फेरि फुट्यो मसाल, सन्तबहादुर नेपालीको संयोजकत्वमा समन्वय समिति घोषणा – Nepal Press

फेरि फुट्यो मसाल, सन्तबहादुर नेपालीको संयोजकत्वमा समन्वय समिति घोषणा

गायक जीवन शर्मा पनि समन्वय समिति सदस्य

रुपन्देही । नेकपा मसाल फेरि फुटेको छ । नेकपा मसालले कारबाही गरी जिम्मेवारीबाट हटाएको समूहले अलग्गै समूह बनाएपछि मसाल राजनीतिकरुपमा फुटेको हो ।

पार्टीभित्र फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेको जनाएका छन् ।

३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पूर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् । अन्य नेताहरुको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।

समन्वय समितिका संयोजक नेपालीले नेकपा मसालको नेतृत्व दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बताए । समन्यव समितिमा पार्टी नेताहरु विमल शर्मा, गोविन्दसिंह थापा, सूर्या थापा, जीवन शर्मा, दीपक पौडेल, रामबहादुर बुढा, नारायण योगी, शशिधर भण्डारी, गंगाधर शर्मालगायतका नेताहरु छन् ।

संयोजक नेपालीले सातौं महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारबाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेकाले यस्तो अवस्था आएको बताए । ‘नेतृत्वले त्यो कुरा अस्वीकार गर्दै आएकाले यो अवस्था आएको हो, एक वर्षभित्र नयाँ कम्युनिष्ट पार्टी गठन गर्छौ, छरिएर रहेका कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरण आवश्यक छ, त्यही रणनीतिअनुसार अगाडि बढ्छौं’, नोपलीले भने ।

समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग गरेको छ । यो समूहले साबिकको मसालमा रहेको २९ जना केन्द्रीय सदस्यमध्ये १४ जना बाहिरिएको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर