आफ्नै समूहका कार्यकर्ताले कुटेर घाइते बनाएका पन्तलाई गृहमन्त्रीले अस्पताल पुगेर भेटे
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नै समूहका कार्यकर्ताबाट कुटिएर उपचार गराइरहेका कांग्रेस नेता शैलेस पन्तलाई अस्पतालमै भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाली कांग्रेसको दुई समूह बीचको विवादका कारण आक्रमणमा परि घाइते पन्तलाई खाँणले अस्पतालमै भेटेका हुन् ।
आइतबार गृहजिल्ला रुपन्देही आएका खाँणले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत घाइते पन्तलाई भेटेर स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।
त्यस क्रममा उपचाररत पन्तले घटना र आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको क्रममा आफू माथि आक्रमण भएको यस्तो प्रवृत्तिको अन्त्य हुने वातावरण निर्माण गरिदिन आग्रह गरेको बिरामीका आफन्तले बताए ।
शुक्रबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनपछि निर्वाचनको मतगणनाका क्रममा दुई पक्षबीच विवाद हुँदा पन्तमाथि खाँण समूहका कार्यकर्ताले हातपात गरेका थिए ।