एमाले महाधिवेशनः चितवनमा मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न (भिडिओ) – Nepal Press

एमाले महाधिवेशनः चितवनमा मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न (भिडिओ)

चितवन । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा मञ्चनिर्माणको काम तीव्रता पाएको छ । मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च निर्माणको करिब ५० प्रतिशत काम पुरा भएको बताए ।

४ खण्डमा ५ सय बढीको भारबहन क्षमताको आकर्षक मञ्च निर्माण गरिदैँछ । नारायणी नदी किनारको बगरमा माटो–बालुवा राखेर समथर बनाएर फलामे मञ्च बनाइदैछ ।

‘स्टेजमा भारबहन क्षमता परीक्षण गर्दैछौँ’, उनले भने, ‘भोली बेलुकासम्म ७५ प्रतिशत काम पुरा हुनेछ, ८ गते बेलुकासम्म ९० प्रतिशत र ९ गते काम सबै काम पुरा गर्ने लक्ष्य छ ।’ उनले नदी किनार हेर्न लायक ठाउँका रुपमा विकास हुने बताए ।

‘हामीले महाधिवेशनपछि यहाँ केही संरचना बनाएर उपहार छाड्नेछौँ’, उनले भने, ‘स्थायी संरचनाका सेल्फी प्वाइन्ट बनाएर छाडिनेछ ।’

उनले उभिएको गैडाले एमालेको झण्डा बोकेको प्रतिमा आगामी दिनमा समेत त्यही रहनेछ । यस्तै मजदुरहरुले पृथ्वी उचालेको प्रतिमा पनि स्थायी रुपमा बनाइनेछ । २ वटा स्थायी सेल्फी प्वाइन्ट भूँई ढलान गरेर ढुंगाको कलात्मक स्वरुपमा प्रतिमाहरु राखिनेछ । यी स्थायी संरचना बनाउन करिब ५ लाख लाग्ने अनुमान छ । उनका अनुसार नदी किनारमा २४ वटा सेल्फी प्वाइन्टहरु हुनेछन् ।

आकर्षक मञ्चको मुख्य खण्डमा मूल व्यानर रहनेछ । जहाँ पाहुनाहरु राखिनेछन् । यस्तै दायाँतर्फको खण्डमा केन्द्रीय सदस्यहरु, बायाँतर्फ सल्लाहकार परिषद् र अग्रभागमा कला प्रस्तुत गर्ने ठाउँहरु हुनेछन् ।

उनका अनुसार मञ्च व्यवस्थापन र नदी किनार सम्याउने काममा करिब ५० लाख खर्च लाग्ने बताए । उनले १० गते तोकिएका स्थानहरुमा मात्रै सवारी पार्कीङ गर्न सबैमा अपिल गरे ।

‘देशभरीबाट सवारी प्रयोग गरेर नेता, सर्वसाधरणहरु आउनेछन्’, उनले भने, ‘नजिकैको नारायणगढ बजारमा ट्राफिक जाम नहोस् भनेर पार्कीङ व्यवस्थापन मिलाएका छौँ ।’ ११ वटा पार्कीङ स्थलहरु बनाइएका छन् ।

यातायात व्यवस्थापन उपसमितिका संयोजक प्रदेश सांसद कृष्ण भुर्तेलले बजार क्षेत्रहरुमा पार्किङ निषेध गरिने बताए । उनका अनुसार मुग्लिन हुँदै आउने सवारीहरु नेपाल ट्रष्टको खाली जग्गा, नारायणी लिफ्टको क्षेत्र, गणेशस्थान क्षेत्रमा पार्कीङ हुनेछन् । यस्तै पूर्वबाट आउने सवारीहरु केन्द्रीय बस टर्मिनल, पश्चिम जिल्लाहरुबाट आउने सवारीहरु गैडाकोट, बेलचोक, बागेश्वरी क्षेत्रमा पार्कीङ गरिनेछ । कालिका नगर क्षेत्रबाट आउने सवारीलाई वीरेन्द्र क्याम्पसको ९ विघा चौरमा व्यवस्थापन गरिनेछ ।

बन्दसत्र हुने सौराहको होल सेभने स्टार नजिकै २ विघा क्षेत्रमा अस्थायी हल (डोम) निर्माण कार्य सुरु भएको छ । प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले २ हजार प्रतिनिधिहरु अटाउने हल निर्माण कार्य सुरु भएको बताए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठाहरु अग्रिम बुक भैसकेका छन् ।

मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ भने मंसिर ११ राति पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सौराहामा रात्रि भोजको आयोजना गरेका छन् ।

महाधिवेशनलाई लक्षित गरेर १५ सय बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिदैछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आश्मान तामाङले चितवन र नवलपुरको सुरक्षा व्यवस्था कडा पार्न लागिएको बताए ।

१० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने तामाङले बताए ।

एमालेको १०औँ राष्ट्रिय महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर