एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्छौं : गोर्कण विष्ट (भिडिओ) – Nepal Press

एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्छौं : गोर्कण विष्ट (भिडिओ)

काठमाडौं । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् ।

मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताएका हुन् ।

उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे। महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनको दावी छ ।

उनले भने,‘नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिदैँछ, एमालेमाथि षड्यन्त्र गरिदैँछ । यो कुरालाई हामीले गम्भिरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सिमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ ।  एमालेभित्र विवाद, अन्तरविरोध छैन । एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरुमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरुमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरुलाई पुरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्नेगरी नै हामी भुमिका खेल्छौँ।’

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनले बताए ।

उनले भने, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’

त्यसैगरी नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे । जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले बताए ।

उनले भने,‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमती भनेको पनि ठुलो प्रक्रिया हो । हामी सहमतिकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु सहमतिको पक्षमा हुनुहुन्छ । जुन साथीहरुले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरु आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकी जुन प्रतिनिधिको भरमा उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरुले फिर्ता लिनुहुन्छ ।’

उनले एमालेको नेतृत्व चयन सहमतिमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको बताए । केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर