पत्रकार महासंघले भन्यो – पार्टीको चुनाव लड्नेलाई कारवाही गर्छौ – Nepal Press

पत्रकार महासंघले भन्यो – पार्टीको चुनाव लड्नेलाई कारवाही गर्छौ

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक दलका विभिन्न समितिमा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यसमेत उम्मेदवार बन्नु महासंघको विधान विपरीत रहेको भन्दै ध्यानाकर्षण गरेका हुन् ।

पत्रकारहरु विभिन्न दलको उम्मेदवार बनेको विषयमा प्राप्त आलोचना र टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै विधान उल्लघंन भएमा कारवाही हुनेतर्फ सचेत गराएको छ ।

‘राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्नसक्ने तर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्र पर्ने महासंघले स्मरण गराएको छ । महासंघले केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा उच्च नैतिकता प्रस्तुत गर्न आग्रह समेत गरेको छ ।

विज्ञप्तीमा महासंघको विधान, कार्ययोजना र पत्रकार आचारसंहिताविपरीत काम गर्नेलाई कारवाही गर्न महासंघ प्रतिवद्ध रहेको समेत उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर