एमाले अध्यक्ष ओली नै हुनुपर्ने १० कारण
अहिले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीत मात्रै तरंगित बनाएको छैन, छिमेक र अन्तर्राष्ट्रिय जगतमा समेत यसको चासो र चर्चा छ ।
मुलुकको सबैभन्दा ठूलो दल र भोलि मुलुकको नेतृत्व गर्ने पार्टी भएकाले पनि यसपटकको एमाले महाधिवेशनलाई आमजनता र कार्यकर्ताले मात्र नभइ अन्य राजनीतिक दलले पनि चासोका साथ हेर्नु स्वभाविक हो ।
यसअघि काठमाडौंमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेको जारी महाधिवेशनले आगामी पाँच वर्षका लागि नेतृत्व छान्नेछ । पार्टीको नीति, सिद्धान्त, रणनीति र कार्यनीतिको विषयमा मूलतः विधान महाधिवेशनबाट टुंगो लगाएको छ ।
पार्टीको अहिलेको महाधिवेशनको अभिभारा भनेको नै सशक्त नेतृत्व छान्नु हो । जुन नेतृत्वले भोलि राष्ट्र हाँक्ने, राष्ट्रियताको रक्षा गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई साकार पार्नु छ । त्यसका लागि यतिबेला एमालेको निर्विकल्प नेतृत्व भनेको केपी ओली नै हुन् ।
हुन त यसअघि नै पार्टीको नेतृत्व गरिसकेका ओलीलाई किन पुनः अध्यक्ष भन्ने प्रश्न उठ्न पनि सक्छ । तर यतिबेला मुलुकको सबैभन्दा ठूलो पार्टी भए पनि फुटको समाना गर्न परेको छ । गठबन्धनको नाममा देशी विदेशी प्रतिक्रियावादी र घरेलु यथास्थितिवादी प्रतिगमनकारी शक्तिविरुद्ध लड्नु पर्नेछ ।
पुनः स्थानीय र आम निर्वाचनमार्फत् एमालेलाई जनताद्वारा अनुमोदन गराएर राष्ट्रियताको रक्षा र लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउनुपर्ने चुनौती छ । फेरि नेकपा एमालेलाई एकताबद्ध बनाउँदै वाम ध्रुवीकरण गरी उग्रक्रान्तिकारी र दक्षिणपन्थ अवसरवादीविरुद्ध संघर्ष गर्नुपर्नेछ ।
एमालेविरुद्ध सिर्जना गरिएको भ्रमहरुलाई चिर्नुपर्ने छ । यसका लागि एक मात्र विकल्प सक्षम र पार्टी हाँक्नेसक्ने नेतृत्व भनेकै दक्षिण एसियाको राजनीतिमा समेत हावीहुँदै अन्तर्राष्ट्रियरुपमा समेत स्थापित नेतृत्व केपी शर्मा ओली नै हुन् ।
केपी शर्मा ओली नेतृत्वको औचित्यलाई निम्न तथ्यले पुष्टि गर्दछ–
१. राष्ट्रियताको सुत्रधार
नवौं महाधिवेशनवाट केपी ओली नेकपा एमालेको अध्यक्ष निर्वाचित भएपछि नेपालको राष्ट्रियताको विषय आमजनताको चासो विषय बनेको छ । त्यसमा पनि २०७३ सालमा नेकपा एमालेको सरकार बन्यो । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी ओली गरेका थिए । त्यसपछि नेपालको राष्ट्रियताको विषय अन्य राजनितिक दल र नागरिकको पनि चासोको विषय बन्दै गयो ।
नेपालमा नयाँ संविधान जारी गरेकै कारण भारतले नेपालमा नाकाबन्दी गर्दा त्यसको खुलारुपमा प्रतिवाद गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई चुनौती दिनु केपी ओलीको राष्ट्रियता मापनको आधार हो ।
केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको आधिकारिक नक्सा जारी गरी भारतलाई चुनौती दिनु, छिमेकी राष्ट्र चीनसँग पारबहन सन्धि गरी विभिन्न व्यापारिक नाकाहरु खोल्नु केपी ओलीका ऐतिहासिक एवं साहसिक कार्य हुन्, जसलाई नेपालका कयौं पुस्ताले एक जिउँदो पुरुषको रुपमा उनको सम्मान गर्नेछ ।
२. संविधानप्रतिको स्पष्ट धारणा
संविधान जारी गर्नुपूर्व नेपालको आन्तरिक एकतामा भारतले हस्तक्षेप गर्दै आएको थियो । जुन कुरा पहिलो संविधानसभाको विघटन र संविधान बन्न लागेको समयका साथै नेपालका राजनीतिक दलबीचको अस्वभाविक संघर्षबाट नै प्रष्ट हुन्छ ।
संविधान जारी गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्पष्ट धारण राख्दै नेपालको संविधान जारी गर्ने हक नेपाली जनताको मात्र हुने तर्क राखी संविधान जारी गर्न कुनै बाह्य शक्तिको आवश्यक्ता नपर्ने कुरालाई नेकपा एमालेको धारणाको रुपमा स्थापित गरी संविधान जारी गर्ने अहम् भुमिका खेलेका थिए । जसकारण २०७२ साल असोज ३ गते संविधानसभाबाट निर्मित संविधान जारी गर्न सम्भव भयो ।
संविधान जारी हुँदा तराईका केही दलले संविधानलाई स्वीकार गरेका थिएनन् । तर केपी ओलीले नै पहिले संविधान अस्वीकार गर्नेलाई सरकारमा सामेल गरी संविधानको सर्वस्वीकार्यतालाई पुष्टि गरेका थिए । साथै संविधान कुनै लहडमा नभइ आवश्यताको सिद्धान्तको आधारमा संसोधन हुने कुरालाई केपी ओलीले प्रमाणित गरेका छन् । त्यो नै केपी ओलीको संविधानप्रतिको स्पष्ट बुुझाइ हो ।
३. भूराजनीतिक सुझबुझमा दक्षता
नेपालको भूराजनीति निकै संवेदनशील छ । दुई ठूला मुलुकबीच विशिष्ठ राजनीतिक परिस्थिति र अवस्थितिमा नेपालले कूटनीतिक, रणनीतिक र राजनीतिक सुझबुझपूर्ण चातुर्यता तथा समन्वय गरेर मुलुकको हितमा अघि बढ्नुपर्ने दायित्व निर्बाह गर्नुपर्ने छ ।
त्यसका लागि दुई छिमेकीसँगको समदूरीको सम्बन्ध कायम गर्दै भूपरिवेष्ठित मुलुकलाई भूजडित बहुआयमिक व्यपार सञ्जालसँग जोड्नुछ । त्यसका लागि कूटनीतिक र राजनीतिक रुपमा सक्षम र राजनीतिज्ञलाई कायम राख्दै चीनका राष्ट्रपति सि जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनु नै एक ज्वालन्त प्रमाण हो ।
४. भौतिक पूर्वाधार र आर्थिक समृद्धिका योजनाकार
भूकम्पले तहसनहस भएका धरहरा, रानीपोखरीलगायतका कयौं साँस्कृतिक धरोहर केपी ओली नेतृत्वको सकारले उठायो । लुम्बिनी पोखराजस्ता अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि पानीजहाज, रेल, सुरङमार्ग र सडक सञ्जालको निर्माण र भौतिक पूर्वधारमा एमाले नेतृत्वको समयमा कायापलट नै भयो ।
मुलुकको भौतिक विकासमा ओली नेतृत्वका सरकारले अहिलेसम्मकै ठूलो परिर्वतन ल्यायो । ती अधुरा विकास र नेपालको आर्थिक समृृद्धिका लागि फेरि पनि छलाङमय गतिमा विकास निर्माणलाई अघि बढाउन र नेपाली जनताका विकासको आकांक्षा पूरा गर्ने फिक्स डिजाइन केपी ओलीसँग मात्र छ । त्यसैले नेकपा एमालेको भविष्य निर्माणको लागि मात्र नभएर नेपालको आर्थिक, राजनीतिक, भौतिक परिवर्तनको लागि अहिले नेपालमा केपी ओलीको विकाल्प छैन ।
५. नेकपा एमालेका पुनःजीवनकर्ता
एकबेला नेकपा एमालेको अस्तित्व समाप्त भइसकेको थियो । एकताको नाममा बहुदलीय जनवाद एकादेशको कथामा सीमित भइसकेको थियो । २१ औं शताब्दीको सिर्जनशील विचार जबज एकताको नाममा ओझेलमा पर्दा आम पार्टी कार्यकर्ता निरास थिए ।
एमालेको बिरासत, विचार, राजनीतिक निष्ठा समाप्त हुने अवस्था थियो तर कोमामा पुगेको एमालेलाई ब्युँझाएर पुनः नेपाली राजनीतिमा हाबी गराउने श्रेय कुनै व्यक्तिलाई जान्छ भने त्यो निर्विकल्प केपी शर्मा ओलीलाई मात्र जान्छ ।
हाल नेकपा एमालेलाई चोइट्याएर नेकपा एस गठनको क्रममा रहेका माधव नेपाल र झलनाथ खनालले नेकपा एमालेको नेतृत्व गर्दा नेकपा एमाले लिङ्ग नछुटिएको पार्टीको उपमा पाएको थियो । त्यसताका नेकपा माओवादीको चरम ज्यादतीको सिकार नेकपा एमाले र यसका कार्यकर्ता नै थिए ।
नेकपा माओवादीलाई राजनीतिक वैचारिक बहस गर्दै खुलमखुला चुनौती दिने विषम परिस्थितिमा नेकपा एमाले जोगाउने कार्यको नेतृत्व गर्ने एकमात्र पात्र केपी ओली नै थिए । नवौं महाधिवेशनबाट केपी ओली अध्यक्ष निर्वाचित भएपछि नेकपा एमालेको पहिचान नै बदलियो ।
त्यसपछि नेकपा एमाले नेपालको परिवर्तनको संवाहक, जनताको भरोसाको पार्टी, राष्ट्रियताको रक्षक हुनुको नाताले नेकपा माओवादी ‘भाइ कम्युनिष्ट’लाई मूलधारमा ल्याउने प्रमुख शक्तिको रुपमा स्थापित भयो । यो काम ओलीकै नेतृत्वमा सम्भव भयो ।
२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण हुनुपूर्व र भएपछि एकता प्रकियामा बाधा अवरोध गर्नेहरु पूर्वएमालेका कैयन नेताहरु थिए । र तिनैले पार्टी निर्माणमा वाधा अवरोध गरेका थिए । एकतापछि पनि कसरी पार्टी एक बनाउनेभन्दा पनि कसरी नेतृत्वमाथि आलोचना र असहयोग गर्ने, बहुमतले अल्पमतलाई शासन गर्नेबीचको द्वन्द्व रह्यो ।
नेकपा फुट्दा एमालेको अस्तित्वविहीन बनाउने अवस्था आउँदा नेकपा एमालेको पूर्वनेतृत्वबाट नै अस्तित्व नामेट पार्ने अभियान चालिरहँदा केपी ओलीकै जोडबलमा नेकपा एमालेले आफ्नो अस्तित्व कायम राख्न सफल भएको हो । साथै लहडमा चोइटिएकाहरुका साथमा हिँडेका कैयन नेता कार्यकर्ताहरुलाई पुनः गोलबद्ध गर्नु केपी ओलीको पहिचान हो । त्यसैले एमालेमा केपी ओली निर्विकल्प अध्यक्ष हुन् ।
६. जनताको बहुदलीय जनवादको वास्तविक कार्यान्वयकर्ता
कम्युनिष्ट पार्टी बल प्रयोगमा विश्वास गर्छ । कम्युनिष्ट पार्टीले हिंसाको राजनीति गर्छ भन्ने मानकलाई जनताको बहुदलीय जनवादले विस्थापित गरिदियो । कम्युनिष्ट पार्टी जनताबाट अनुमोदीत हुने र जनताबीचमा रहेर जनताकै लागि सेवा गर्ने, जनतालाई हिंसा र शोषण दमन होइन, वर्गीय र जातीय विभेद अत्य गर्न जनताबाट चुनिएर जनताकै लागि काम गर्नु नै जबजको मूल मर्म हो ।
अहिलेको सन्दर्भमा त्यसको कार्यान्वनकर्ता केपी ओली मात्र हुन् । जसले जनताको मतद्वारा श्रेष्ठता हासिल गरेर जनताकै लागि समतामूलक राज्य निर्माणको गर्न कटिबद्ध भएर लाग्ने जबजको मदन भण्डारीको पदचापलाई पछ्याउँदै वर्गीयताको आलोकमा फुलाउने काम गरे ।
त्यसैले २१ औं शताब्दीमा परिर्वतित विश्व व्यवस्था र पार्टीलाई जनतासंग जोड्ने जबजको प्रयोगकर्ता केपी ओली नै हुन् । तसर्थ केपी ओलीको विकल्प यतिबेलासम्म छैन ।
७. राजनीतिक स्थायित्व र स्थिर सरकार निर्माणका हिमायती
सात सालदेखि नै मुलुक राजनीतिक अस्थिताको भुमरीमा परेको छ । दुईतिहाइको कम्युनिष्ट नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी कांग्रेस नेतृत्वको सरकारमा स्वयम् पार्टी फुटाएका माधव नेपाल, झलनाथ खनाल र नेकपा माओवादीलाई विलयको दिशामा लगेका प्रचण्डले नेतृत्व गरेका छन् । अहिले कांग्रसे नेतृत्वको पाँच दलीय गठबन्धको सरकार छ । तर यसले न राष्ट्रिय हितमा काम गर्न सक्छ न त राजनीतिक स्थिरता र स्थायित्व दिन सक्छ । न त विकासको योजना नै छ । मुलुकका सबैभन्दा ठूलो पार्टी नै प्रतिपक्षमा बस्नु जनमतको अपमान मात्र होइन, बिडम्बनाको विषय हो । यसर्थ फेरि एकपटक दुईतिहाई मतसहित नेकपा एमालेलाई विजय गराएर बलियो सरकार र स्थिर सरकार बनाएर नेपाल र नेपालीको भविष्य कोर्नुछ । सामरिक र रणनीतिक महत्व बोकेको मुलुकमा अन्तर्राष्ट्रिय हस्तक्षेपको अत्य गर्नुछ । त्यसका लागि केपी ओली नै पहिलो निडर र सहसी नेता हुन् । त्यसैले नेकपाको एकमात्र अध्यक्ष केपी ओली नै बन्नुपर्छ ।
८. बृहत् कम्युनिष्ट पार्टी निर्माणको अभियान्ता
विश्व कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा दुईतिहाईको प्रचण्ड बहुमतसहित नेपालमा कम्युनिष्ट सरकार बनेको थियो । तर यतिबेला पार्टी फुट र वाम आन्दोलन छिन्नभिन्न भएको छ ।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको नेतृत्वकर्तामध्येका एक रामबहादुर थापा बादललगायतका नेता एमलेमै रहे पनि प्रचण्ड नेतृत्वको एउटा हिस्सा र माधव नेपाल समूह चाइटिएर गएका छन् । वैद्य, सीपी मैनाली नेतृत्वको कम्युनिष्ट समूह साथै अन्य वाम पार्टीहरुलाई समेटेर फेरि कम्युनिष्ट पार्टीलाई एकताबद्ध नगर्ने हो भने फेरि नेपाली कांग्रेस जस्ता दक्षिणपन्थ पार्टीको शासन हुने र वाम आन्दोलन छिन्नभिन्नसँगै नागरिकका हक अधिकार असुरक्षित हुनेछन् ।
यससँगै संघीयता र संविधान कार्यान्वय नै धरापमा पर्ने निश्चितप्रायः छ । त्यसका लागि सबै प्रगतिशील क्रान्तिकारी, वाम नेतृत्वले स्वीकार गर्नसक्ने र सबै वाम पार्टीलाई समेट्न सक्ने नेतृत्व भनेकै नेपालको सवैभन्दा ठुूलो कम्युनिष्ट पार्टीको अध्यक्ष हुनुको नाताले केपी ओली नै हुन् ।
९. उँचो व्यक्तित्व
समकालीन नेपाली राजनीतिको मियो केपी ओली हुन् । उनकै वरिपरी नेपाली राजनीति धुमिरहेको छ । नेपाली राजनीतिमा अन्य पार्टीका नेतृत्व केपी शर्मा ओलीले उठान गरेको विषय र एजेण्डामा प्रतिक्रिया जनाउने हैसियतमा मात्र छन् ।
ओलीको नेतृत्व र व्यक्तित्वअघि कांग्रेस, माओवादी र समाजवादीलगायतका अन्य नेता निरीह जस्तै छन् । भलै गठबन्धले सरकारको नेतृत्व गरिरहेको छ । नेकपा एमाले र व्यक्तिगत रुपमा राष्ट्रियताका पहरेदार केपी ओलीलाई समाप्त गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरु लागिपरेका छन् ।
राष्ट्रियरुपमा हरेक दलका नेताहरु प्रचण्ड, शेरबहादुर, माधव नेपाल, भलनाथ खनालहरु केपी ओलीको राजनीतिक नेतृत्व, विकास र राष्ट्रियताको पहरेदारी गर्ने चट्टानी अडानसामू छायाँमा परेका छन् । ओलीप्रतिको आम जनआकर्षणले उनीहरु त्तस्त छन् ।
ओलीको स्पष्ट अडान, बृहत् सोच, सामान्य जीवनशैली, अन्तर्राष्ट्रिय छवि, निर्वाचनमा नेकपा एमाले एक्लै भिड्नसक्ने सामथ्र्य राख्नु आदि कारण अन्य पार्टी र तीनका नेतृत्वको मनोबल गिरेको छ । अहिले नेकपा एमालेको निर्विकल्प नेतृत्व ओली देख्दादेख्दै अध्यक्षमा भीम रावलले दाबी गरेका छन् । यो आफैंमा अशोभनीय मात्र होइन, आम कार्यकर्ताको रुचि, चाहना र पार्टीको स्पिरिटभन्दा बाहिरको विषय हो ।
सधै पार्टीमा भाँजो हाल्ने र नेतृत्वको खेदो खनेर आलोचनाबाजको उपमा पाएका भीम रावलसँग न अहिले पार्टी हाँक्ने समथ्र्य देखिन्छ न त आम कार्यकर्ता पंक्ति र एमाले शुभेच्छुकको चाहना हो । यसर्थ अध्यक्ष पदमा रावलको दाबेदारी पार्टी भित्र पुनः उपाध्यक्ष पदको सुरक्षा गर्ने रणनीतिको रुपमा मात्र आम कार्यकताले बुझेका छन् ।
त्यसैमाथि पार्टी संकटको चक्रब्युहमा परेको यो विषम स्थितिमा वडादेखि केन्द्रसम्म सर्वसम्मत नेतृत्व छनोट गरेर पार्टीमा उत्साह थपिएका बेला उनको अध्यक्षमा उम्मेदवारी पार्टी र कार्यकर्ताको मर्मविपरीत छ ।
१०. समृद्ध नेपाल, सुखी नेपालीको परिकल्नाकार
विश्व अर्थतन्त्रको नेतृत्वकर्ता चीन र भारतको बीचमा छ, नेपाल । प्राकृतिक विविधता र साँस्कृतिक सम्पदाले भरिपूर्ण सुन्दर नेपाल, जुन विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको भूमि हो । विश्वमा कहलिएका साहसी गोर्खाली र कतार, दुवई जस्ता मरुभूमीमा फूल फुलाउने पौरखी नेपाली छन् । तर यहीं मुलुक पिछडिएको विकाशील मुलुकको रुपमा रहेको छ ।
प्रचुर सम्भावन र स्रोत साधन हुँदाहुँदै पनि सक्षम राजनीतिक नेतृत्व र विकासको द्रष्टा नपाउँदा पूर्वीय वैभव तथा तपोभूमि हुँदाहुँदै पनि त्यसको व्यवस्थापन र प्रचार अनि नीतिगत योजना बनाउन नसक्दा हामी पछाडि परेका छौं ।
यसर्थ २१ औं शताब्दीमा रोग, भोक, गरिबी, पछौटेपन र अभाव अत्य गर्दै भूपरिवेष्ठीत मुलुकलाई भूजडित मुलुक बनाउँदै छिमेकीबीच व्यापारिक पुल बनेर मित्रराष्ट्र र तेस्रो मुलुकको विकासका आयम भित्र्याउँदै समृद्ध नेपाल सुखी नेपाली बनाउन एमालेमा मात्रै होइन, देशकै लागि ओलीको नेतृत्व परिहार्य छ । त्यसैले उनी एमालेका निर्विकल्प अध्यक्ष हुन् ।
Yatartha Sahi bislesan.