व्यापार घाटा मन्थनः के आयात गर्ने, के नगर्ने ?
नेपालको अर्थतन्त्रमा अहिले बढ्दो व्यापार घाटाबारे व्यापक चर्चा हुन थालेको छ । तथ्यांकमा हेर्दा हो पनि । आयात र निर्यातको अन्तराल दिनानुदिन फैलँदो छ । तर, देशको समग्र अर्थतन्त्रको विकासक्रममा हुने सबै व्यापार घाटा हानिकारक मात्र हुदैनन् । यसलाई समग्र देशको आर्थिक अवस्था र अन्य आर्थिक सूचकहरूसँग समेत तुलना गरेर हेर्नुपर्ने हुन्छ ।
नेपालको सन्दर्भमा व्यापार घाटा के हो ? अर्थतन्त्रका लागि कस्तो व्यापार घाटाले सकारात्मक र कस्तो व्यापार घाटाले नकारात्मक असर पार्दछ ? व्यापार घाटालाई फाइदाजनक बनाउन हामीले के गर्नुपर्ने हुन्छ ? यीनै विषयको सेरोफेरोमा यो आलेख तयार पारिएको छ ।
व्यापार घाटा भनेको के हो ?
सामान्य अर्थमा व्यापारिक कारोबारमा हुने घाटालाई व्यापार घाटा भनिन्छ, जहाँ खरिद गरेको मुल्यभन्दा कम मुल्यमा मालवस्तुहरू बिक्री गरिएको हुन्छ । तर, राष्ट्रको अर्थतन्त्रका सन्दर्भमा हेर्दा यति मात्रले यसको अर्थ पूरा हुँदैन । यसमा आयात र निर्यातको तथ्यांकहरूलाई तुलना गरेर हेरिन्छ ।
सामान्य विवाहजस्ता चाडपर्वमा मात्र किन्ने र त्यो पनि सकभर घरमा रहेको पुरानोलाई नै नयाँ बनाएर सुनको प्रयोग गर्ने संस्कारमा हुर्किएका हाम्रो लागि प्रतिमहिना आयात भएको सुनको परिमाणले के कहाली लाग्दैन ? अझ नेपालकै झापा-मोरङमा उत्पादन भएको सुपारी निकासी गर्न नपाएको गुनासो आइरहेका बेला के नेपालका गुट्खा उद्योगको आवश्यक कच्चा पदार्थ र हाम्रो खपतका लागी सुपारीको करौडौं टनको आयात परिमाण जायज हो त ?
देशबाट बाहिर पठाएको अर्थात निकासी वा निर्यात गरिएको मालवस्तु वा सेवाको मुल्यभन्दा बाहिर वा विदेशबाट देशभित्र मगाइएको वा आयात गरिएको मालवस्तु वा सेवाको मुल्यमा आएको फरक नै अर्थतन्त्रका हिसावले व्यापार घाटा/नाफा हो । यसरी देशबाहिर पठाएको वस्तु वा सेवाको मुल्य बाहिरबाट देशभित्र मगाइएको वस्तु वा सेवाको मूल्यभन्दा बढी भएमा नाफा हुन्छ, अन्यथा घाटा । वास्तवमा यही घाटा अर्थतन्त्रमा भनिने व्यापार घाटा हो । व्यापार घाटामा देशमा मगाउनु पर्ने मालवस्तु वा सेवाका लागि तिर्नुपर्ने विदेशी मुद्रा देशबाहिर पठाएको मालवस्तु वा सेवाबाट प्राप्त हुनेभन्दा कम भइ विदेशी मुद्राको नोक्सानी हुन्छ ।
व्यापार घाटाका प्रभावहरू
सामान्य त शब्दबाटै स्पष्ट हुन्छ व्यापार घाटा अर्थतन्त्रका लागी राम्रो संकेत होइन । तर, राज्यको अर्थतन्त्रलाई चलायमान बनाउन र दीर्घकालीनरूपमा आर्थिक विकासका लागि निश्चित समयको व्यापार घाटा अनिवार्य शर्त पनि हो । वर्तमानको व्यापार घाटाले भविष्यमा नाफा आर्जनको आधार खडा गर्ने हुँदा यस्तो व्यापार घाटालाई पनि सोहीरूपमा बुझ्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रिय अर्थतन्त्रको सन्दर्भमा यस्तो व्यापारघाटालाई त्यसको स्वरुप र प्रवृत्तिका आधारमा सकारात्मक र नकारात्मकरूपमा दुई फरक किसिमले चर्चा गर्नु उपयुक्त देखिन्छ ।
सकारात्मक व्यापार घाटा
दीर्घकालीन रूपमा समग्र देशको आर्थिक अवस्था सुदृढ बनाउने र तत्काल घाटा भए पनि भविष्यमा नाफा दिलाउने व्यापारघाटालाई राष्ट्रिय अर्थतन्त्रको विकास तथा निर्माणका लागि सकारात्मक तथा फाइदाजनक मानिन्छ । यसले आन्तरिक स्रोत-साधनको बढोत्तरी गरी समग्र देशको आर्थिकस्तर वा अवस्था बढाउँछ । बेरोजगारी समस्या समाधान गरी आन्तरिकरूपमा रोजगारी सृजना गर्दछ र समयक्रममा यस्तो व्यापार घाटाले निकासी बढाएर भविष्यमा नाफा हुने वाताबरण बनाउँछ ।
आफ्नो श्रम बेचेर पठाएको विदेशी मुद्रायस्ता अनावश्यक वस्तुमा खर्च गर्दा तत्काल देशको राजस्व बढे पनि यसले व्यापार विचलन बढाउने, छाया अर्थतन्त्र फष्टाउने र आर्थिक अपराध बढ्न गइ समग्र देशको आर्थिक अवस्था नै नकारात्मक बनाउँदै लैजाने देखिन्छ ।
देशको दीर्घकालीन उत्पादन र रोजगारी बढाउने, ठूला-ठूला उद्योगको यन्त्र उपकरणहरू, त्यसका कच्चा पदार्थहरू र नागरिकहरूको दक्षता अभिवृद्धी गर्ने तथा शिक्षा-स्वास्थमा सुधार गर्ने साधनहरूको आयात देशका लागि हितकर हुन्छ । यसबाट पनि घाटा बढने र तत्कालका लागी विदेशी मुद्राको व्यवस्थापन गर्न समस्या पर्ने नै हुन्छ । तर, नेपालजस्तो मुलुकका लागि दीर्घकालीन स्रोत–साधन जुटाउन र समग्र राष्ट्रको आर्थिक विकासका लागी यसलाई अनिवार्य आवश्यकता पनि मानिन्छ । त्यसैले यस्तो व्यापार घाटालाई सकारात्मक व्यपारघाटाको रुपमा व्याख्या गर्ने गरिन्छ ।
नकारात्मक व्यापार घाटा
यस्तो व्यापार घाटाले तत्कालीन मात्र नभइ दीर्घकालीन रुपमा समेत देशको आर्थिक अवस्थालाई झन् बिगार्ने र जर्जर बनाउने कार्य गर्दछ । यसबाट उत्पादन बढ्नुको साटो झन् झन् घटाउने काम हुन्छ । उपभोगमुखी संस्कार र प्रवृत्ति बढ्दै जान्छ । देशमा विदेशी मुद्राको अभाव तत्काल र दीर्घकालमा झन् बढी देखिन्छ, जसका कारण देशको सामान्य प्रशाानिक खर्च धान्नसमेत वैदेशिक ऋण लिनुपर्ने र देश परनिर्भर बन्दै जाने अवस्था बन्छ । देशका लागि आवश्यक र दीर्घकालमा सकारात्मक प्रभाव पार्ने मालवस्तुभन्दा तत्कालका आवश्यकता पूरा गर्ने र राजस्व बढी उठ्ने विलासी र अनुत्पादक क्षेत्रमा प्रयोग हुने अनावश्यक मालवस्तुको आयात बढदै जान्छ । यसबाट आन्तरिक उत्पादनभन्दा विलासी संस्कार बढ्दै जाने र अव्यवस्थित शहरीकरण तथा उपभोगमुखी संस्कार बढ्दै जाँदा आन्तरिक उत्पादनहरू झन्-झन् खुम्चिँदै जाने र देशमा परनिर्भरता बढ्दै जान्छ ।
नेपालको सन्दर्भमा व्यापार-घाटा
नेपाल अहिले पनि अल्पविकसित मुलुक हो । भलै, सन् २०२६ भित्र देशको आर्थिक अवस्थामा व्यापक सुधार गर्ने अपेक्षासहित संयुक्त राष्ट्रसंघले नेपाललाई भर्खरै विकासशील मुलुकमा स्त्तरोन्नती गरेको छ । नेपालको वर्तमान अवस्था नियाल्दा हाम्रो आयातहरूमा दीर्घकालीनरुपमा देशको आन्तरिक उत्पादन बढाउनेभन्दा अनावश्यकरुपमा तत्कालका लागी विलासी वस्तुहरूको उपभोग बढाउने र देशको राजस्व बढाउनमात्र ध्यान दिई अनावश्यक र विलासी वस्तुहरूको आयात बढाउन ध्यान दिएको देखिन्छ ।
दीर्घकालीनरुपमा आन्तरिक उत्पादन बढाउने उधोगधन्दाका यन्त्र उपकरण र विकास-निर्माण अगाडि बढाउने र दक्षता वृद्धि गर्ने क्षेत्रमा आवश्यक मालवस्तु र सेवा क्षेत्रमा आयात बढाउनु पर्दछ ।
अझ कतिपय वस्तुको आयात त हाम्रो आन्तरिक खपतका लागि नभइ भारतजस्ता छिमेकी मुलुकमा सोझै पैठारी गर्न नपाइने वा नेपालमा आयात भएर तस्करी गरी भारत पठाउँदा पनि भारतमा सोझै पैठारी गर्दाभन्दा लागत कम पर्ने भएकाले नेपालमा आयात भैरहेको देखिन्छ । हाम्रो नीतिगत संरचना पनि दीर्घकालीन देशको फाइदा भन्दा तत्काल राज्यलाई प्राप्त हुने राजस्वमा बढी ध्यान दिने खालको भएकोले जसरी पनि बढी राजस्व उठाउन मात्र ध्यान केन्द्रीत भएको जस्तो देखिन्छ । करोडौं मुल्य पर्ने महंगा र विलासी गाडीहरू अहिले हाम्रो आवश्यकता हो कि होइन ? नेपालको जनसंख्याभन्दा झण्डै दोब्बर परिमाणमा पैठारी हुने छातादेखि प्रतिव्यक्ति क्वीन्टलभन्दा बढी पर्ने गरी सुपारी र मटरको पैठारी हाम्रो आवश्यकता हो त ? अनि नेपालमा १० प्रतिशत पनि उपभोग नहुने, अस्वभाविक परिमाणमा हाम्रो विदेशी मुद्रा खर्च हुनेगरी पोस्तादानाको आयात गर्न कोटा किन दिनुपर्ने ?
सामान्य विवाहजस्ता चाडपर्वमा मात्र किन्ने र त्यो पनि सकभर घरमा रहेको पुरानोलाई नै नयाँ बनाएर सुनको प्रयोग गर्ने संस्कारमा हुर्किएका हाम्रो लागि प्रतिमहिना आयात भएको सुनको परिमाणले के कहाली लाग्दैन ? अझ नेपालकै झापा-मोरङमा उत्पादन भएको सुपारी निकासी गर्न नपाएको गुनासो आइरहेका बेला के नेपालका गुट्खा उद्योगको आवश्यक कच्चा पदार्थ र हाम्रो खपतका लागी सुपारीको करौडौं टनको आयात परिमाण जायज हो त ? यसतर्फ बेलैमा सम्वन्धित निकायको ध्यान जानु पर्ला । होइन भने हाम्रा नागरिकहरूले खाडी मुलुकको गर्मीमा आफ्नो श्रम बेचेर पठाएको विदेशी मुद्रायस्ता अनावश्यक वस्तुमा खर्च गर्दा तत्काल देशको राजस्व बढे पनि यसले व्यापार विचलन बढाउने, छाया अर्थतन्त्र फष्टाउने र आर्थिक अपराध बढ्न गइ समग्र देशको आर्थिक अवस्था नै नकारात्मक बनाउँदै लैजाने देखिन्छ ।
हामीले के गर्नुपर्ला ?
उल्लेखित तथ्य र आधार समेतबाट हामीले हाम्रो यथार्थ आवश्यकता पहिचान गर्नुपर्दछ । यसको साथै हाम्रो आन्तरिक उत्पादन बढाउने र स्वास्थ-शिक्षाजस्ता मानव आवश्यकता पुरा गर्ने आन्तरिक उत्पादन नहुने तथा दक्षता बढाउने वस्तुहरूको पहिचान पनि गर्नुपर्दछ । यसपछि अतिआवश्यक र यस्ता वस्तुहरूको प्राथमिकता निर्धारण गरी व्यापारघाटा भए पनि पैठारीमा प्राथमिकता दिनु पर्दछ । यसबाट दीर्घकालीनरुपमा आन्तरिक उत्पादन बढाउने उधोगधन्दाका यन्त्र उपकरण र विकास-निर्माण अगाडि बढाउने र दक्षता वृद्धि गर्ने क्षेत्रमा आवश्यक मालवस्तु र सेवा क्षेत्रमा आयात बढाउनु पर्दछ ।
अनावश्यक विलासी तथा व्यापार विचलन हुने तथा दीर्घकालीनरूपमा उपभोगमुखी संस्कार बढाउने खालका मालवस्तुहरूको पैठारी निरुत्साहित गरी आन्तरिक स्रोत र साधनको प्रयोग गरेर उत्पादन हुने निकासीमुलक उद्योगहरू पहिचान गरेर त्यसतर्फ लगानी बढाउने र तत्काल व्यापार घाटा भए पनि यस्ता मालवस्तुहरूको आयात बढाउने नीतिगत व्यवस्था गरी सोहीअनुसार अगाडि बढ्नु नै अहिलेको हाम्रो आवश्यकता हो ।