दैलेख र सुर्खेतका ८ प्रदेश क्षेत्रमध्ये ६ वटामा कांग्रेस संस्थापनको जित – Nepal Press

दैलेख र सुर्खेतका ८ प्रदेश क्षेत्रमध्ये ६ वटामा कांग्रेस संस्थापनको जित

सुर्खेत । कर्णाली प्रदेशमा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका सुर्खेत र दैलेख जिल्ला मात्रै हुन् । जनसंख्याका हिसाबले सबैभन्दा ठूला यी दुई जिल्लामा हालै कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेसको पौडेल समूह बलियो मानिँदै आएको यी जिल्लामा यसपटक भने संस्थापन पक्षले बहुमत जित हात पारेको छ । दुइ जिल्लाका ८ प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको संस्थापन पक्षले ६ तथा पौडेल पक्षले २ स्थानमा जित हात पारेका छन् । अधिकांश स्थानमा प्यानलसहित नै निर्वाचित भएर आएका कारण दुवै जिल्लाको नेतृत्वमा पनि संस्थापन पक्ष हावी हुने देखिएको छ ।

दैलेखमा प्रदेशका चार निर्वाचन क्षेत्र रहेको छ । जसमा दुईमा संस्थापन र दुईमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (१) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । १ (२) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरको प्यानल निर्वाचित भएको छ ।

निर्वाचन क्षेत्र नम्बर दुइ (१) मा टंक ओली निर्वाचित भएका छन् । नेपाली कांग्रेस प्रदेश अधिवेशनमा दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (२) मा संस्थापन पक्षका उम्मेदवार खगेन्द्र शाही ‘राउटे’ विजयी बनेका छन् । निर्वाचनमा उनले निकटतम प्रतिद्धन्दी लबराज शाहीबाट ८ मत अन्तरमा हराए ।

सुर्खेतमा रहेका चार प्रदेश निर्वाचन क्षेत्रमा सभापति १ (१) मा केशर ओली सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । १ (२) मा भुपेन्द्र सुवेदी निर्वाचित भएका छन् । यी दुवैको प्यानल नै विजयी बनेको हो ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुइको (१) मा संस्थापन पक्षको प्यानल नै विजयी बनेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरको यो चुनावलाई निकै महत्वका साथ हेरिएको थियो । पौडेल पक्ष र संस्थापन पक्षले यहाँ संस्थापन पक्षका उम्मेदवार कर्णबहादुर बुढा २४ मतअन्तरले विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्दी गणेश पन्त थिए ।

निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पनि नेतृत्व सर्वसम्मत चयन भएको छ । यहाँ तेजबहादुर बस्नेतले बाजी मारेका हुन् । विजयी सबै संस्थापन पक्षका उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर