एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट पदाधिकारीसहित आठ पदमा उम्मेदवारी घोषणा – Nepal Press

एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट पदाधिकारीसहित आठ पदमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । मंसिर १० गतेदेखि चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा वाग्मती प्रदेश भित्रको राजनीतिक रुपमा महत्वपूर्ण जिल्लाको रुपमा हेरिएको सिन्धुपाल्चोकबाट मात्रै आठ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशनमा केन्द्रीय सचिवदेखि स्थायी कमिटी सदस्य र अन्यले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका हुन् । पिस्कर विद्रोहका कारण चर्चामा रहेको सिन्धुपाल्चोक एमालेका नेताहरुले सञ्चारकर्मी र निकटस्थहरुबीच उमेदवारी घोषणा गरेका हुन् ।

हाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहरा उमेर हदका कारण कुनै पनि पदमा उम्मेदवारी हुन पाउँदैनन् । उनका उत्तारधिकारीका रुपमा हाल पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सकेसम्म पदाधिकारी नभए स्थायी कमिटी सदस्यसम्म आउने गरी तयारी गरिरहेका छन् ।

त्यस्तै नेकपा एमालेको लेखा आयोगका पूर्व सदस्य एवम् प्रदेशसभा सदस्य सरेश नेपाल, पूर्वमाओवादीबाट आएका हालका केन्द्रीय सदस्य दावा तामाङ, पूर्वसासंद सुवास कर्माचार्य, वाग्मती प्रदेशका सदस्य केदार क्षेत्री, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारयण श्रेष्ठ र संविधानसभा सदस्य डोल्मा तामाङले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत हुने हो भने उम्मेदवारी नदिने र निर्वाचन हुने हो भने आफूहरुको उम्मेदवारी कायम हुने नेताहरुले बताएका छन् ।

अरुण नेपाल

नेकपा एमालेको नवौ महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचीत अरुण नेपाल अनेरास्ववियुको सातौं केन्द्रीय अधिवेशनदेखि केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

२०४० सालको पिस्कर हत्याकाण्डमा चार वर्ष जेल जीवन बिताएका नेपाल विद्यार्थी संगठन अनेरास्ववियुमा समस्या हुँदा केन्द्रीय अध्यक्षसमेत भएका थिए ।

एमाले भित्र सरल नेताको रुपमा चिनिएका नेता नेपाल एमालेको वाग्मती प्रदेश भित्र ‘टप थ्री’ नेताको रुपमा चिनिन्नछन् । वाग्मती प्रदेशमा एमालेले अष्टलक्ष्मी शाक्य पहिलो, पशुपति चौलागाई दोस्रो, सुरेन्द्र पाण्डे तेस्रो र अरुण नेपाल चौथो नम्बरको वरीयातक्रममा थिए । चौलागाईको निधन र पाण्डे समाजवादीमा गएपछि नेपाल वागमती प्रदेश भित्र दोस्रो नम्बरको नेताको रुपमा स्थापित छन् ।

गएको प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश ‘क’ बाट विजयी भएका नेपाल तीन वर्षसम्म वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री समेत भएका थिए । नेपालको कार्यकालमा वागमती प्रदेश भित्र उद्योग र पर्यटन क्षेत्रका विकास लागि धेरै कामहरुको सुरुवात गरिएको नेपालले बताए ।

एमाले भित्र समस्या सुरु भएपछि नेपाल पार्टी विभाजन रोक्न लामो समयदेखि सक्रिय थिए । वागमती प्रदेशमा पार्टीलाई एक ढिक्का बनाउनका लागि नेपालले महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘म केन्द्रीय सदस्यहुँदै पोलिटब्युरो सदस्यसमेत भइसकेको छु, अब त्यही पदमा फेरि दोहोरिन त्यति राम्रो हुँदैन, त्यसैले साथीहरुसँगको सरसल्लाहामा सचिवसम्म उम्मेदवारी हुन्छ’, नेपालले भने । केपी ओली अब एमालेको निर्विकल्प नेता भएकाले अब नीति, निर्णय र नेतृत्वलाई एकताबद्ध बनाएर अधिवेशनमा जानुपर्ने नेपालको भनाइ छ ।

शेरबहादुर तामाङ

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित शेरबहादुर तामाङ अहिले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । सिन्धुपाल्चोकबाट संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङ दुईपटक मन्त्रीसमेत भइसकेका छन् ।

युवा संघको केन्द्रबाट राजनीति सुरुवात गरेका तामाङ पार्टी भित्र इमान्दार नेताको रुपमा स्थापित छन् । पार्टीको केन्द्रीय कार्यालय सचिव भएपछिको उनको सक्रियताको सबै नेताहरु प्रशंसा समेत गरेका छन् । तामाङ सकेसम्म पदाधिकारी नभए स्थायी कमिटीमा आफूलाई सुरक्षित पार्न लागिरहेका छन् ।

सरेश नेपाल

२०४० सालको पिस्कर विद्रोहबाट राजनीतिमा छाएका एमाले नेता सरेश नेपाल पार्टी भित्र, विशेष गरी तल्लो वर्गका मुद्दालाई प्राथामिकतामा राखेर उठाउने नेताका रुपमा चर्चित छन् ।

भूमिहिन सुकुम्बासीहरु का लागि भूमि दिलाउन लामो समयदेखि संर्घष गर्दै आएका नेपाल सिन्धुपाल्चोकमा लोकप्रिय नेताको रुपमा स्थापित छन् । जिल्ला विकास समितिको उपसभापति, सभापतिहुँदै गएको निर्वाचनमा लोकप्रिय मतसहित प्रदेशसभा सदस्य भएका नेपाल केही महिना वागमती प्रदेशको मन्त्रीसमेत भएका थिए ।

केपी ओलीसँग सुरुदेखि नै निकटस्थ नेपाल पार्टीलाई एकढिक्का बनाएर लैजानका लागि निरन्तर लागिरहेका नेता हुन् । दशौं राष्ट्रिय महाधिवेशनमा नेपालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सर्वसम्मत हुँदासमेत नेता नेपाल एमालेको केन्द्रमा पर्ने नेता मध्येका हुन् ।

दावा तामाङ

माओवादी केन्द्रबाट विद्रोह गरेर एमालेमा आएका तामाङ माओवादी भित्र सिन्धुपाल्चोकमा ‘पेलान’मा परेका नेता थिए । रामबहादुर थापासहितका नेताहरु एमालेमा बसेपछि उनी पनि सँगै एमालेमा बसेका थिए । २०६४ सालको निर्वाचनमा पशुपति शमसेर राणालाई हराएर देशव्यापी चर्चा बटुलेका तामाङ केपी ओली नेतृत्वमा ६ महिना मन्त्रीसमेत भएका थिए ।

सुभाष कर्माचार्य

२०३७ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा उदाएका सुभाष कर्माचार्य पार्टी भित्र निडर र हक्की स्वभावका नेता हुन् । २०५८ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक पार्टी प्रमुख भएका कर्माचार्य माओवादी युद्धमा एमालेका नेता कार्यकर्ताहरुलाई माओवादीले दुःख दिने क्रम बढेपछि सशक्त प्रतिकारमा समेत उत्रीएका थिए ।

२०५६ सालमा सिन्धुपाल्चोक दुईबाट संसदमा निर्वाचित भएका कर्माचार्य पूर्व राजाको सम्म्पत्ति छानबिन समितिका सदस्य समेत थिए । नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएपनि थोरै मतले पराजित कर्माचार्यले दशौ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

केदार क्षेत्री

१० औ राष्ट्रिय महाधिवेशनमा आफू सिन्धुपाल्चोक जिल्लाबाट खुला तर्फबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएको र विगत तीन दशकदेखि विभिन्न पदमा रहेर पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेकोले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेको क्षेत्रीले बताए । २०३८ सालदेखि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिवहुँदै क्षेत्रीले एमालेको राजनीतिक यात्रा सुरु गरेका थिए ।

२०४४–४५ सालमा काठमाडौको पिपुल्स क्याम्पसको स्ववियु सचिवमा निर्वाचित, २०४६ मा अनेरास्ववियु जिल्ला अध्यक्षहुदै तत्कालीन जिल्ला विकास समितिको सदस्य, राष्ट्रिय प्रतिनिधि परिषदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएको क्षेत्रीले बताए ।

गएको स्थानीय निर्वाचनमा बलेफी गाउँपालिकामा अध्यक्षमा निर्वाचित क्षेत्री राष्ट्रिय यातयात व्यावसायी महासंघको वरिष्ठ उपाध्यक्षसमेत हुन् । देशभरका एमालेका प्रतिनिधिहरुसँग राम्रो सम्बन्ध भएकाले केन्द्रीय सदस्यमा जित्ने क्षेत्रीले दाबी गरे ।

होमनारयण श्रेष्ठ

पञ्चायतीकालमा नै बुबालाई गोली हानेर हत्या गरेपछि होमनारयण श्रेष्ठ सानैदेखि विद्रोही स्वभावका एमालेका नेता हुन् । २०५४ सालमासानो उमेरमा नै तत्कालीन पाङताङ गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएर देशव्यापी चर्चा कमाएका श्रेष्ठ अहिले सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिकाका अहिले अध्यक्ष छन् ।

नेकपा एमालेको विभिन्न कमिटीहरुमा क्रियाशील श्रेष्ठलाई तत्कालीन विद्रोही माओवादीले अपहरणसमेत गरेका थिए । माओवादी ज्यादातीविरुद्ध प्रतिकारमा उत्रेका श्रेष्ठ अहिले गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत छन् ।

देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुसँग राम्रो ‘नेटवर्क’ भएको र पार्टीमा लामो समयदेखि क्रिायशील रहेकाले योपटकको अधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवार दिने र जित्ने दाबी श्रेष्ठले गरे । केपी ओली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट सम्बन्ध भएका श्रेष्ठले एमालेमा विभिन्न आरोह अवरोह झेल्दै अहिले पार्टीको वागमती प्रदेश कमिटीमा रहेका छन् ।

डोल्मा तामाङ

सिन्धुपाल्चोकको पश्चिीम क्षेत्र, जुन क्षेत्रमा यसअघि चेलीबेटी बेचबिखन हुने क्षेत्रको रुपमा परिचित इचोक गाउँबाट राजनीतिक यात्रा सुरु गरेकी तामाङ संघर्षशील महिलाको रुपमा परिचित छन् ।

इचोकमा सबै राप्रपाहुँदा समेत उनी मात्रै एक्लो एमालेको विरासतको रुपमा गाउँमा उभिदा उनलाई त्यतिबेला राप्रपाका स्थानीय नेताहरुले गाउँ निकाला समेत गरेका थिए ।

संविधानसभा सदस्य समेत रहेकी तामाङ अहिले नेकपा एमाले सिन्धुपाल्चोकको उपाध्यक्ष छन् । देशभरका एमालेका महिला नेतृत्वहरुसँग निकट सम्बन्ध राख्ने तामाङले एमालेको दशौ महाधिवेशनमा केन्द्रीय सदस्यमा जित्ने दाबी गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर