत्रीय अधिवेशन अगाडि सहमति जुटाउन असमर्थ भएका छन् ।

देशभरका संघीय प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसको अधिवेशन मंसिर ६ गते हुँदैछ । क्षेत्रीय अधिवेशन अगाडि नै साझा उम्मेदवार तय गर्न भएको प्रयास असफल मात्रै भएको छैन नेताहरुबीच असहमति बढ्दो छ ।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला सभापतिको प्रत्याशी रहेका छन् । सभापतिका उम्मेदवारहरुबीच सामुहिक छलफल हुन नसकेपनि नेताहरुले एकले अर्कालाई भेटेर समर्थन जुटाउने प्रयास जारी राखेका छन् ।

सबैको आ–आफ्नै दावी

सभापतिमा दावी गरिरहेका सबै नेताहरुको आ–आफ्नै दावी छ । वरिष्ठ नेता पौडेल आफू समूहमा सबैभन्दा सिनियर रहेको बताउँछन् । महामन्त्री शशांक सभापति शेरबहादुर देउवालाई पराजित गर्न आफूले मात्रै सक्ने दावी गर्छन् । पूर्व महामन्त्री सिंह आफू महामन्त्री र उपसभापति भइसकेको तथा अघिल्लो महाधिवेशनमा त्याग गरेकोले यसपटक सभापति लडेरै छाड्ने बताउँछन् । सभापतिका अर्का प्रत्याशी शेखर देशभर आफ्नो पक्षमा माहोल बनेको र पावर सेयरिङका लागि तयार रहेको बताउँदै आएका छन् ।

नेताहरुको आ–आफ्नै दावीका कारण सहमति जुटिसकेको छैन । संस्थापन इतर समूहका केही युवा नेताहरु साझा उम्मेदवार बनाउन प्रयत्नरत त छन् तर परिणाम देखिएको छैन । ‘आफूलाई योग्य देखाउन नेताहरुले अरुलाई आरेपित गर्न थालेका छन् । यही कारण हामीले थालेको प्रयास टुंगोमा पुग्न सकेको छैन । क्षेत्रीय अधिवेशनपछि सबै नेताले आफ्नो आकार महसुस गर्नुहुन्छ त्यसपछि सहमति जुटाउन सकिन्छ होला’, संस्थापन इतर पक्षका एक युवा नेताले भने ।

प्रकाशमान फकाउने प्रयास

‘गणेशमानको परिवारले मात्रै सधै त्याग्नुपर्ने ?’, पूर्व महामन्त्री सिंहले सार्वजनिक मञ्चबाटै प्रश्न गर्दै आएका छन् । तर संस्थापनइतरका उम्मेदवारहरुको प्रयास उनै प्रकाशमानलाई ‘त्याग गराउने’ मा केन्द्रीत छ ।

विहीबार वरिष्ठ नेता पौडेल पूर्व जानकारी बिनै चाक्सीबारी पुगेका थिए । शुक्रबार शेखर कोइरालाले पनि सिंहलाई चाक्सीबारी पुगेका छन् । पौडेल र शेखर दुवैले सिंहलाई सभापतिमा आफूलाई सघाउन आग्रह गरेका छन् । शेखरले सिंहलाई भावी प्रधानमन्त्रीको रुपमा सहयोग गर्ने प्रस्ताव राखेका छन् । त्यस्तै पौडेलले पनि पावर सेयरिङको प्रस्ताव गरेका थिए । सिंहले भने दुवै नेतालाई यसपटक आफैलाई सघाउन भनेका छन् ।

‘यसपटक सभापतिमा मलाई सहयोग गर्नुस्, पावर सेयरिङ गर्न मै तयार छु’, सिंहले दुवैलाई भनेका छन् । पौडेल र शेखर दुवै प्रकाशमानलाई फकाउन सके साझा उम्मेदवार बन्न सहज हुने निष्कर्षमा छन् । प्रकाशमान आफैं जसरी पनि सभापति लड्न कस्सिएकोले यथास्थितिमा सहमति जुटिहाल्ने अवस्था छैन ।

शशांकको दावी यथावत

सभापतिमै दावी गरिरहेका महामन्त्री डा.शशांक भने साझा उम्मेदवार बन्ने प्रयासमा छन् । यद्यपि एक आन्तरिक बैठकमा प्रकाशमानबारे गरेको टिप्पणीको भिडिओ सार्वजनिक भएपछि सिंहसँग सम्बन्ध चिस्सिएको छ । अर्कोतिर दाजु शेखरलाई समर्थन दिइसकेको भन्ने चर्चाका बीच शशाकंले आफू मैदानमै रहेको बताउने गरेका छन् ।

शशाकंनिकट नेताहरु सकभर सभापतिमै लड्ने अन्यथा वरिष्ठ नेता पौडेलको नेतृत्वमा टिम बनाउनुपर्ने पक्षमा देखिन्छन् । यहीकारण सभापतिमा शशाकंले दावी छोडेका छैनन् । साझा उम्मेदवारबिना देउवा हराउन नसकिने घोषणा गरेका शशांक संस्थापइतर समूहमा अन्य उम्मेदवारभन्दा लचिलो देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर